पोखरामा होटललाई ‘पे­-आइसोलेसन’ बनाउने तयारी

आदर्श अनलाइन, पोखरा 
कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेसन वार्डको अभाव हुन सक्ने जनाउँदै महानगरपालिकाले पोखराका केही होटललाई ‘पे­आइसोलेसन’का रुपमा प्रयोग गर्ने तयारी गरेको छ ।

महानगर प्रमुख मानबहादुर जिसीले लक्षणबिना संक्रमण देखिएका र अस्पताल लानुपर्ने अवस्था नभएका संक्रमित पैसा तिरेर होटलमा बस्न चाहन्छन् भने ‘पे­आइसोलेसन’का लागि होटल प्रयोग गर्न सकिने बताएका छन् ।

उनका अनुसार अहिले कृषि तालिम केन्द्रलाई ४० शैयाको आइसोलेसन वार्डका रुपमा विकसित गरिएको र अब छिट्टै होटललाई पनि ‘पे आइसोलेसन’ का रुपमा प्रयोग गर्न सम्बन्धित होटलवालासँग छलफल भइरहेको छ ।

उनले हाल महानगरको सहकार्यमा ‘पे क्वारेन्टिन’ मात्र सञ्चालन गरिएको र करिब ४ सय जनाले यसको सुविधा लिएको जानकारी दिएका छन् । ‘पे क्वारेन्टिन’मा बस्नेका लागि १ दिनको १ हजारदेखि २ हजारसम्म मूल्य तोकिएको प्रमुख जिसीले बताए ।

पोखरा महानगरले कृषि तालिम केन्द्र, मालेपाटन, पदम नर्सिंङ होम, लेकसिटी ब्लक बी र ¥यालेचौर बेंसी क्वारेन्टिन गरी अहिलेसम्म २ सय २३ शैयाको ४ क्वारेन्टिन सञ्चालन गरेको छ । ती क्वारेन्टिनमा बस्न सकिने एक हजार २ सय २७ जनामध्ये हाल जम्मा ७० जनामा मात्र छन् भने अरु घर फर्किसकेका छन् ।

महानगरको क्वारेन्टिनमा विशेषगरी घरमा बस्ने वातावरण नभएको र होटलमा बस्ने आर्थिक अवस्था नभएका राखिने गरेको महानगरका स्वास्थ्य महाशाखाका सिनियर अहेव अर्जुन क्षेत्रीले जानकारी दिएका छन् । उनका अनुसार विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधा सम्पन्न होटलमा बस्न चाहनेका लागि महानगरको सहकार्यमा पोखराका २४ होटलले सो सुविधा उपलब्ध गराएका छन् । त्यसैगरी महानगरले बुद्ध हस्पिटल नदीपुरमा महिलाका लागि पनि छुट्टै ५० शैयाको क्वारेन्टिन सञ्चालन गरेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल २ भेन्टिलेटर र ११ आइसियु शैया छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार हालसम्म ३९ हजार ९ सय २१ को नमूना संकलन भएको छ ।

यसमा सक्रमितको संख्या १ हजार ८ सय ८९ छ । गण्डकीमा ८ सय ३० क्वारेन्टिन छन् भने २ सय ६१ आइसोलेसन छन् । भारत र तेस्रो मुलुकबाट आउनेको संख्या १९ हजार ३ सय १५ रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *