कोरोनाले प्रभावित बनेको तीजमा सुनसान बन्यो ऐतिहाँसिक नाच्ने डाँडा

थम्मन थापा, गलकोट
आज हरितालिका तीज महिला दिदीबहिनीले विगतका वर्षमा यो पर्वलाई धुमधाम सँग व्रत बसेर महादेवको पूजा गर्थे । अनि आजको दिनमा एक ठाउँमा भेला भएर सामूहिक नाचगान गरेर तीजलाई हर्ष उल्लासमय वातावरणमा मनाउने गर्दथे तर यसपालि न त शिव मन्दिरमा व्रत बस्ने दिदीबहिनीको भीडभाड नै छ न त कुनै मेला महोत्सव र उत्सव नै भए ।

विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले अहिले भीडभाड गर्न निषेध गरेपछि देशभर यसपटकको तीज सुनसान बन्यो । धुमधामका साथ मनाईने यो पर्वलाई यसपटक कोरोना भाइरसले प्रभावित बनायो । सदियौं देखि जिल्लाको गलकोट नगरपालिका वडा नं ७ मल्म नाच्ने डाँडामा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा भक्तजनको भीड अनि तीज उत्सव समेत लाग्ने गर्दथ्यो ।

तर यसपटक भने कोरोना भाइरसको महामारीका कारण नाँच्ने डाँडा सुनसान बन्यो मन्दिरमा पनि चहलपहल देखिएन । जिल्लाका अधिकांश शिव मन्दिर, तीजमा मेला हुने ठाउँहरू, डाँडाहरुमा सुनसान जस्तै भए । तीजको दिन गलकोटको परम्परागत अनि ऐतिहासिक स्थल नाच्ने डाँडामा तीज मेला नहुँदा यो पटक दिदीबहिनी दाजुभाइलाई दिन काट्नै गाह्रो भयो ।

पहिले पहिले बुढी आमा देखि दिदीबहिनी सामूहिक जम्मा भएर वर्ष भरिका आफ्ना पिर मर्का र पीडाहरू तीजका गीत मार्फत वेदना पोखेर रमाइलो गर्ने प्रचलन थियो । पछि नाच्ने डाडाँ संरक्षण समाजले प्रत्येक वर्ष तीज मेला सँगै तीज गीत प्रतियोगिता आयोजना गर्दै आइरहेको थियो । उक्त स्थानमा गलकोट भरका दर्शकहरुको निकै भीड लाग्ने गर्दथ्यो ।

यो पटक कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तीजमा मेला, महोत्सव, उत्सव र सामूहिक भिडभाड गर्न नेपाल सरकारले रोक लगाए सँगै परम्परागत नाच्ने डाँडा सुनसान बनेको हो । कोरोना बाट बाँचे यसको प्रभाव न्युन भएमा आउँदा वर्षहरूमा फेरि सँगै रमाइलो गरौँला भन्दै यो वर्ष दिदीबहिनीले घर घरमै बसेर तीज मनाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *