अब पीसीआर खरिदमा थप अलमल नहोस्

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९) का कारण सिंगो समुदाय आक्रान्त छ । पछिल्लो समय कोरोना संक्रमणको भयावह झन् भन्दा झन् बढेको छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या पछिल्ला दिनमा अझ बढेको छ । पहिले बिदेशबाट आएकाहरु कोरोना भाइरसबाट ग्रसित भएका थिए भने अहिले समुदाय स्तरमा धमाधम कोरोना फैलिन थालेको छ । शुरुवातिका केही महिना ७ प्रदेश मध्ये सुरक्षित र उत्कृष्ट व्यवस्थापन भएको चर्चा बटुलेको गण्डकी प्रदेशमा संक्रमित संख्या बढ्दो क्रममा छ । मृत्युदर पनि बढीरहेको छ । यसबेलामा कोरोना संक्रमितको उपचार, संक्रमितको सम्पर्कमा आएकाहरुको पीसीआर परीक्षण, अरु समुदाय स्तरमा पनि परीक्षणको दायरा बढाउनु पर्ने चूनौती अहिले देखिएको छ ।

कोरोना संक्रमणको दर बढ्दै गए पछि नेपाल सरकार मन्त्री परिषद बैठकले गत असार पहिलो साता देशका १० अस्पतालमा कोरोना परीक्षणका लागि पीसीआर मेसिन राख्ने निर्णय गरेको थियो । तर, निर्णयको दुई महिना बितिसक्दा समेत पीसीआर मेसिनका बारेमा कुनै प्रगति हासिल हुन सकेन । पीसीआर मेसिन राख्ने भनिएको धौलागिरी अस्पतालले मन्त्रीपरिषद बैठकको यहाँ मेसिन राख्ने निर्णयबारेमा जानकारी पत्र बाहेक अरु केही नआएको बताइरह्यो । र थप प्रक्रिया, प्रगतिका बारेमा निर्देश नगरे पछि मन्त्रालयगत तहबाटै पीसीआर मेसिन खरिद गरेर पठाउने तयारी भएको चर्चा भयो । यद्यपी, यो बिषयमा माथिल्लो तह पनि लामो समयदेखि अन्यौलग्रस्त रहेको रहस्य त्यतिबेला खुल्यो । जतिबेला स्वास्थ्य मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालयमा धौलागिरी अस्पताललाई नै पीसीआर मेसिन खरिद गर्न दिने निर्णय गरेको पत्र आयो । पत्रमा कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कोष सञ्चालक समितिको बैठकले १ करोड बजेट समेत बिनियोजन गरेको उल्लेख छ । तर, अझै अन्यौल र अनिश्चित के छ भने बिनियोजित बजेटको अख्तियारी कहिले आउँछ ? अनि यसको नियमित टेण्डर प्रक्रिया के कसरी अघि बढाइन्छ ? र कहिले सम्म खरिद प्रक्रिया टुंग्याएर मेसिनको व्यवस्थापन गरिन्छ ?

यि प्रश्नको जवाफमा अब फेरि धौलागिरीवासी केन्द्रित हुनुपर्ने आवश्यकता देखिएको छ । अहिलेको कठिन र संवेदनशिल अवस्थामा सरकार र यसको माथिल्लो निकायले करिब २ महिनाको अवधि यतिकै बिताइदियो । सौभाग्यबस, अहिले सम्म धौलागिरीमा आइसोलेसनमा या थप परीक्षणमा अप्रिय घटना भएको छैन । यदी त्यो अवस्था आएको भए नागरिकको गुनासो, आलोचना र आक्रोशको ग्राफ निकै बढ्ने निश्चित थियो । तर, आजको दिन सम्म कोरोना संक्रमण दर बढ्दै गए पनि त्यस्तो हुन पाएको छैन । अब विगतका ढिलाई, लापरवाही या कमजोरीहरुबाट पाठ सिक्दै अघि बढ्नुको विकल्प छैन । धौलागिरी अस्पताल अब पीसीआर मेसिन खरिद प्रक्रिया शुरु गर्नका लागि आर्थिक अख्तियारीको पर्खाइमा छ । यसका लागि मन्त्रालयले मार्ग प्रशस्त गरिदिने र धौलागिरी अस्पतालले जतिसक्दो छिटो हुने नियम संगत बाटो तय गरेर खरिद प्रक्रिया अघि बढाउनु पर्छ । यस बीचमा आवश्यक जनशक्ति समेतको यथोचित व्यवस्थापन गरेर तयारी अवस्थामा राख्नुपर्छ । जसबाट केही महिनामै धौलागिरीमै पीसीआर परीक्षण गरेर कोरोना विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउन उल्लेख्य मद्धत पुग्नेछ । -आजको जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *