कोरोना भयावह फेरी फैलिदो छ । देशव्यापी कोरोना संक्रमित संख्या ४ अकं सम्म एकै दिन भेटिन थालेको छ । मृत्यु हुने दर पनि बढ्दो छ । बागलुङमा पनि कोरोना भाइरस (कोभिड १९) लामो समय रोकथाम भए पनि पछिल्लो समय समुदाय स्तर सम्म पुगेको छ । त्यो पनि २, ४ जनामा मात्र सिमित देखिन्न । संक्रमितको सम्पर्कमा भएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा दर्जन बढी थप संक्रमित पुष्टि भएको छ । यो संख्या अझ बढ्ने जोखिम कायमै छ । जसका कारण नगर क्षेत्रमा एक साताका लागि जारी निषेधाज्ञा फेरी एक साता थपिएको छ । यसबेलामा जोखिमपूर्ण मानिएको नगर क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीका अनुभव कस्ता छन् ? नागरिक स्वयम् चाही कसरी सचेत र सुरक्षित हुन सक्छन् ? अर्थात अहिलेका के कस्ता विकल्प र उपाय हुन सक्छ ? आदर्शकर्मी साधना पन्तले तयार गरेको सामग्रीः
रामप्रसाद खनाल
स्वास्थ्य शाखा प्रमुख
बागलुङ नगरपालिका
बागलुङको विषयमा कुरा गर्दा अहिले सम्म बागलुङ नगरपालिकामा काम गर्ने स्वाथ्यकर्मीलाई दुव्र्यवहार भएका पाइएको छैन । सबैलाई सम्मान र सवैलाई शंका गर्नु पर्दछ भनेर स्वास्थ्य संगठनले भनेको छ । बागलुङमा दुव्र्यवहार नभए पनि अन्य ठाउँहरुमा स्वास्थ्यकर्मी माथी भएको छ । त्यो निन्दनिय छ । स्वास्थ्यकर्मीले चाहेर आफु संक्रमण भएका हुँदैनन् । काम गर्ने क्रममा संक्रमित भएका हुन्छन् । सेवा गर्ने क्रममै भएकाले उनीहरुलाई नराम्रो व्यवहार गर्ने, संक्रमित नभए पनि संक्रमित भनेर हल्ला चलाउने, भाडाको कोठामा बस्न नदिने, बाटो हिँड्न नदिने जस्ता गतिविधीहरु भएका छन् । यी अमानबिय काम हो । स्वास्थ्यकर्मी जुनसुकै समयमा पनि बिरामीको उपचारका लागि दिन रात नभनी सेवा गरिराखेका हुन्छन् । त्यसकारण स्वास्थ्यकर्मीको मनोबल बढाउने काम सरकार र सवै आम जनताले गर्नुपर्दछ ।
लामो समय भयो कोरोना महामारी विश्वभर फैलिएको । नेपाल पनि यसबाट अछुतो हुन सकेन । हामीहरुले कोरोना नेपालमा आउन साथ बागलुङमा पनि कोरोना भित्रिएको थियो । हामीहरुले शुरु देखिनै समुदाय स्तरमा कोरोना फैलिन नदिनका लागी प्रयासहरु गरिराखेका थियौ । तर, कोरोना समुदायमा फैलियो । कोरोना समुदायमा फैलिनु सरकारको, स्वास्थ्यकर्मीको कमिकमजोरीले हो भन्नु हँुदैन । सवै मानिसहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने हुन्छ । नेपालीको बानी अलि मुर्ख हँुदो रहेछ । कसैले कसैलाई भनेको सुन्दै नसुन्ने बानी खराब हो । मानिसहरुले आफुलाई कोरोना नलागे सम्म कोरोना के हो भनेर थाहै नहुने गरेर बजार डुल्ने, माक्सको प्र्रयोग नगर्ने, सेनिटाइजरको प्रयोग नगर्ने देखिन्छ । नगरपालिकाले घोषणा गरेको निशेधाज्ञा पालना नगरेको पाइन्छ । किन यस्ता खालका गतिबिधीहरु भइराखेका छन् त ? बागलुङमा दिन प्रतिदिन समुदाय स्तरमा कोरोना फैलिएको छ । तर, मानिसहरु अटेर गर्नु भएको छ । सरकारले, स्वास्थ्यकर्मीले, पत्रकारहरुले बारम्बार सचेत हुनका लागि आग्रह गरिराखेका छौ तर नागरिकहरुले बुझ्नु भएको पाईदैन या अटेर गरेको देखिन्छ ।
अहिले मानिसहरुले संक्रमितको सम्पर्कमा आएकाले भन्न नचाहने, कोरोनाको लक्षण देखिएकाले स्वास्थ्यकर्मीसँग सल्लाह लिन नचाहने, साथीभाई सँग बस्ने खालका गतिविधिहरु पाइएको छ । यसले गर्दा समुदायमा झन् समस्या आउने भएकाले सवै आम नागरिकलाई सचेत भएर बस्न अनुरोध गर्न चाहन्छु । कोरोनाले धनी, गरिब, सानो ठुलो भन्दैन । यो जोलाई पनि हुन सक्दछ । त्यसकारण सरकार र स्वास्थ्यकर्मीलाई सहयोग गर्ने आम नागरिकको कर्तव्य हो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलाई सम्मानपूर्ण व्यवहार गरेर एक आपसमा सद्भावपूर्ण भावना राखेर कोरोनाबाट लड्नु पर्ने हुन्छ । हामी सबै एक भएर मात्र कोरोनालाई जित्न सक्दछौ जस्तो मलाई लाग्दछ ।
लक्ष्मण ढकाल
हेल्थ असिस्टेन्ट
बागलुङ नगरपालिका
कोरोना महामारीले गत वर्षको चैत्र ११ गतेदेखि हामीहरु निरन्तर फ्रन्ट लाइनमा काम गरिराखेका छौ । हामीहरु महामारी प्रकोप व्यवस्थापनमा खटिराखेका छौ । संक्रमितको सम्पर्कमा आएका मानिसहरुको खोजी गरेका छौ । उहाँहरु संक्रमित पुष्टि भए पछि हामीहरुले संक्रमितलाई आइसोलेसनमा ल्याउने, संक्रमितलाई व्यवस्थापन गर्ने, क्वारेन्टिन व्यवस्थापन गर्ने काम हामीहरुले गरेका छौ । हामीहरुले समुदाय स्तरमा कोरोना फैलिन नदिनका लागी धेरै प्रयास गरेका छौ । र केही हद सम्म सफल पनि भएको हामीहरुले महशुस गरेका छौ ।
हामीहरुले काम गर्दा महशुस गरेका छौ । पहिला हामीलाई गरिने व्यवहार र अहिले गर्ने व्यवहार फरक पाएका छौ । हामीहरु बस्दा आडको मानिसहरुले असहज महशुस गरेको पाउछौ । म घरमै नगएको १ हप्ता भयो । परिवारले छोरा घरमा नआईजा त भन्नु हुँदैन । तर,मेरो परिवारलाई समाजले हेर्ने दृष्टिकोण फरक पाएकाले घरमा नजाने र अफिसमै बसेको छु । म मात्र एक जनालाई यस्तो समस्या होइन । म सँगै काम गर्ने अन्य स्वास्थ्यकर्मीहरु अफिसमै बस्नुहुन्छ । हामीहरुले परिवार र समुदायलाई सुरक्षित राख्नका लागि पनि घर नबकेका हौ । क्वारेन्टिन व्यवस्थापन, संक्रमितको सम्पर्कमा आएका मानिसहरुको खोजी, संक्रमितलाई आइसोलेसन सम्म ल्याउने चुनौती पुर्ण कामहरु हामीहरुले आफ्नो ज्यान जोखिममा राखेर गरेका छौ । सरकारले हामीहरुलाई जोखिम भत्ता अहिले सम्म व्यवस्थापन गरेको छैन । हामीहरु निस्वार्थ रुपमा सेवा दिएका छौ ।
काम गर्दै गर्दा संक्रमितको परिवारलाई समाजले गर्ने व्यवहार हामीहरुले महशुस गरेका छौ । हामीहरुले समाजमा रहेका मानिसहरुलाई सम्झाउने देखि संक्रमितको परिवारलाई हौसला दिने काम पनि गरेका छौ । अहिलेको परिस्थितिमा काम निकै जटिल बन्दै गएको छ । मानिसहरुले सहयोग गर्नु पर्नेमा माक्स, सेनिटाइजरको प्रयोग नगर्ने, अनावश्यक घर बाहिर निस्कने प्रवृत्ति बढेको पाइन्छ ।
स्वास्थ्यकर्मीलाई सवै ठाउँबाट सकरात्मक सहयोग हुन आवश्यक छ । हामीहरुलाई हौसला दिने, सम्मान दिने, माया गर्दिने र हामीहरुले राम्रो गर्दा भएको गल्तीलाई यसरी गर्दा राम्रो होला भनेर सुझाब दिने हो भने हामीहरुलाई थप सहयोग हुने थियो । आम नागरिकहरु अनावश्यक घर बाहिर नजाने सुरक्षाको सामाग्रीहरु प्रयोग गर्ने, संक्रमितको सम्पर्कमा आएमा स्वाथ्यकर्मीलाई जानकारी गराइ दिए सजिलो हुने थियो । स्वास्थ्यकर्मीलाई मन्त्रालयबाट जोखिम भत्ता भनेको छ । तर, हामीहरुले अहिले सम्म पाएका छैनौ । यस विषयमा पनि सम्वन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।
दिनेश जिसी
फोकल पर्सन
क्वारेन्टिन व्यवस्थापन
कोरोनाले गर्दा जनताका लागि थप काम गर्ने मौका पाएर खुसी छौ । मानिसहरुले हामीलाई गर्ने व्यवहार त्यति धेरै नराम्रो मानेको छैन मैले अहिले सम्म । किनकी हामीहरुले मानिसहरुलाई बुझाउन सके जस्तो लागेको छ । तर, डर सवैमा हुन्छ । हामीहरु संक्रमितको सम्पर्कमा रहेका मानिसहरुलाई खोज्ने, स्वाब संकलन गर्ने र संक्रमितलाई आइसोलेसन सम्म ल्याउने काम गरिराखेका छौ । त्यसकारण मानिसहरु हामीलाई देखेर डराएको महशुस मैले गरेको छु ।
नगरपालिकाले हाम्रो सुरक्षाका लागी राम्रो व्यवस्था गरेको छ । सुरु देखिनै हामीहरुले सवै व्यवस्था मिलाएको छ । कोरोना संक्रमित धेरै भएको समय पनि थियो । त्यो समयमा हामीहरु कहाँ राख्ने ? के गर्ने ? भनेर चिन्तित थियौ । तर, भाग्यबस एकै दिनमा ५५ जना जतिको रिपोर्ट नगेटिभ आएर घर फर्किनु भयो । हामीहरु त्यो समयमा निकै खुसी भएका थियौ । हामीहरुले लिएको जिम्मेवारी पुरा गर्नका लागी नियमित खटिरहेका छौ । काम गर्ने समयमा समस्याहरु धेरै आउँछन् । ती समस्याको समाधान गर्दै हामीहरु अगाडी बढेका छौ ।
मेरो परिवारमा सवै स्वास्थ्यकर्मी भएका कारण पनि मलाई परिवारबाट धेरै सहयोग मिलेको छ । समाजमा पनि हामीहरुले सवैलाई विश्वास दिलाएर काम गरिराखेको छु अहिले सम्म । तर, सरकारले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, प्रोत्साहन भत्ता दिने भनेको हो । अहिले सम्म हामीहरुले पाएका छैनौ । स्वास्थ्यकर्मीले पाउनु पर्ने सुविधाहरु सहज रुपमा उपलब्ध गराएमा मनोबल बढ्ने
मैले महशुस गरेको छु ।
डिल्ली आचार्य
कोरोना महामारीमा मुलकभरकै स्वास्थ्यकर्मीलाई दुव्र्यवहार भएको छ । समाजले हेर्ने, गर्ने व्यवहारका कारण हामीहरु आफ्नै परिवारबाट टाढा बस्नु पर्ने बाध्यता रहेको छ । साथीभाईले, होटल व्यवसायीले, समाजले हेर्ने दृष्टिकोण फरक छ । त्यो एक किसिमले स्वभाविक पनि हो ।
किनकी कोरोना नयाँ छ हामीहरुका लागि । संक्रमित को हो ? कस्तो मानिस संक्रमित हो भनेर पनि थाहा पाउन हेरेरै सकिदैन । त्यसकारणले कोरोना संक्रमितलाई मान गर्ने स्वास्थ्यकर्मी, सेवामा खटिएका सुरक्षाकर्मी र जनतालाई सुचना दिन खटिएका सञ्चारकर्मीलाई समाजबाट गरिने व्यवहार फरक पाउन सकिन्छ । तपाइहरु जस्तो सञ्चारकर्मीहरुले स्वास्थ्यकर्मीलाई हौसला दिनु भएको छ । हामीहरुको समस्यालाई आम नागरिक सामु पु¥याउनु भएको छ । आम नागरिकलाई सचेत बनाउनु भएको छ । सरोकारवाला निकायले पनि राम्रो सँग सहयोग गर्नु भएको छ । स्वास्थ्यकर्मीको मनोबल बढाउने काम गर्नु भएको छ । तर, सर्वसाधारणको आँखाबाट हेर्ने हो भने स्वास्थ्यकर्मीलाई संक्रमण फैलाउन सक्छन् भनेर हामीलाई हेरेको पाइन्छ । बागलुङमा स्वास्थ्यकर्मीले कोठा भाँडामा बस्न समेत नपाएको अवस्था छ । कोठा भाँडामा बस्नु पर्ने स्वास्थ्यकर्मीलाई समस्या भएको छ ।
हामीहरुले सरोकारवाला निकायलाई भोली के हुन्छ भन्ने कुरा थाहा कसैलाई हुँदैन । तर, भोलीका लागी आज तयारी त गर्नु पर्दछ भनेर हामीहरुले घचघचाई राखेका छौ । अहिले पनि हामीहरुले संक्रमितहरु अस्पताल लिए पछि हामीहरु कहाँ राख्ने ? के गर्ने भनेर खोज्दै हिँडेका छौ । त्यसकाण हामीहरु समाजमा संक्रमणको संख्या वृद्धि हुदैँ गयो भने कसरी व्यवस्थापन गर्ने भनेर पूर्व तयारी गर्नु पर्ने देखिन्छ । अहिले सम्मत लक्षण नभएका संक्रमित देखिनु भएको छ । तर, भोली लक्षण देखिएका संक्रमित देखिन थाल्यो भने थप भयग्रस्त अवस्था आउन सक्दछ । त्यसकारणले एकले अर्कालाई सम्मान गर्ने, शंका पनि गर्ने र घरमा बस्ने सुरक्षाको सामाग्रीहरु प्रयोग गर्ने, स्वास्थ्यकर्मीको हौसला बढाउने हो भने हामीहरु सहज रुपमा कोरोना सक्न लडन् सक्दछौ ।
म स्वास्थ्यकर्मी हो । मैले मानिसहरु बसेको स्थानमा गएर यसरी नबस्नुहोस् भनेर भन्दा उहाँहरुले सिकाउने हुन्छस्, जान्नी भइस् भनेर भन्नु हुन्छ । राम्रो कुरा जोबाट पनि सिक्न सकिन्छ । त्यस कारणले रोग सानो, ठुलो, ठूलो जात, सानो जात भनेर लाग्दैन । त्यसकारण सवै सचेत भएर सामाजिक दुरी कायम गर्ने, सेनिटाइजर, माक्स प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने, स्वस्थ खानेकुरा खाने, घर भित्रै बस्ने र आफु र समाजलाई सुरक्षित बनाउनबाट सहयोग गर्नु हुन सवैलाई अनुरोध गर्दछु ।
बागलुङ नगरपालिकाको हकमा सवै स्वास्थ्यकर्मीहरुले राम्रो सँग काम गर्नु भएको छ । तर, पछिल्लो समयमा जनसशक्ति कमी हुने हो की भन्ने हामीहरुले महशुस गरेका छौ । अहिले अन्य स्थानमा स्वास्थ्यकर्मी माथि भएको दुव्र्यवहारको कुर सुन्नमा आएको छ । त्यो निकै लजास्पद भएको र भोली हामीहरुलाई पनि हुन सक्ने भएकाले हामीहरुको मनोवल कम भएको छ । हामी स्वास्थ्यकर्मी शंकास्पद गतिविधी गरेर मानिसहरुलाई असुरक्षित हुने खालको गतिविधि गरेका छैनौ । स्वास्थ्यकर्मी जोखिमको समयमा देश र जनताका लागी काम गर्न पाउदा हामीहरु धेरै गैरवान्वित भएका छौ ।