सहिदका सपना जस्तै अस्तव्यस्त उद्यान !

सिर्जना पन्त, बागलुङ

बागलुङ प्रवेशद्वारबाट देखिने गरि विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएको छ । पुललाई आकर्षणको केन्द्र बनाएर बागलुङमा पर्यटक भित्राउने बागलुङबासीले सपना देखिरहेका छन् ।

बागलुङ प्रवेश गरेसँगै कालिका मन्दिरलाई बायाँ छोडेर अगाडी बढे पछि सहिद स्मृति उद्यान देखिन्छ । यही उद्यानको काखबाट पर्वतको पाङ जोड्ने ५ सय ६७ मिटर लामो झोलुङ्गे पुलले बागलुङेलाई पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने आशा छरिरहेको छ ।

तर, त्यही लामो पुलको आडमा रहेको सहिद स्मृति उद्यानले बागलुङले देखेको पर्यटन प्रर्वद्धनको सपनालाई गिज्याइ रहेको छ । उद्यानमा शहिदका शालिक छन्, बालबालिकालाई खेल्नको लागि चिप्लेटी छ, पिङ छ, युवयुवती, प्रौढ र वृद्धवृद्धा बस्नका लागि कुर्ची छन्, विश्रामस्थल पनि छन् । यद्यपी मान्छे बस्ने कुर्चिमा झार उम्रिएको छ, धुपीका बुटा भन्दा ठुला–ठुला पातीका झाडीले भरिएका छन् । यहाँ पुग्दा यस्तो लाग्छ कि सहिदका सपनाहरु जस्तै अस्तव्यस्त बनेको छ उद्यान ।

२०५७ सालमा निर्माण गरिएको उद्यानमा २००७ सालको क्रान्तिमा शाहदत प्राप्त गरेका बागलुङका शहिद थिरबम मल्ल सहित धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्दको शालिक छ । शालिक, उद्यान र त्यहाँका संरचनाको दुरावस्था देख्दा त्यहाँ पुग्ने जो कोहीको मन खिन्न हुन्छ । उद्यान २९ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

यो उद्यान मात्र होइन, बागलुङ बजार भित्रको एक मात्र ऐश्वर्य पार्कको हालत पनि उस्तै छ । जनआन्दोलनमा तोडफोड गरिएको सालिक बुच्चै छ । त्यहाँ अरु नयाँ कलात्मक मूर्ति राख्नेबारे पनि नगरपालिकाको कुनै योजना देखिन्न । अहिले दुवै तर्फबाट सडक विस्तार गरेर अझ साँघुरिएको छ पार्क । भित्रका फूल र बृक्षहरु सहित पार्कको संरक्षणमा पनि उति धेरै ध्यान नदिएको नगरवासी गुनासो गर्छन् ।

यो उद्यान मात्र होइन, बागलुङ बजार भित्रको एक मात्र ऐश्वर्य पार्कको हालत पनि उस्तै छ । जनआन्दोलनमा तोडफोड गरिएको सालिक बुच्चै छ । त्यहाँ अरु नयाँ कलात्मक मूर्ति राख्नेबारे पनि नगरपालिकाको कुनै योजना देखिन्न । अहिले दुवै तर्फबाट सडक विस्तार गरेर अझ साँघुरिएको छ पार्क । भित्रका फूल र बृक्षहरु सहित पार्कको संरक्षणमा पनि उति धेरै ध्यान नदिएको नगरवासी गुनासो गर्छन् ।

बागलुङ नगरपालिकाले भने उद्यानको लागि भनेर पछिल्ला वर्षमा शहरी शासकीय क्षमता सुधार कार्यक्रम अन्र्तरगत करिब १ करोड रुपैयाँ खर्च गरेको छ । भौतिक संरचना निर्माण, वृक्षारोपणमा लगानी गरिए पनि उचित संरक्षण र व्यवस्थापन नहुँदा लगानी खेर गएको छ । उद्यानको साजसज्जा चलिरहेका बेला पुल निर्माण अघि बढाइए पनि उद्यान फेरी पुरानै विजोग अवस्थामा फर्किएको हो ।
सामाजिक उत्तरदायित्व अन्र्तगत प्रभु बैंकले पनि सोही उद्यानमा लगानी गरेको थियो । उद्यानमा बगैचा निर्माण, वृक्षारोपण र संरचना निर्माणका लागि ४० लाख रुपैया लगानी गर्ने योजना सहित बैंकले बागलुङ नगरपालिकासँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार काम अगाडी बढाएर १४ लाख ७५ हजार रुपैयाँ लगानी गरिसकेको भए पनि बैंकले गरेको लगानी अनुसार सुरक्षा नभएकाले काम रोकेको प्रभु वैंकका धौलागिरी उपक्षत्रिय प्रमुख अमरज्योति गिरीले बताउनुभयो । लगाएका विरुवा चोरी हुने, बनाएका संरचना तोडफोड हुने, सहज रुपमा काम गर्ने बतावरण नभए पछि बैंकले काम रोकेको उहाँको भनाई छ । पहिलो वर्ष ४० लाख र त्यसपछि पनि निरन्तर बजेट आउने योजना भए पनि बागलुङ नगरपालिकाले उद्यानको संरक्षण र रेखदेखको सुनिश्चितता नगरेको कारण बागलुङ नगरपालिका सँग गरेको सम्झौता तोडेर बुढानिलकण्ठ नगरपालिका सँग साम्झौता गरि काम अगाडी बढाइ सकिएको उहाँले बताउनुभयो ।

बागलुङ नगरपालिकाका नगर प्रमुख जनकारज पौडेलले झोलुङ्गे पुल र उद्यानको काम सँगै गर्दा निर्माण सामग्रीको संरक्षण, व्यवस्थापन र अप्ठ्यारो पर्ने भए पछि उद्यानको काम रोकेर पुल निर्माणको काम पहिलो चरणमा सम्पन्न गरेको बताउनुहुन्छ । ‘पुल निर्माण कार्य अगाडी बढ्दा गिट्टी, बालुवा, रड जस्ता निर्माण सामग्री उद्यानमा राखेर गर्नुपर्ने भयो,’ पौडेलले भन्नुभयो ‘त्यसैले पुल निर्माण सम्पन्न भए लगत्तै उद्यानको काम सुरु गर्ने गरि तत्कालिन समयमा काम रोकिएको हो ।’ पुलको निर्माण कार्य सम्पन्न भए पनि कोरोना महामारीको कारणले उद्यान व्यवस्थापनको काम सुरु गर्न नसकिएको उहाँको भनाई छ । उद्यान र पुल प्रवेशको प्रवेशद्वार निर्माण, उद्यानमा निर्माण सम्पन्न भइसकेका संरचनाको सुरक्षा र संरक्षण सँगै पुनःनिर्माण र अन्य कार्यहरु केही समयमै शुुरु गरिने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *