गलकोटमा व्यावसायिक टर्की पालन शुरु

आदर्श अनलाइन, बागलुङ

जिल्लाको गलकोट नगरपालिका–२ नरेठाटी स्थित मौरियामा व्यावसायिक टर्की पालन शुरु गरिएको छ ।

बागलुङमै व्यावसायिक रुपमा टर्कीका चल्ला उत्पादन गर्ने लक्ष्य सहित मौरियाका ३५ वर्षीय भद्र कार्कीले शिक्षण पेशा सँगै बाँझो जग्गामा व्यावसायिक रुपमा टर्की पालन व्यवसाय थाल्नुभएको हो ।
पछिल्लो समय मासुका लागि सर्वाधिक रुचाइएको टर्की पालन व्यवसायलाई बागलुङमा व्यवस्थित रुपमा अघि बढाउने सोच र योजना काम थालेको कार्की बताउँनुहुन्छ ।

गाउँका युवाहरु आयआर्जनका लागि बिदेश पलायन भएको अवस्थामा शिक्षण पेशाबाट बचत भएको समयलाई टर्की पालन व्यवसायमा खर्चदै आउनुभएका कार्कीले जिल्लामै पहिलो पटक टर्कीको चल्ला उत्पादन गर्ने लक्ष्य समेत राख्नु भएको छ । “खेतिपाती गर्न छोडे पछि जग्गा बाँझो हुन थाल्यो, काठमाण्डौंमा अध्ययन गर्ने क्रममा टर्कीका विषयमा बुझेको थिए” कार्कीले भन्नुभयो “बाँझो जग्गाको सदुपयोग पनि हुने टर्कीलाई चरन क्षेत्र पुग्ने भए पछि एक वर्ष अघि देखि टर्की पालन व्यवसाय शुरु गरेको हुँ ।”

कार्कीले स्थानीय महेन्द्र माध्यामिक विद्यालयको कक्षा ११ र १२ मा अध्यापन गराउदै आउनुभएको छ । एक वर्ष अगाडि २० वटा टर्की राखेर परीक्षण स्वरुप पाल्नुभएका कार्कीले सफल परीक्षण पछि हाल ५० वटा टर्की पालेको बताउनुहुन्छ । फर्म दर्तानै गरेर अगाडी बढ्ने सोचका साथ बोयर जातका बाख्रा समेत उहाँले पाल्नु भएको छ । “परीक्षणका रुपमा पालेको २० वटा टर्कीको राम्रो उत्पादन भयो, हावापानी मिल्दो भए पछि आफ्नै ७ रोपनी जग्गामा अहिले ५० टर्की र १० बोयर बाख्रा पाल्दै आएको छु” उहाँले भन्नुभयो “विहान बेलुकाको खाली समयमा मात्रै हेरचाह गर्दा समेत राम्रो आम्दानी गर्न सक्ने देखेको छु, त्यसैले २ सय टर्की पु¥याउने र चल्ला समेत उत्पादन गर्ने सोच छ ।”

टर्कीको चल्ला समेत उत्पादन गर्ने सोच र योजना बागलुङ जिल्लामै पहिलो भएको उहाँको दावी छ । टर्कीको चल्ला उत्पादन गर्ने लक्ष्यका साथ अण्डा कोरल्ने इङ्कुभेटर मेसिन समेत खरिद गरिसक्नुभएको छ । कोरोना भाइरसको तिव्र जोखिम र संकटका कारण चल्ला थप्न समस्या भएको कार्कीको भनाई छ । उहाँले अण्डा कोरल्ने औजार मलेशियामै खरिद गरे पनि कोरोना र बन्दाबन्दीका कारण ल्याउन ढिलाई भएको बताउनुहुन्छ । उक्त मेसिनको सहायतामा एकै पटकमा २६० चल्ला निस्कन सक्नेछ ।

एक वर्ष अघि मात्रै चितवनबाट रु.६ सय प्रति गोटा टर्कीका चल्ला खरिद गरेर टर्की पालन थालिएको थियो । टर्की र बाख्राको व्यवसायीक पालनका लागि आवश्यक खोर तथा चरन क्षेत्रमा तारबार समेत व्यवस्थापन गरिएको छ । कुखुराको फरक जात र मासुको फरक स्वादका रुपमा पाइने कडकनाथ र लौकाट जातका कुखुरा पाल्ने योजनामा समेत रहेको कार्कीले बताउनुभयो ।
आगामी पाँच महिना भित्रै बागलुङ जिल्लामा टर्कीका चल्ला निर्यात गर्ने कार्कीको अठोट छ । सात वर्ष देखि शिक्षण पेशामा आबद्ध उहाँले बहुआयामीक पेशा गर्न सकेमा मात्र आर्थिक रुपमा सवल बन्न सकिने सोचका साथ फरक खालको व्यवसाय आत्मसाथ गरेको बताउनुहुन्छ ।

भाले टर्कीको मासु बिक्री गर्ने र पोथी टर्कीबाट चल्ला उत्पादन गर्ने कार्कीको योजना छ । बोसोको मात्र अध्याधिक कम हुने टर्कीको मासु सुगर, प्रेसर लगायतका विरामीले समेत खान सकिने भन्दै विशेषगरी स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि समेत टर्कीको मासु लाभप्रद मानिन्छ । टर्कीको मासु प्रति किलो एक हजार रुपैयाँमा बिक्री हुँदै आएको छ भने एउटा टर्कीको औसत मासुको उत्पादन १० किलो हुने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *