युवायुवतीको रोजाईमा उडाइनो झरना

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–२ स्थित बगरफाँटमा रहेको आकर्षक उडाइनो झरना यतिखेर सर्वसाधारणका लागि मन बहलाउने र रमाइलो गर्ने गतिलो स्थानका रुपमा विकास हुँदै गएको छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको यो झरना करिब २५० मिटर अग्लो छ । सदरमुकाम बेनीबजारदेखि करिब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–बरङ्जा सडकअन्तर्गत बगरफाँट गाउँबाट डेढ किलोमिटर दक्षिणमा पर्ने यो झरनामा हिजोआज युवकयुवतीको भीड लाग्ने गर्दछ । यसले कोरोना सङ्क्रमणको जोखिमलाई समेत बढाएको छ ।

बेनपा–३ भकिम्लीको तोराखेतबाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछ । पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गद्वारी आश्रमजस्तै यो झरना अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयवासीको भनाइ छ ।

म्याग्दीका बुद्धिजीवी एवम इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँले म्याग्दी नदीको पानी लिफ्ट गरेर भए पनि झरनालाई निरन्तरता दिनुपर्ने बताए । सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उनको भनाइ छ ।

म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र विभिन्न झरना हेर्दै करिब २ किलोमिटरको यात्रापछि पुगिन्छ कोप्रे र उडाइनो झरनामा । यहाँ दैनिक ५० देखि दुई सय युवा रमाउन आउने गर्दछन् । यहाँ दुई झरना छन्ः एउटा कोप्रे र अर्को उडाइनो झरना । यी दुवै भरना युवक युवतीका लागि खुसीका अनमोल खजाना बनेका छन् । कोरोनाको त्रासबाट आजित युवकयुवती यहाँ आएर रमाइलो गर्दै दिन बिताउने गरेको बेनी नगरपालिका— ३ का वडा सदस्य गेमबहादुर घर्ती मगरले बताए ।

बेनी —२ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी —३ भकिम्लीको दुधेखोलामा पर्ने कोप्रो झरना दुवै वडाका आकर्षक झरना हुन् । अन्य दिनभन्दा बिदाका दिनमा यहाँ घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको पाइएको छ भने किशोरकिशोरी र युवा समूहले बढी अवलोकन गर्ने गरेको स्थानीयवासीको भनाइ छ ।

यी दुई झरना पर्यटकीयस्थल लव्ली हिलपछिको दोस्रो बढी तस्वीर खिँचिने स्थान भएको बेनीबाट झरनामा घुम्न आएका छवि आचार्यले बताए । रमणीय जङ्गलका बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पशुपक्षीको वासस्थानसमेत छ । प्राकृतिक स्वरूप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाइने बेनपा–२ का वडा सदस्य चन्द्रबहादुर कुँवरले बताए ।

पैदल वा सवारी दुवैको प्रयोग गरी पुग्न सकिने यस झरनालाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सकिएमा म्याग्दीको पर्यटनमा थप इँटा थपिने उनको भनाइ छ । यहाँ पर्यटकीय पूर्वाधारको विकास गर्ने हो भने भकिम्ली बेलढुङ्गा तथा मङ्गला गाउँपालिकाको झाँक्रीपानीसम्म पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने स्थानीयवासीको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *