अन्ततःधौलागिरी अस्पताललाई नै पीसीआर मेसिन खरिदको जिम्मा

आदर्श अनलाइन, बागलुङ

धौलागिरीमा पीसीआर मेसिन राख्ने बिषयको लामो समयको अन्यौलता पछि सरकारले अस्पताललाई नै खरिद गर्ने जिम्मा दिएको छ ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको बैठकले धौलागिरी अस्पताल सहित धनकुटा र पाल्पा अस्पतालमा पीसीआर मेसिन खरिदका लागि बजेट बिनियोजन गरेको छ ।

केन्द्रबाटै पीसीआर मेसिन खरिद गरेर पठाउने बुझिए पनि शुक्रबार मात्रै जिल्ला प्रशासन कार्यालय मार्फत अस्पताल आफैलाई पीसीआर परिक्षण मेसिन खरिदका लागि एक करोड बजेट विनियोजन भएको पत्र आएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोख्रेलले बताउनुभयो । ‘अस्पतालमा पीसीआर मेसिन राख्ने निर्णय त सरकारले गरेको थियो, तर खरिद र अरु व्यवस्थापन गर्ने भन्ने बिषयमा हामीलाई शुरुवातमा जानकारीको एक पत्र बाहेक अरु केही नआउँदा अन्यौल थियो,’ डा.पोखरेलले भन्नुभयो,‘अब एक करोड बजेट बिनियोजन भइसकेको जानकारी आएको छ, अब यसको अख्तियारी आए पछि हामी मेसिन गर्ने प्रक्रिया शुरु गर्छौ ।’ अब केन्द्रबाट अस्पताललाई आर्थिक अख्तियारीको आधिकारिक पत्र प्राप्त हुँदा साथ पीसीआर मेसिन खरिदको प्रक्रिया शुरु गरेर काम अघि बढाइने उहाँले बताउनुभयो ।

मेसिन खरिद सँगै जनशक्ति समेत के कसरी व्यवस्थापन गर्ने भन्ने चूनौती रहेको उहाँको भनाई छ । यसका बिषयमा मेसिन खरिद प्रक्रिया सँगै प्रदेश सरकार लगायत सँग समन्वय गरिनेछ । अहिले धौलागिरी अस्पतालका सिनियर ल्याब टेक्नोलोजिस्ट सुरज बराल पीसीआर परीक्षणका लागि पोखरामा खटिएका छन् । पर्वत अस्पताल र म्याग्दी अस्पतालका ल्याबमा कार्यरत प्राविधिक पनि पोखरा लगिएको छ । यहाँ पीसीआर परीक्षण गर्ने भए पछि उनीहरु सबैलाई यता ल्याउने या अन्य बैकल्पिक जनशक्ति व्यवस्थापन गर्ने भन्ने बिषय पनि टुंगो लगाउनु पर्ने पोखरेलको भनाई छ ।

नेपाल सरकारले गत असारमा धौलागिरि अस्पताल सहित देशका १० वटा अस्पतालमा पीसीआर मेसिन राख्ने निर्णय गरे पनि लामो समय कुनै प्रगति नभए पछि नागरिक स्तरबाट गुनासो र आलोचना हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *