आइसोलेसनबाटै जनप्रतिनिधि भन्छन्ः ‘होसियार हुँदा-हुँदै संक्रमण,सचेत बन्नुस्’

डम्मर बुढा मगर, बागलुङ

बागलुङमा पछिल्लो समय सर्वसाधारण नागरिकदेखि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिसम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गत वर्षको चैत्र शुरुवातादेखि हालसम्म २ सय ९२ जना कोरोना संक्रमित भइसकेका छन् । सुरुवाती चरणमा विदेशबाट आउने नागरिकलाई मात्रै संक्रमण पुष्ट भएको थियो । तर, पछिल्लो साता यता समुदायस्तरमै संक्रमण तीव्र रुपमा फैलिएको छ । केही दिन अगाडी विदेशबाट आएका नागरिकहरुको व्यवस्थापन र संक्रमण न्यूनिकरण गर्न सक्रिय जनप्रतिनिधि समेतमा संक्रमण पुष्टि भएको छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना, बडिगाड गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मौसम काजी क्षेत्री र वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण गुरुङमा संक्रमण पुष्टि भएको छ । हाल तीनै जना जनप्रतिनिधि धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा हुनुहुन्छ ।

जिसस प्रमुख ढुङ्गानाले आम नागरिकलाई लकडाउन, निषेधाज्ञा लगायत सरकारका सबै नियमलाई अनुशासित पूर्वक पालना गर्न आग्रह गर्नुभयो । नागरिक सजग नभएसम्म कोरोना न्यूनिकरण गर्न गाह्रो हुने भन्दै दूरी कायम गर्न र माक्स अनिवार्य रुपमा प्रयोग गर्न उहाँले सुझाव दिनुभयो ।

‘संक्रमण दिनानुदिन बढिरहेको छ, यसलाई हेलचक्राइ नगरौँ, नियमित सरसफाईमा ध्यान दिन जरुरी छ,’ उहाँले भन्नुभयो । यत्रो महिना जिल्ला स्तरबाट यसको रोकथाम गर्ने, जनचेतना फैलाउने, प्रचार प्रसार गर्ने, क्वारेन्टिनको अनुगमन गर्ने, सुझाव दिने गर्दा पनि नभएको तर अन्तिम समयमा आँफु पनि जोगिन नसकेको उहाँले बताउनुभयो ।

‘काम गर्दा पनि धेरै सतर्कता, मापदण्ड अपनाएर गरियो, यो साउन महिनामा आएर झुक्कियो, कहाँ झुक्कियो, यसको सबै खोज पनि हुँदैछ, लापरवाही पनि होइन, एकदमै होशियारी हुँदा–हुँदै संक्रमण भयो ।’ उहाँले आम नागरिकलाई हत्तोसाहित नहुन र नआत्तिन भन्दै बिशेष सर्तकता अपनाउन आग्रह गर्नुभयो ।

नागरिकले संक्रमितलाई हेर्ने दृष्टिकोण चेतना स्तर अनुसार फरक हुने गरे पनि सबैले मनोबल बढाउने व्यवहार गर्न आवश्यक रहेको बताउनुभयो । ‘कोरोनाको केही लक्षणहरु देखिएका थिए, विस्तारै हराउँदै गएको छ,’ उहाँले भन्नुभयो ‘आइसोलेसमा बिभिन्न विषयमा अध्ययनसँगै पत्रपत्रिका पढ्ने, टिभी हेर्ने र इन्टरनेटमा समेत समय व्यतित गर्ने गरेको छु ।’

बडिगाड गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मौसम काजी क्षेत्री आफुलाई कसरी संक्रमण भयो भन्ने बारेमा अझै सोचमग्न हुनुहुन्छ । उहाँले आफु बडिगाड गाउँपालिकामा सुरुका दिनदेखि नै क्वारेन्टिन व्यवस्थापनमा खटिदै आए पनि संक्रमणबाट जोगिएको तर अन्तिम अवस्थामा आफूलाई कसरी संक्रमण भयो भन्ने थाहा नभएको बताउनुभयो ।

‘म सुरुवातदेखि क्वारेन्टिन व्यवस्थापन गर्दै आएको हुँ, धेरैलाई व्यवस्थापन पनि गरियो, तर अहिले क्वारेन्टिन खाली भएको बेला आफैलाई संक्रमण भयो,’ अध्यक्ष क्षेत्रीले भन्नुभयो ‘क्वारेन्टिन खाली गरेको पनि धेरै समय भएको थियो, त्यतिका दिनपछि जाँच गर्दा पोजेटिभ देखियो, म आफै आश्चर्य चकित भए ।’ उहाँले आफू संक्रमित भए पनि अहिलेसम्म त्यस्तो कुनै पनि किसिमको लक्षण देखा नपरेको बताउनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नागरिक आफै सचेत हुनु नै सबै भन्दा राम्रो विकल्प भएको बताउनुभयो ।

उहाँले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र स्थानीय तहले बनाएको निमयलाई पालना गर्न सबैलाई आग्रह गर्नुभयो । ‘हामीले कसैलाई पनि यो मेरो नजिकको मान्छे हो, यसलाई कोरोना छैन भनेर सोच्नु हुँदैन, यो जो कसैलाई पनि लागेको या लाग्न सक्ने हुन्छ,’ उहाँले भन्नुभयो ‘त्यसैले अनिर्वाय रुपमा समाजिक दूरी कायम गर्ने, माक्स प्रयोग गर्ने र दैनिक सरसफाई ध्यान दिनुपर्छ, हेलचक्राइ गर्नु हुँदैन ।’

बडिगाड गाउँपालिका वडा नम्बर ६ का अध्यक्षमा संक्रमण पुष्टि भए पछि कन्ट्याक्ट ट्रेसिङमा जाँच गर्दा संक्रमित पुष्टि भएका बडिगाड वडा नम्बर ७ का अध्यक्ष कृष्ण गुरुङले आफूलाई कहाँबाट कसरी संक्रमण भयो भन्ने एकिन नभएको बताउनुभयो । अध्यक्ष गुरुङ सुरुवाति चरणबाटै कोरोना नियन्त्रणका लागि क्वारेन्टिन व्यवस्थापन लगायतका कार्यमा नेतृत्वदायक भुमिका सहित सक्रिय हुनुहुन्थ्यो ।

‘कसरी लाग्यो भन्ने ठ्याक्कै मलाई पनि थाहा छैन, वडा नम्बर ६ का अध्यक्षसँगै काम गथ्र्यौ, उहाँमा देखिएपछि मेरो पनि परीक्षण गराएँ, त्यसपछि मेरो पनि पोजेटिभ रिपोर्ट आयो,’ अध्यक्ष गुरुङले भन्नुभयो ‘अहिलेसम्म मलाई त्यस्तो कुनै लक्षण देखिएको छैन, म ठीक छु संक्रमण भएको जस्तो पनि लाग्दैन ।’

गुरुङले संक्रमित भएका नागरिकलाई समाजले हेर्ने हेराईमा अझै पनि परिवर्तन आउनु नसकेको गुनासो गर्नुभयो । उहाँले अन्य नागरिकलाई संक्रमित हुँदा अरु समाजले फरक तरिकाले हेर्दा आफूले सम्झाउने र सचेत गराउने गरेको भन्दै अहिले अरुले आफु र आफ्नो परिवार समेतलाई राम्रो व्यवहार नगरेको बताउनुभयो । ‘सुरु–सुरुमा अरु दाजुभाई दिदीबहिनीहरु संक्रमित हुँदा समाजले अलिक फरक तरिकाले गर्ने गथ्र्यो, त्यस बेला मैले सम्झाउने गर्थे’ उहाँँले भन्नुभयो ‘तर अहिले उहाँहरुले भोगेको त्यो अवस्था मलाई पनि आएको छ ।’

आफ्नो घरमा सानो बाबु रहेको र उसलाई पनि वरपरका मानिसहरुले घरमा नआइजा भनेर उपेक्षा गरेको खबर आएको उहाँको भनाई छ । ‘सानो बाबुले फोनमा यस्तो गरे, नआइजा भने भनेर सुनाउँछ,’ उहाँले भन्नुभयो ‘निको भएर फर्किए पछि समाजले अन्य नागरिकलाई जस्तो सामान्य अझै पनि मान्दैन ।’

उहाँले संक्रमण दिन प्रति दिन फैलिँदै गएको हुँदा सबैलाई सजक हुन आग्ह गर्नुभयो । जति सक्दो आफू सुरक्षित हुने र परिवारलाई सुरक्षित राख्नेमा ध्यान केन्द्रित गर्न उहाँको सुझाव छ । यो समय फोन मार्फत भए पनि सम्भव हुने जति वडाको काम गरिरहेको उहाँले बताउनुभयो । ‘यो समय मैले विभिन्न किताबहरु अध्ययन, फोन मार्फत गर्न मिल्ने वडाको काम गरेको छु भने योग र शारिरीक कसरतलाई पनि निरन्तरता दिएको छु ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *