नेपालमा काेराेनाबाट ज्यान गुमाउनेको संख्या २ सय २८ पुग्यो

आदर्श अनलाइन,काठमाडाै
नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालभरी ८ सय ९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । डा.गौतमका अनुसार गत २४ घण्टामा नेपालका विभिन्न स्थानमा रहेका प्रयोगशालामा ११ हजार ४ सय ९० जनाको नमुना परीक्षण गरिएको थियो । संक्रमितमध्येमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेको उनले बताए ।

योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३९ हजार ४ सय ६० पुगेको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको कुल संख्या १७ हजार ८ सय २२ रहेको छ । त्यस्तै कोरोनामुक्त हुने संक्रमितको कुल संख्या २१ हजार ४ सय १० पुगेको छ ।

देशभरीमा १ सय ३२ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ । मुस्ताङ तथा हुम्ला कोरोना शुन्य जिल्ला हुन् । त्यस्तै काठमाडौं सहित ललितपुर, सर्लाही, बारा, रौतहट, पर्सा, धनुषा, रुपन्देही, चितवन, महोत्तरी, तथा मोरङमा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा महोत्तरीकी ४ वर्षीय बालिका सहित भक्तपुर, रौतहट, झापा तथा चितवनका १/१ जना रहेका छन् ।

त्यस्तै गोरखा तथा रुपन्देहीका २ जना महिलाको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । यससंगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या २ सय २८ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *