पाेखरामा अझै ५ दिन निषेधाज्ञा थप्न सिफारिस

आदर्श अनलाइन, पोखरा
पोखरा महानगरपालिका ३ भदौदेखि जारी निषेधाज्ञा अझै थप्नुपर्ने निष्कर्षमा पुगेको छ । महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको आइतबार बिहान बसेको बैठकले संक्रमित बढिरहेकाले १२ भदौसम्म बन्दाबन्दीलाई निरन्तरता दिनु उचित हुने निष्कर्ष निकालेको हो ।

बैठकले गरेको निर्णय आजै जिल्ला संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरिने समितिका एक सदस्यले जानकारी दिए । ‘संक्रमित बढिरहेका छन् । आजको बैठकले १२ भदौसम्म निषेधाज्ञा थप्नु उचित हुने निर्णय गरेको छ । त्यसलाई जिल्ला सिसिएमसीमा पठाउँछौं । अब त्यताबाट के निर्णय हुन्छ,’ ती सदस्यले भने ।

निषेधाज्ञा जारी भएपछि जिल्लाभर हिँड्डुलमा कडाइ गरिएको छ । खाद्यान्न, तरकारी, फलफूल र औषधि पसलबाहेक अरु सबै पसल बन्द छन् । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी भने गुडिरहेका छन् ।

प्रशासन पनि पालिका र विज्ञको सुझावअनुसार निषेधाज्ञाबारे निर्णय गर्ने मनस्थितिमा छ । आज बस्ने जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न ३ विकल्पमा केन्द्रित रहेछ छलफल गर्नेछ । हालको बन्दाबन्दीलाई कायम राख्ने, केही परिवर्तन गरेर जाने वा तत्काललाई हटाउने भन्ने ३ विकल्पमा केन्द्रित रहेर छलफल हुने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

समुदायमा कोरोना संक्रमित भेटिन थालेको र चाडपर्वमा हुने भीडभाडले जोखिम बढ्ने निष्कर्षसहित महानगरको मूल समितिको १ भदौमा बसेको बैठकले सोही दिन मध्यरातबाटै निषेधाज्ञा लगाउने जनाएको थियो ।

त्यसबेला महानगरलाई राजनीतिक दलका प्रतिनिधिले कडा निषेधाज्ञा गर्न सुझाएका थिए । तर जिल्ला सिसिएमसीको बैठकबाट निर्णय नहुँदा १ भदौबाट बन्दाबन्दी सुरु भएन । २ भदौमा बसेको जिल्ला सिसिएमसीको बैठकले ७ भदौको मध्यरातसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

पछिल्लो समय कास्कीका गाउँपालिकामा संक्रमित नभेटिए पनि पोखरामा भने संक्रमित बढिरहेका छन् । पोखरामा शनिबारमात्रै १६ जनामा कोरोना पुष्टि भएको छ ।

आइतबार बिहान पनि २ जनामा पोजेटिभ देखिएको छ । पोखरामा कोरोना संक्रमितको संख्या २ सय ६१ पुगेको छ । संक्रमितमध्ये १ सय ५१ जना निको भएका छन् भने २ को मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *