पसले दम्पतीबाट सर्‍याे ६ वर्षे छोरा र ६१ वर्षे आमालाई कोरोना

आदर्श अनलाइन, पोखारा

पोखरामा शनिबार संक्रमित ६ वर्षे बालकलाई उनकै बाबुआमाबाट कोरोना भाइरस सरेको पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा बालिका उल्लेख भए पनि उनी बालक हुन् ।

निर्देशनालयले विहान जारी गरेको विज्ञप्तिमा पोखरा महानगरपालिका वडा नम्बर ९ मा ६ बर्षे बालक र ६१ बर्षे महिला संक्रमित भएको जानकारी दिएको थियो । यी दुई जना एकै परिवारका हजुर आमा र नाति हुन् ।

उनीहरु दुवै जना कन्ट्याक ट्रेसिङमा परेका हुन् । गत भदौ १ मा पोखरा महेन्द्रपुल स्थित एक मोवाइल पसलका सञ्चालक दम्पतीमा कोरोना भाइरस पुष्टी भएको थियो । ३५ बर्षीय पुरुष र उनकी श्रीमतीमा कोरोना भाइरस पाइएपछि उनीहरुको ६ बर्षे छोरा र ६१ बर्षे आमाको पनि स्वाब संकलन गरिएको थियो ।

‘विशाल बजारमा पसल भए पनि उहाँहरु न्यूरोड सामसुङ गल्लीमा बस्नुहुन्छ । कन्ट्याक ट्रेसिङमा परेपछि हजुरआमा र नातिको स्वाब परीक्षण गर्दा पोजेटिभ आयो,’ पोखरा महानगर ९ का वडाध्यक्ष रामराज लामिछानेले भने, ‘संक्रमित चारै जना होम आइसोलेसनमा बस्नुभएको छ ।’

सबैको स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्ष लामिछानेले जानकारी दिए । संक्रमित बालक र उनकी हजुरआमासहित पोखरामा शनिबार १६ जनामा कोरोना पुष्टि भएको थियो ।

पछिल्लो २ दिनयता संकलित स्वाब प्रदेश क्षयरोग उपचार केन्द्रस्थित ल्याबमा परीक्षण गर्दा १० पुरुष र ६ महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार १६ जना संक्रमितमध्ये ३ जना प्रहरी, १ जना बैंकका र १ जना मालपोतका कर्मचारी हुन् ।

बाँकी १० जना पनि संक्रमितको सम्पर्कका व्यक्ति हुन् । संक्रमित ३ प्रहरी गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा कार्यरत छन् ।

गत बिहीबार पनि उक्त गणका १६ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित २७ वर्षीया युवती बैंक अफ काठमाडौं खैरेनीटार शाखाकी कर्मचारी हुन् । उनको घर पोखरा ३० हो ।

‘एक जनाचाहिँ गरिमा विकास बैंकको कर्मचारी भनेर स्वाब दिनुभएको रहेछ । तर अहिले सोध्दा त्यहाँको नभएको पाइयो,’ महानगर स्रोतले भन्यो। ती ३५ वर्षे पुरुष वडा नम्बर ६ का हुन् ।

कुन वडामा कति संक्रमित थपिए ?

पोखरा ४ – ३ जना
पोखरा ५ – १ जना
पोखरा ६ – २ जना
पोखरा ८ – ४ जना
पोखरा ९ – ३ जना
पोखरा १६ – १ जना
पोखरा २७ – १ जना
पोखरा ३० – १ जना

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *