-दिल शिरीष
कतिपयको जिन्दगी आफैमा एक खुल्ला किताव जस्तो लाग्छन् । कतिपयको सुन्दर चलचित्र जस्ता लाग्छन् । कारण यस्ता व्यक्तिका पछाडी दुःख, संर्घष र प्रेरणाका अनगिन्ती फेहरिस्त हुन्छन् । जीवनको किशोर अवस्थादेखि आजको दिन सम्मको उपलब्धि र अनुभव गर्विलो हुन्छन् । जीवनको कथा सुनाउनेलाई आनन्द लाग्ने, सुन्नेलाई पनि उर्जा र उत्साह मिल्छ । सायद वास्तविक जीवनको यो भन्दा मिठो अनुभूति के होला ? तिनै पात्रहरु मध्येको एक हुन् दिपक राजभण्डारी । जो अहिले एकता सहकारी संस्थाका हाकिम अर्थात प्रवन्धक छन् ।
अहिलेको सहकारी तथा वित्तिय क्षेत्रमा काम गर्ने र चासो राख्नेका लागि उनी परिचित पात्रै हुन् । एकता सहकारी संस्थाको प्रवन्धकका हिसावले चिन्ने संख्या अधिक छ । तर, यति परिचयले मात्रै उनलाई चिन्यौ र उनको संघर्षपूर्ण पृष्ठभुमीको गर्विलो र प्रेरणादायक विगत बिर्सियौ भने सायद राजभण्डारीको चिनारीमा धेरै कुरा अधुरो होला । किनकी उनी आज जहाँ या जुन संस्थामा हाकिम भएर बसेका छन्, त्यही उनी २१ वर्ष अघि कार्यालय सहायक भएर जागिर शुरु गरेका थिए । सरकारी जागिर बाहेक दुई दशक बढी एकै संस्थामा काम गर्ने बिरलै हुने गर्छन् । अहिले झट्ट पत्यार पनि लाग्दैन । किनकी उनी जिल्लाकै अग्रणी र प्रतिष्ठित सहकारी संस्थाको प्रवन्धक छन् । र आफु मातहत दर्जन हाराहारीका कर्मचारीलाई परिचालन गर्छन्, सयौको संख्याका शेयर सदस्यहरुलाई कन्भिस गर्छन् । र अरु प्रतिस्पर्धी संस्थामा आफ्नो नेतृत्वको संस्थालाई अब्बल बनाउन हरपल समर्पित भइरहन्छन् ।
सहकारीमा भन्दा उनले शुरुवाति जागिर भने पत्रिकाबाट थाले । २०५६ मंसिर १४ को जागिरे दिन राजभण्डारी आज पनि कण्ठस्थ सम्झन्छन् । पत्रिकामा के काम गर्थे ? हकरदेखि रिपोर्टिङ सम्मको केही वर्षको काम पछि उनी सहकारी तिर लागे । एकता सहकारी संस्थामा उनी कार्यालय सहायकको रुपमा प्रवेश गरे । खासै जागिर खान्छु भन्ने त थिएन । तैपनि रहरका साथ साथै केही बाध्यताले यता डो¥याएको उनी बताउँछन् । २०३५ साल जेष्ठ २३ गते जन्मिएका उनी +२ उतिर्ण गरेका छन् ।
रोचक कुरा त यो छ कि उनले २१ वर्ष अघि जहाँ जागिर शुरु गरे । आज पनि त्यही काम गरिरहेका छन् । यति फरक हो कि त्यसबेला उनी कार्यालय सहयोगी थिए भने अहिले हाकिम भएका छन् । सरकारी जागिर त होइन, तर पनि यो कसरी सम्भव भयो ? प्रवन्धक राजभण्डारी भन्छन् ‘एकै संस्थामा टिक्नुको कारण स्थापनाकालदेखि नै संलग्न भएर संस्थाको अनुभव हासिल गरे । संचालक र शेयर सदस्यहरुको माया ममता, संस्थाले दिएको सेवा सुविधा प्रति संन्तुष्टि, मेरो लगाव, मेहेनत र इमान्दारी नै मुख्य कारण हो ।’
दिपक त नेवारी समुदायको व्यक्ति । नेवारी समुदायको त जागिर होइन, व्यवसाय गर्नेमा बढी लगाव देखिन्छ । तर, तपाईमा जागिरे सोच मानसिकता देखियो नि ? यो प्रश्नमा उनी भन्छन्–‘मेरो बाजे ब्यापारी भएता पनि बुबाले जागिर गर्नु भयो । त्यसैको प्रभावले होला सायद जागिर खानु पर्छ भन्ने र सहकारी अन्य क्षेत्रको जागिर भन्दा पनि यसमा रोजगारी पनि हुने समाजमा प्रत्यक्ष रुपमा संलग्न हुन पाइने । मेरै समुदाय र समाजका अग्रजहरुले यस संस्था स्थापना गर्नु भएकाले पनि होला मलाई यस प्रति आकर्षण गरेको थियो ।’
हुन त जागिरबाट कहिले पनि सन्तुष्टि हुदैन भन्ने भनाई छ । तर पनि म मेरो जागिरबाट अधिकतम सन्तुष्ट छु । यसले मलाई रोजगारदेखि समाजमा परिचित तुल्याएको छ । सायद यसमा प्रबेश नगरेको भए म गुमनाम भएर कतै सानो पसलमा पो सिमित हुने थिए कि ? या अल्लारेको रुपमा रहने थिए जस्तो पनि लाग्छ । उनले आफ्नो जागिरे जीवनका अनुभवका फेहरिस्त सुनाउदै थपे, ‘सामान्य पदबाट शुरु गरेको जागिर आज हाकिम रहदा सम्म पनि बिर्सन लायक दुखद अनुभव गर्न परेको छैन । यस संस्थामा सामान्य पदमा न्यून पारिश्रमिकमा कामको शुरुवात गरे र स्थापनाकालको केही महिना म एक्लै कार्यालय संचालन गर्नुपर्ने अवस्था पनि आयो । यस २१ बर्षको दौरानमा त्यति धेरै सुखद दुखद ब्यहोर्नु पर्ने अवस्था आएन यस्तो हुनुमा कुशल अनुभवी संचालकहरु, सन्तुष्ट शेयर सदस्य र सहयोगि जिम्मेवारी कर्मचारी साथीहरुको साथ पाएकोले जागिरे जीवन सुखद नै रह्यो ।’
एक व्यक्ति या संस्थाको सफलताको पछाडी केके कुरा जरुर होला त ? दुई दशक लामो अनुभवबारे राजभण्डारी भन्छन्, ‘सफलता हासिल गर्न आफनो असफलताको अनुभव गरेर होइन, अरुको असफलता हेरेर, बुझेर पाठ सिक्नु पर्छ जस्तो लाग्छ । किनकी हाम्रो निश्चित आयु छ । हामीले किन अरु असफल भए ? के कमजोरी गरे भन्ने अध्ययन गरी ती कुरा आफ्नोमा आउन नदिन आवश्यक तयारी गर्नु पर्छ । ब्यक्ति होस् या संस्थाले आफनो दैनिक या जीवनको सफलताक लागि निश्चित समय सिमा तोकेर अल्पकालिन र दीर्घकालिन कार्य योजना तयार पार्नुु पर्छ । साथै त्यसको बेला बेलामा समिक्षा मुल्याङ्कन मार्फत भएका आन्तरिक र बाह्य कमजोरी पहिचान गरि त्यसको बेलैमा सुधार गर्नु पर्ने हुन्छ । भाग्यमा होइन, कर्ममा विश्वास गर्नु पर्छ । मलाई लाग्छ कोहि सफल हुन समयले मान्छेलाई होइन, मान्छेले समयलाई परिचालन गर्नु पर्छ ।’
सहकारीमा वर्षौदेखि काम गरेका हिसावले केही गम्भीर तर रोचक शैलीमा सोध्यौ–दैनिक लाखौको कारोबार गर्नुहुन्छ । मानिसहरु पैसाकै पछाडी दौडिरहेका छन् । तपाइले यि सबै वर्षौदेखि देख्दा भोग्दा के सोच्नुहुन्छ ? उनले हाँस्दै जवाफ फर्काए–‘सायद धेरै बर्ष भएकोले होला कार्यालयमा कारोवार हुने पैसा कागजको खोस्ता जस्तो लाग्छ । अहिले करौंडो पैसा देख्दा पनि कागजको खोस्ता झै लाग्छ । शुरुवातको समयमा २–४ लाख देख्दा पनि ओहो भन्ने लाग्थ्यो । १–२ बर्ष पछि केही लाग्न छोड्यो तर जब महिना मर्न थाल्यो, २–३ हजार तलब बुझेर आफ्नो पाकेटमा राख्दा संसारको धनी म नै हो जस्तो लाग्थ्यो । साथीभाई बीच आफ्नो शान बढेको महशुस हुन्थ्यो । किन भने यो मेरो पैसा हो, यसलाई उपयोग गर्ने पूर्ण हक म माथि छ । यसलाई मैले जे पनि गर्न सक्छु । यस्तो सोचिन्थ्योे ।
मानिसहरु पैसाको पछाडी दौडिरहेका छन् । दौडिनु पर्छ । मानिसहरु पैसा पछाडी दौडिनाले हाम्रो समाजले बिकास गरेको छ । पैसालाई साधनको रुपमा लिनु पर्छ । यदि पैसा नै सब चिज हो, यसमा म र मेरो भन्ने शब्द प्रबेश गरेमा यसले विकृति ल्याउँछ । मानिसलाई कञ्जुस, लोभी बनाउँछ, त्यसले समाजमा आर्थिक सामाजिक बिकृति ल्याउँछ । मानिस पैसाको पछाडी होईन, मानिसको पछाडी पैसा दौडाउनु पर्छ । समाज विकासका लागि पैसाको महत्वपूर्ण भूमिका रहन्छ ।
जागिरे जीवन त निकै रोचक र सन्तोषप्रद रहेछ । अनि पारिवारिक जीवन पनि ? केही गम्भीर प्रश्न गर्दा पनि उनले सजिलै जवाफ दिए, ‘पारिवारिक जीवन राम्रै चलेको छ । बुबा पेन्सनवाला शिक्षक म र मेरो जीवन संगिनी सहकारीमा लामो सेवा जागिरे । सोचे झै भएको छ जिन्दगी तर पनि कहिलेकाही जीवनमा साना तिना र कहिले ठुला अवरोध आउँछ । त्यसलाई सामना गर्न सिकेको छु । घर परिवारको आवश्यकता र चाहनाले नै जागिर खाएकोले घर परिवार खुसी नै छ । सन्तुष्ट छन् ।
अन्त्यमा, दिपक राजभण्डारी स्वयम्लाई आफ्ना जिन्दगी चाही कस्तो लाग्छ ? उनी भन्छन्,–जीवन संर्घष हो, संर्घष नै जीवन हो । जीवनमा आउने चुनौतीसंग भागेर होइन, डटेर सामना गर्नु पर्छ । मैले मेरो जीवन संर्घषमा बुझेको प्रमुख कुरा के हो भने आफ्नो जीवनमा आउने समस्याहरु आफु एक्लै सामना गर्न तयार हुनु पर्छ । यदि कसैको साथले सामना गरी हल गर्छु भन्ने मानसिकता बोकियो भने त्यसले असफलता तर्फ धकेल्छ । आफ्नो समस्या आप्mनै कारणले सिर्जित भएको हो । यसलाई मैले नै हल गर्नु पर्छ भन्ने मानसिकता साथ लाग्नु पर्छ । किनकी जीवन भनेको मेरो हो, हाम्रो भन्ने निकै कम हुन्छ । -अग्रसर साप्ताहिकबाट