‘बुद्ध हिल’ले बोकेको सम्भावना

सुमन जिसी
बुद्ध हिलको बारेमा घुमन्ते खिमवहादुर क्षेत्री लगायतका साथीहरुको सामाजिक सञ्जालको वालमा केही समय अगाडिबाट मैले देखिरहेको थिए । यद्यपी, त्यति चासो भने दिइरहेको थिएन । मेरो साथी अशोक गौतमको घर पनि त्यही पहाडको ठिक तल पर्ने भएकाले हामीहरु प्रायः शनिवार त्यतै भौतारी रहन्थ्यौं । सधैं गइराख्ने र देखिराख्ने ठाउँ भएकाले पनि त्यति महत्व दिन नखोजिएको हुन सक्छ । सामाजिक सञ्जालमा यो ढुंगाको पहाडमा बुद्धको आकृति देखिन्छ भनेर प्रचार प्रसार हुन थाले पछि भने मैले अशोकलाई सोधेको थिए यो ठाउँबाट बुद्धको आकृति देखिन्छ र भनेर ? अशोकले हाँसो ठट्टाकै शैलीमा जवाफ दिएको थियो–‘थैट ! हामीले घाँस काट्ने ठाउँ हो, बेकारमा बुद्धको आकृति देखिन्छ भनेर घाँस मार्ने काम मात्र होला जस्तो छ ।’ अशोकले यति भनेपछि मलाई पनि यो ठाउँको बारेमा खासै रुची जागेन अर्थात् त्यहाँ पुग्नलाई मनमा हुटहुटी पैदा भएन ।

बागलुङ बजार माथि रहेको बुद्धहिल ।

नत्र घुम्नका लागि हाम्रै वरिपरि नयाँ ठाउँ छ भने पछि मलाई कति बेला त्यहाँ पुगि हालौं जस्तो हुन्छ ।
त्यसको केही दिन पश्चात गत साउन २४ गते फेरी खिमवहादुर क्षेत्रीकै नेतृत्वमा बागलुङका घुमन्ते युवा साथीहरु र स्थानीयले उक्त पहाडलाई ‘बुद्ध हिल’को नामाकरण गरी त्यो ठाउँलाई चिनाउनका लागि साँकेतिक वोर्ड समेत राखेर संस्थागत रुपमै प्रचार प्रसार थालेको तस्विर र समाचार सार्वजनिक भए पश्चात भने म लगायत धैरैको ध्यान यसतर्फ आकर्षित भएको थियो । सामाजिक सञ्जालमा र मिडियामा आएका तस्विर र समाचारमा धैरैको चासो देखियो । मलाई पनि धैरै जनाले यो विषयमा सोधे पछि एक पटक आफै पुगेर हेर्ने विचार गरेर गत शनिवार म र मेरो साथीहरु अशोक र रुपेश त्यो ठाउँमा पुग्यौ । भर्खर मात्र पहिचान भएको गन्तव्य भएको र बुद्धको आकृति देखिन्छ भने पछि धार्मिक तवरले पनि महत्वपूर्ण भएकाले शनिवारको दिन त्यहाँ आउने जाने मानिसहरुको संख्या बाक्लै थियो । समुन्द्री सतहदेखि करिब १ हजार ७ सय ७५ मिटरको उचाईमा रहेको यस ठाउँमा हामी पुग्दा सुर्यलाई पुरै बादलले ढाकेको थियो । प्रकृतिले दिएको अनुपम उपहार भएर होला, त्यहाँ पुग्दा मनमा छुट्टै खालको स्फुर्ति आइदिन्छ । अन्य ठाउँबाट भन्दा यहाँबाट बागलुङ बजार, कालिगण्डकी नदी र कुश्मा बजारलाई एकसाथ फरक प्ररिप्रेक्ष्यमा देख्न सकिने रहेछ । बादलले ढाकेको भएर हामीले यस दिन यहाँबाट कुनै पनि हिमश्रृंखलाहरु भने देख्न सकिएन । मौसम सफा हुँदा यहाँबाट अन्नपूर्ण, धौलागिरी, माछापुच्छ«े, मानापाथी लगायतका दर्जनौ हिमश्रृङखलाका दृश्य पनि देख्न सकिने रहेछ ।

बागलुङ बजार माथि रहेको बुद्ध हिल आसपासको क्षेत्र ।

‘बुद्ध हिल’ जिल्लाको पर्यटनको क्षेत्रमा एउटा नयाँ इट्टाको रुपमा थप भएको विषयले बागलुङमा राम्रै चर्चा बटुल्यो र बटुलिरहेको छ । बागलुङ नगरपालिका वडा नं. ६ र ७ को सिमानामा रहेको बैजनीको पाखोमा भगवान गौतम बुद्धको आकृति पहिचान भएपछि यसलाई जिल्लाको नयाँ पर्यटकीय गन्तव्यको रुपमा लिन थालिएको हो । यो बागलुङबासीका लागि सुखद् क्षण पनि हो । बागलुङमा घुम्नका लागि धैरै स्थल भएता पनि आन्तरिक पर्यटकका लागि धार्मिक गन्तव्य नै पहिलो रोजाईमा पर्ने गरेका छन् । जिल्लाको धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका देखि करिब १ घण्टाको दुरी र सर्वसिद्धिधाम पञ्चकोट देखि १० मिनेटको दुरीमा रहेको बुद्धको आकृति देख्न सकिने ढुङ्गाको पहाड पनि धार्मिक र पर्यटकीय दुवै हिसावले प्रचुर सम्भावना बोकेको थलोको रुपमा लिन सकिन्छ । बागलुङ बजारबाट नजिकैको दुरीमा रहेकाले सवारी साधन वा हिँडेरै पनि सजिलै पुग्न सकिने भएकाले यो ठाउँले पर्यटकलाई लोभ्याउने या आकर्षण गर्ने प्रचुर सम्भावना देखिन्छ । ‘बुद्ध हिल’को प्रवद्र्धन र विकासमा स्थानीय र राज्यका तहहरुले चासो दिएमा जिल्लाको समृद्धिमा एउटा इट्टा थपिने कुरालाई नकार्न सकिन्न । यति हुँदा–हुँदै पनि हामीहरु नयाँ कुरा पाउँदा साथ छिटो हौसिने र आफुमा त्यसको औचित्य पुरा हुँदा साथ त्यसलाई वास्ता समेत नगर्ने प्रवृत्ति विकास भइरहेको छ । पर्यटन प्रर्वद्धनको सन्दर्भमा पनि बागलुङमा यस्ता धैरै ठाउँहरु छन्, जुन केही समयका लागि व्यापक प्रचार प्रसार भए र पछि ति ठाउँहरुको प्रवद्र्धनमा कसैले वास्ता समेत नगर्दा गुमनाम भए । आशा गरौं, ‘बुद्ध हिल’ले उल्लेखित विषयलाई बिर्साएर बागलुङको पर्यटकीय स्थलको रुपमा आफुलाई स्थापित गर्न सफल हुनेछ ।

बागलुङ बजार माथि रहेको बुद्ध हिलबाट देखिएको गाउँ ।

‘बुद्ध हिल’ को प्रचार प्रसार, प्रवद्र्धन र संरक्षणका लागि मंगलबार मित्र प्रदिप गौतमको अध्यक्षतामा बुद्ध हिल पर्यटकिय क्षेत्र प्रवद्र्धन समिति पनि गठन भइसकेको छ । मङ्गलबार मात्र मैलै प्रदीप जि लाई बधाई दिदै ‘बुद्ध हिल’को संरक्षण र प्रवद्र्धनको योजनाको बारेमा पनि बुझेको थिए । उहाँले हामीहरु सुरुवाती क्रममा रहेकाले पहिलो प्राथामिकता यहाँको भौतिक संरचना निर्माण गर्ने कुरामा जोड दिने बताउनुभयो । पर्यटकहरु ‘बुद्ध हिल’ हेर्ने र तस्बिर लिने निहुँमा ढुंगा माथी चढ्ने गर्दा दुर्घटना निम्तिन सक्ने सम्भावना बढी भएकाले भौतिक संरचना निर्माण पहिलो प्राथमिकता रहेको उहाँले म सँगको कुराकानीमा राख्नुभयो । उक्त पहाडलाई अहिले आएर ‘बुद्ध हिल’को नाम दिएता पनि यो हजारौं वर्ष पुरानो पहाड भएकाले यसलाई धर्मको नाममा भन्दा पनि विशुद्ध पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना रहेकाले सबैको साथ र सहयोगको अपेक्षा रहेको समेत कुराकानीका क्रममा उहाँले बताउनुभयो ।

‘बुद्ध हिल’ त एउटा उदाहरण मात्र हो । बागलुङ जिल्लामा यस्ता पर्यटकीय स्थलहरु असख्य रुपमा छन् । जिल्लाका खोला नाला र पहाडा पाखा पखेरा मात्रैको उचित सदुपयोग गर्ने हो भने पर्यटनका हिसाबले बागलुङ निकै महत्वपूर्ण र आकर्षक गन्तव्य बन्न सक्छ । जिल्लाका १० वटै पालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि अग्रसरता देखाउनु पर्ने समय आएको छ । हरेक पालिकाको नीति तथा कार्यक्रम र बजेटमा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि बजेट छुट्टयाई सम्भावित क्षेत्रको प्रवद्र्धन र प्रचार प्रसार गर्ने हो भने जिल्लालाई धार्मिक तथा प्राकृतिक सौन्दर्ययुक्त गन्तव्यका रुपमा विकास गरी पर्यटक भित्राउन सकिन्छ ।

जिल्लाका कतिपय पर्यटकीय स्थल पहिचानकै क्रममा छन् भने केही स्थानहरु पहिचान भएता पनि स्थानीयको तदारुकता, प्रचार प्रसार र आवश्यक भौतिक पूर्वाधार निर्माण हुन नसक्दा ओझेलमा परिरहेका छन् । बागलुङ जिल्लालाई ‘मिनी नेपाल’को स्वरुप भनिन्छ । हावापानी, भौगोलिक बनोट, बसोबास जस्ता कुराले बागलुङ जिल्ला सम्पूर्ण नेपालको एउटा प्रतिनिधिमूलक अंश जस्तो छ । यहाँ चर्को गर्मी हुने तराईदेखि चिसो हिमाल सम्मको भू–भाग छ । पर्यटकीय हिसावले महत्वपूर्ण सम्भावना बोकेको जिल्ला भए पनि सधैंभर बागलुङ ओझेलमा परिरहेको छ । पर्यटकलाई यहाँ अड्याउने खालका स्थलहरु नभएको गुनासो धैरैले गर्ने गरेका छन् । वार्षिक हजारौं बाह्य पर्यटकहरु जिल्लामा विभिन्न गतिविधिका लागि भित्रिने भए पनि त्यसबाट बागलुङबासीले खासै फाइदा लिन नसकेको विषय हामी माझ विदितै छ । बागलुङ जिल्लामा वार्षिक कति पर्यटक आउँछन् भन्ने एकिन तथ्याङ्क पनि सरोकारवाला निकाय सँग भएको पाइदैन । जिल्लामा रहेका हरेक पर्यटकीय स्थलको संरचना सुधार गरी बाह्य पर्यटकमैत्री वातावरण बनाउन सकेमा पर्यटन व्यावसाय फस्टाउने र बागलुङबासी प्रत्यक्ष रूपमा लाभान्वित हुने थिए । अब बागलुङको दीगो पर्यटन कहिले सम्म भन्ने बारेमा यथेष्ट बहस र चिन्तन हुन जरुरी देखिन्छ ।




यो पनि पढ्नुहोस्

2 thoughts on “‘बुद्ध हिल’ले बोकेको सम्भावना

  1. thank you for your writing such a long piece about Buddha hill. but the writer miss the persons who first seen this hill. i don’t know about the writer but just request him to write the facts
    thanks a lot
    Deepak Sharma
    Advocate/writer

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *