सरोजराज पन्त
जीवनभर पानी पिउन पनि नदिने छोराले
खिरको पिण्ड दिन्छ किन खै त्यही मान्छेले
जीवनभर एउटा वस्त्र दिदैन बृद्धलाई जसले
मृत्युपछि लाखौँ पैसा खर्च गर्दछ त्यसले ।
बाबा, आमा बाँचुन्जेल, बोल्दैन कहिल्यै पनि
मृत्युपछि पुराण सुनाउँछ पुण्य हुन्छ भनी
जीवनभर बोलाउँदा,टाढा टाढा त्यै जाने
मृत्युपछि देखाउन, सब कर्ममा त्यै लाग्ने ।
जीवनभर बेवास्ता गर्छ जो पछि गर्छ वखान
सृष्टिदाता घरमै नपरौँ कोही पनि अन्जान
घरमै सच्चा ईश्वर, किन जानु र तीर्थमा ?
जीवनभर स्याहार गरौँ, नपरी कुनै स्वार्थमा ।
बाबा आमा देवता, नजाऊ छाडेर व्यर्थमा
मूर्ति पुजेर के पाउँछौँ र हामीले अन्त्यमा ?
प्राणदाताको सेवा गरौ, नठानी कुनै सन्देह
बसालौँ संस्कार आफै, छोराले त्यही सिक्दछ ।
जीवनभरमै गरौँ सब, मृत्युपछि होइन
लोक परलोक भन्ने, संसारमा केही छैन
पुजौँ बृद्धलाई ज्यान दिई, धर्म अरु के छ र ?
मृत्युपछि गर्ने कर्म , साँच्ची रहेछ बेकार ?
मृत्युपछि ज्या भन्नु रहेछ लज्जा वैराग्य
साथ दिऊँ आजैबाट, नराखी कुनै कटाक्ष
रीति यो सृष्टिको भोग्नै पर्दछ सब जनले
पूजौँ बृद्धलाई सधै, स्वच्छ दिल ज्यानले । २