पञ्चमी, पाप र पुजा

सम्पादकीय
हरितालिका तीजसँगै जोडिएर आउने ऋषि पञ्चमीमा यसपटक सामाजिक सञ्जालमा राम्रै चर्चा भयो । पञ्चमीमा अनेक विश्वास, परम्परा र भ्रमका बिषयले नेपाली समाजमा पछिल्ला केही समय यता वहसको रुपमा प्रवेश गरेको छ । पञ्चमीका दिन बिहानै उठेर हिन्दु नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरे । रजस्वलाका समयमा छोइछिटो लगायत कुनै त्रुटि भएको भए पञ्चमीको दिन अरुन्धती सहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रहृमघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन छ ।

उसो त वेदमा महिनावारीसँग गाँसिएका अनेक ‘मिथक’ छ । जसलाई पढ्दा अचम्म लाग्छ । ‘रजस्वला भएपछि अरुले नदेख्ने गरी लजाएर घरभित्र बस्नु पर्छ । एकसरो लुगा लगाएर कमजोर हुँदै दुःखी भएजस्तै स्नान र गहनाको श्रृंगार त्यागेर भुँईमा सुत्दै तीन दिन बिताउनुपर्छ र तीन रातपछि घाम झुल्कँदा लुगा सहित स्नान गर्नुपर्छ । (चारवेदको सार, ४९) तर, यो कुरा आजको समय र समाजले अस्वीकार गर्दै धेरै अगाडी आइसकेको छ । स्वयम् महिला दिदीबहिनीहरुमा पनि चेतना र जागरणको उल्लेख्य बदलाव आएको छ । यति सम्म कि अहिलेको विज्ञानले महिनावारी हुँदा सफा बसौंं, हाँसौं, स्वस्थ खाना खाउँ, सकिन्छ भने दिनदिनै नुहाएर लुगा फेरौं भन्ने मान्यतालाई आत्मसाथ गर्ने ठुलो जमात तयार भइसकेको छ । विगतमा जस्तो निराहर व्रत बस्ने, गोडाको पानी खाने जस्ता गलत परम्परा र सँस्कृतिहरुमा उल्लेख्य परिवर्तन समेत भइरहेको छ । यसमा पण्डित, पुजारी, पुरानो पुस्ताका हाम्रा हजुरआमा, हजुरबाबा पनि परिवर्तित मान्यतामा सहमत हुन थालेका छन् । यो आजको समयको सकरात्मक र सुखद संकेत हो ।

यद्यपी, यति हुँदाहुँदै पनि अहिले ऋषि पञ्चमीलाई महिनावारीका बेलामा गरेको पाप पखाल्ने ब्रत भन्ने र बस्ने प्रचलन अन्त्य भएको छैन । रुढीबादी परम्पराका नाममा यो सोच र सँस्कारले गहिरो सँग समाज, स्वयम् महिला र उनीहरुको परिवारमा जरा गाडेर बसेको छ । तर, हामीले अर्थात आजको समयमा बुझ्नुपर्ने सत्य के हो भने विज्ञान सहितको सँस्कारलाई जरुर आत्मसाथ गर्नुपर्दछ । ऋषि पञ्चमीलाई पाप पखाल्ने पर्व होइन, ‘स्वच्छताको पर्व’को रुपमा मनाउन सकिन्छ । ऋषि पञ्चमीलाई विगतका परम्परागत गलत सँस्कार परिवर्तन गरेर नयाँ हिसावले सोच्ने पर्वका रुपमा स्थापित गर्न सरकार र समाज सबैले पहल गर्नुपर्छ । यसो हुन सक्यो भने मात्रै संस्कृतिको रुपान्तरण सकारात्मक ढगंबाट अघि बढ्नेछ । अतः ‘ऋषिपञ्चमी’ नै महिनावारीका बारेमा ज्ञान दिने एउटा राम्रो दिवस या पर्व या सन्दर्भका रुपमा बनाउने र मनाउने अवसरको रुपमा विकास गरौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *