देश बदल्न युद्धमा होमिएका महिला, जो बाटो बदलेर बाँच्दैछन्

जनमुक्ति सेना बनेर रुकुमको खारा युद्ध, भालुवाङ लगायतका २४ स्थानमा युद्ध लडेकी समिक्षाले जनयुद्धमा आफ्ना दाजु झलकमान, भाउजु र भतिजी गुमाउनुभयो । पातलो र मोटो मसाल भन्दै दाजुले गरेको राजनीति देखेर कम्युनिष्ट बनेकी समिक्षालाई माओवादीको उपचार गर्नका लागि दाङको राप्ती हेल्थ इन्स्टिच्युटबाट अनमी पढाउनुभएको थियो ।

बागलुङ

१९ वर्षकी युवती । उमेरका हिसावले पढ्ने, रंग रमाइलो गर्ने उमेर । सायदै कल्पना गरिन्छ र सम्भव हुन्छ होला की यो उमेरमै योद्धा बन्न ? अर्थात युद्धमा होमिन तयार । झट्ट सुन्दा फिल्मी जस्तो लाग्ने यो बिषय सल्यानको बागचौर नगरपालिका–४ की तिलाकुमारी थापाको जीवनमा यथार्थ भएर आयो ।

विक्रम सम्वत २०५२ साल फागनु १ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सशस्त्र द्वन्द्व थाल्दा तिलाकुमारी १२ वर्षकी हुनुहुन्थ्यो । जनयुद्धमा होमिए पछि तिलाकुमारीको दैनिकी र बाटो मात्र फेरिएन, उनको नाम सँगै गन्तव्य र लक्ष्य पनि फेरियो । तिलाकुमारीबाट उनी ‘समिक्षा’ बनिन् । अहिले पनि उहाँलाई तिला भन्दा समिक्षा भनेर धेरैले चिन्छन् । तत्कालिन समयमा ‘समिक्षा’ माओवादीकी निडर, आत्मविश्वासी, भरोसायोग्य स्वास्थ्यकर्मीको भुमिकामा हुनुहुन्थ्यो । जसले युद्धमा घाइतेको उपचार मात्र होइन, आवश्यकता पर्दा हतियार उठाएर युद्धको अग्रभागमै रहेर लड्न पनि पछि नपरेको उहाँ बताउनुहुन्छ ।

समाज र देश बदल्नका लागि गरेको युद्ध र संघर्षबाट देशमा केही अभूत पूर्व परिवर्तन त भयो । तर, अपेक्षित उपलब्धि भने भएन । क्रमशः एक पछि अर्को निराशाका बादल मडारिदै आयो । र त आजभोली फेरी समिक्षाको दैनिकी कुखुरा, चल्ला, घर व्यवहार र चुला चौकोमै सिमित भइरहेको छ । महिलाले दासताबाट मुक्ति पाउँछन्, असमानताका सबै जञ्जिर तोडिन्छन्, महिला र पुरुषको मात्र होइन, समाजमा हुने सबै खालका भेदभावको अन्त्य हुन्छ भनेर हत्केलामा प्राण लिएर १९ वर्षको उमेरमा २०५९ साल चैत २७ गते माओवादीको जनमुक्ति सेनामा प्रवेश गरेकी समिक्षाले तीनै मिठा सपना देखाएका नेताबाट विभेद भएको अनुभुति गर्नुभएको छ ।

जनमुक्ति सेना बनेर रुकुमको खारा युद्ध, भालुवाङ लगायतका २४ स्थानमा युद्ध लडेकी समिक्षाले जनयुद्धमा आफ्ना दाजु झलकमान, भाउजु र भतिजी गुमाउनुभयो । पातलो र मोटो मसाल भन्दै दाजुले गरेको राजनीति देखेर कम्युनिष्ट बनेकी समिक्षालाई उहाँका दाजुले तत्कालिन समयमा माओवादीको उपचार गर्नका लागि दाङको राप्ती हेल्थ इन्स्टिच्युटबाट अनमी पढाउनुभएको थियो । अनमी सकिदा साथ सर्टिफिकेट झोलामा राखेर युद्धभुमिमा होमिएकी समिक्षाको भालुवाङ लडाईमा सर्टिफिकेट हराए पनि ज्ञान, सिप र क्षमताले धेरै घाइतेले नयाँ जीवन पाएको सम्झना दिमागमा ताजै रहेको समिक्षाको भनाई छ ।

नेत्रबिक्रम चन्द ‘विप्लब’ र नन्दकिशोर पुन ‘पासाङ’को युद्ध तयारी र प्रशिक्षणले उम्लिएको रगत लिएर युद्धभुमिमा जानु भन्दा अघिल्लो दिन आफ्नै हातले आफु र आफ्ना साथीका लागि डोका, काप्रा र बाँसका स्टेचर तयार पारेका हातहरु यतिबेला युद्धको स्मरण गर्दा काप्ने गरेको समिक्षाको नमिठो अनुभव छ । तत्कालिन समयमा देश र जनताका लागि गरेका बलिदानको कदर हुन छोडे पछि पुराना सबै स्मरण मेटाउनका लागि सो समयमा स्मरणका लागि खिचाएका तस्बिरहरु च्यातिदिएको उहाँले बताउनुभयो ।

पुराना सबै कुरा पछाडि छोडिएको भए पनि जनमुक्ति सेनामा भेटिएका बागलुङको काठेखोला गाउँपालिका–१ पालाका बिजय रोका सँग २०६२ असोज २५ गते जनवादी विवाह गरेर जोडिएको साइनोले समिक्षालाई सुखी र खुसी परिवार भने दिएको छ । श्रीमान, एक छोरा र एक छोरी सहित बागलुङ नगरपालिका–३ हाडेपाखामा अहिले समिक्षाको सानो तर छुट्टै संसार छ ।

समिक्षा दम्पति अब गुनासो मात्र गरेर नबस्ने सोँचले आफै व्यायसायिक योजनामा अघि बढ्न प्रयासरत हुनुहुन्छ । करिब ८ लाख रुपैयाँ लगानीमा उहाँले कुखुरा फार्म सञ्चालनमा ल्याउनुभएको छ । व्यावसायिक रुपमा दर्ता हुन बाँकी रहे पनि समिक्षाको कुखुरा फर्ममा यतिबेला ३ सय बोइलर कुखुरा हुर्कदै छन् । ५० वटा लोकल कुखुराले अण्डा दिन सुरु गरिसकेका छन् । उत्साह र खुसीले दंग पर्दै लोकल कुखुराका अण्डा प्रति गोटा २५ रुपैयाँमा घरबाटै बेच्न थालेको उहाँ बताउनुहुन्छ । परीक्षण स्वरुप २५ वटा टर्की समेत पाल्नुभएको छ । आफ्न्तको जमिन भाडामा लिएर तरकारी खेती समेत गर्नुभएको छ । ‘श्रीमानले सवारी चालकको काम गर्नुहुन्छ, महिनामा १५ हजार तलब हुन्छ,’ समिक्षाले भन्नुभयो,‘मैले घर खर्च चलाएको छु, उहाँको आम्दानीले छोराछोरी पढाउछौ ।’

आफुले जस्तै परिर्वतनको लागि, देश र जनताको लागि माओवादी बनेका र युद्ध लडेकाहरुलाई सत्तामा पुगेपछि पार्टी र नेताहरुले भुल्दै गएको प्रति भने उहाँको तिव्र आक्रोश छ । ‘नेताले आफ्नो सात पुस्तालाई पुग्ने सम्पति जोडे,’ उहाँले भन्नुभयो उनीहरुसँगै परिर्वतनको लडाई लड्दा हात खुट्टा गुमाएका, अंगभंग भएकाहरु मागेर खाने भएका छन्, अरु हजारौ योद्धा बेरोजगार छन्, जनताको अवस्था उस्तै छ ।’ हात खुट्टा चल्नेहरुलाई दुई छाक खान समस्या नभए पनि देश र नेताहरुको प्रवृत्ति देखेर अवाक भएको उहाँको भनाई छ ।

‘हातखुट्टा गुमाएका, शरिरमा जनयुद्धका निशानी बोकेर बाँचेकाहरुको दयनिय अवस्था देख्दा नेताहरु प्रति धिक्कार लाग्छ’ उहाँले भन्नुभयो, ‘त्यो बेला नेताहरुको भाषण सुन्दा रगत उम्लन्थ्यो, लडु–लडु, मरु–मरु हुन्थ्यो । अहिले त्यो दिन र देशको अहिलेको अवस्था देख्दा आफुहरुको त्याग, समर्पण र आफन्तको रगत खेर गए जस्तो लाग्छ, हाम्रो त्याग शुन्य लाग्छ, नेता प्रति धिक्कार लाग्छ ।’


यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *