कुलमानले स्थापित गरेको मानक

सम्पादकीय
नेपालको बिद्युत उर्जा इतिहासमा अब कुलमान घिसिङ नाम कहिल्यै नमेटिने मानक बन्यो । यो सत्यलाई आम नागरिक स्तरबाट हार्दिकताका साथ स्विकार र स्वागत गरिएको छ । र अबका केही वर्ष पनि नेतृत्वमा निरन्तरताको अपेक्षा गरिएको छ । कसैले पछिल्लो चार वर्षमा अध्यारो नेपालमा आएको अभूतपूर्व परिवर्तन, यसको साहसिक र कुशल नेतृत्व सहित कार्यक्षमता प्रर्दशन गर्ने कुलमानको भुमिका र योगदानलाई कम आँकलन गर्नेहरु पनि यस्तो इतिहास पढ्न र सुन्न बाध्य भएका छन् र हुनेछन् । किनकी मानिसहरुको प्रत्यक्ष दैनिक जीवनसँग जोडिएको बिद्युतले देशभरका नागरिकमा ठुलो हैरानी थियो । दिनको २४ घण्टामा १८ घण्टा बढी अवधि लोडसेडिङ हुँदा पनि बाध्यता र बिडम्बना भनेर स्विकार गरेर बस्नुपर्ने बिवशतामा नेपाली समुदाय थिए । देश बिद्युत नहुँदाको अध्यारो सकसमा थियो नै, स्वयम् देशभर बिद्युतको जिम्मा लिएको नेपाल बिद्युत प्राधिकरण चरम नोक्सानीमा थियो । यही कहाली लाग्दो संकटमा एक सपुत कुलमान घिसिङको आगमन र योगदान वरदान सावित भएको हो ।

अहिले नेपाल बिद्युत प्राधिकरण स्थापनाको ३४ वर्ष पुरा भयो । पाँच वर्ष अघिको नेपालको बिद्युतको अवस्था सम्झिदा बिडम्बनापूर्ण लाग्छ । चकमन्न अन्धकार । दिनमा बिद्युतबाट गर्नुपर्ने काम गर्न अधिक समयको पर्खाइ । कि त महंगो मुल्यमा वैकल्पिक उर्जा र जेनेरेटरको प्रयोग । लाइन कहिले आउँछ र जान्छ पुरै अनिश्चित । मानिसहरु आफ्नो जीवन दैनिकीको महत्वपूर्ण कुरा बिर्सिएर पनि लोडसेडिङको दैनिक तालिका कण्ठस्थ बनाउनु पर्ने बाध्यतामा थिए । उद्योग, कलकारखानाले यस बीचमा कति नोक्सानी बेहोरेका होलान् ? हामी कल्पना मात्रै गर्न सक्छौ । उसो त स्वयम् बिद्युत प्राधिकरण पनि चार वर्ष अघि सम्म ३४ अर्ब रुपैयाँ वार्षिक सञ्चित घाटाको अवस्थामा पुगेको थियो । यो अवस्थाबाट आज बिद्युत प्राधिकरण चामत्कारि रुपमा लोडसेडिङ अन्त्यको अवस्थामा छ भने ३४ अर्ब वार्षिक घाटाको ठाउँमा वार्षिक ११ अर्ब नाफा र पाँच अर्बको सञ्चित मुनाफा आर्जनको अवस्थामा छ । यसले नेपाल जस्तो देशमा एक असल व्यक्ति उपर्युक्त ठाउँमा पुग्दा कति कायापलट हुन सक्दोरहेछ भन्ने प्रष्ट गरेको छ ।

यो काम नयाँ महाप्रवन्धक कुलमान घिसिङको एकल प्रयासले मात्र सम्भव कदापी भएको होइन । प्राधिकरणमा कार्यरत कर्मचारी, प्राविधिक, बिषयगत मन्त्रालयको नेतृत्व गर्ने नेता सबैको भुमिका मिश्रित छ । तर, यसमा एउटा तितो सत्य के हो भने यो ठाउँमा कुलमान बाहेक अरु पुग्दाको अवस्था के थियो र अहिले के भयो भन्ने दृष्टान्त र पृष्ठभुमी चाही जरुर अध्ययन गर्नुपर्दछ । नेपालमा लोडसेडिङ अन्त्य सम्भव छैन, हुनै सक्दैन भन्ने दावी गर्ने बिज्ञहरुदेखि नेता, कर्मचारी सबैलाई काम, कार्यशैली र व्यवहारबाटै कुलमानले सुन्दर जवाफ दिएका छन् । अहिले उनको कार्यकाल पुरा हुन थालेको र नयाँ महाप्रवन्धकको नियुक्तिको चर्चा तिव्र छ । नागरिक स्तरबाट कुलमानलाई अझ एक कार्यकाल दोहो¥याउनु पर्नेमा जोड छ । यद्यपी, सरकारले यसबारेमा उपर्युक्त निर्णय गर्ला । तर, यस्तो चामत्कारिक कार्य गर्नेलाई पुरस्कृत या प्रोत्साहित गर्दा देशलाई अझ बढी योगदानको अवसर हुन्छ भन्नेमा हेक्का राख्नु राम्रै हुनेछ । -जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *