वालिङ नगरपालिकाका १ सय १५ घरका खरको छाना हटाइयो

आदर्श अनलाइन, स्याङ्जा 
स्मार्ट सिटीको अवधारणा अन्र्तगत स्याङ्जाको वालिङ नगरपालिकाका १ सय १५ घरका खरको छाना हटाएर जस्तापाता लगाइएको छ । नगर कार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६/०७७ मा ती घरको खरको छाना विस्थापन गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताएका छन् ।

गत आर्थिक वर्षमा नगरपालिकाको ५० लाख र शहरी विकास मन्त्रालयको सशर्त ५ लाख गरी टेण्डर प्रक्रियामार्फत जस्तापाता खरीद गरी वितरण गरिएको वालिङ नगरपालिकाले जनाएको छ । ‘१४ वडाका खरका छाना विस्थापनका लागि लगत संकलन गरेका थियौं ।’ नगरप्रमुख खाँणले भने, ‘२ सय ३० घरका छाना विस्थापनका लागि आवेदन परेकोमा गत आर्थिक वर्षमा १ सय १५ वटाको खरको छानो हटायौ, बाँकी पनि हटाउनेछौं ।’

स्वास्थ्यका दृष्टिले खरको छानो उपयुक्त हुँदाहुँदै आगलागीको सम्भावना हुने र छाना छाउने दक्ष कामदारको अभावले नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता लगाईदिने योजना बनाइएको बताइएको छ । ‘कतिपय घर परिवार छानो फेर्न नसक्ने अवस्थामा हुनुहुन्छ, खरको छानो भएका गरीब हुन् भनी फरक ढंगले हेर्ने र प्रवृत्तिको अन्त्य गर्न यो अभियान चलाइएको हो ।’ नगर प्रमुख खाँणले भने ।

खरका छाना भएका घरधनीले सम्बन्धित वडाको सिफारिस र छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकले हेरेर जस्तापाता दिने प्रक्रिया रहेको नगरपालिकाका जिन्सी शाखा प्रमुख राजेन्द्रप्रसाद रेग्मीले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *