बागलुङ बजारको कहर : पानी आउदै नआउने, आए दुषित !

आदर्श अनलाइन/बागलुङ
बागलुङ बजारका वासिन्दा दुषित पानी पिउन बाध्य भएका छन् ।

बजारका स्थायी वासिन्दा र बाहिरबाट आएका हजारौ उपभोक्ता अहिले पानी नआउने र आए पनि धमिलो दुषित पानी आउने समस्याबाट आजित छन् ।

पानी नआउने र धमिलो पानी आउने समस्या टार्न बजारबासी आसपासका बिभिन्न क्षेत्रमा पुग्ने गरेका छन् । तर, खानेपानी वितरणको जिम्मेवारी पाएको बागलुङ नगर खोनेपानी उपभोक्ता संस्थाले भने बर्षा पछिको बाढी, पहिरोले अबरोध गर्ने बाहेक अन्य समयमा पानीको नियमित आपुर्ति गरिरहेको दावी गरेको छ ।

बजारमा बस्ने ठुलो संख्या मध्येका महिलाहरु पछिल्लो केही समय यता खानेपानीका लागि पाखाथर, तित्याङको फड्केडाँडा लगायतका ठाउँमा पुग्ने गरेका छन् । ‘नियमित रुपमा पानी नआउने समस्या बढेको छ, आईहालेमा पनि धमिलो पानी आउँछ’ बागलुङ नगरपालिका–१ रामरेखाका करुणा सुवेदीले भन्नुभयो,‘पाँच दिन यता धाराको पानी प्रयोग गरिएको छैन, जारको पानी खरिद गरेर कति समय चल्ने हो ?’ धमिलो पानीले भाडाँकुडा धुन, सरसफाई गर्न समेत समस्या भएको उहाँको गुनासो थियो ।

नगरको खानेपानीमा कयौ पटक कोलिफर्मको मात्र भेटिने गरेको स्वास्थ्य कार्यालयले गरेको अध्ययनले पनि पुष्टि गरेको छ । बर्खाको समयमा पहिरोका कारण खानेपानी वितरण पाईप फूट्ने कारण नियमित खानेपानी आपुर्ति गर्न नसकिएको नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रवन्धक हिमाल शर्माले स्विकार गर्नुभयो । ‘हामीले रातभर काम गरेर पनी खानेपानीको सहज आपुर्ति गर्ने प्रयास गरिरहेका छौ,’ प्रबन्धक शर्माले भन्नुभयो, ‘पानीको नियमित आपूर्ति नहुँदा सम्म पानी प्रशोधन गृह सञ्चालन गर्न सकिदैन ।’

आकासे पानी परेको १ हप्ता सम्म धारोमा लेदो पानी आउने समस्या छ । ‘वर्षातको समयमा धारामा धमिलो पानी आउनु अहिलेको समस्या नभई वर्षौ देखिको समस्या हो, हामी शुद्ध पानी पिलाउने सम्भावित विकल्पका बारेमा प्रयासरत छौं’ प्रवन्धक शर्माले थप्नुभयो, ‘एक वर्षपछि मात्र नगरवासीलाई शुद्ध पानी वितरण गर्न सकिन्छ ।’ साना प्रशोधन गृहले पानी शुद्धिकरण गर्न नसकेका कारण ठूलो प्रशोधन गृह निर्माण गरीरहेको खानेपानी संस्थाले जनाएको छ ।

हाल डिभिजन खानेपानी कार्यालय र बागलुङ नगर खानेपानी संस्थाको ४५ करोड रुपैयाँको लागतमा काठेखोलाको पानी लिफ्ट मार्फत प्रशोधन गरी वितरण गर्ने आयोजना निर्माणको काम भइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकाराज पौडेलले जानकारी दिनुभयो । ‘बागलुङमा लामो समयदेखि पानीको चरम समस्या भएको हामीलाई बोध छ । त्यसैले दीर्घकालिन समाधानका लागि ठुलो आयोजना निर्माण गर्न लागेका हौं’ नगर प्रमुख पौडेलले भन्नुभयो, ‘खानेपानी संस्थाको व्यवस्थापकीय कमजोरीका कारण उपभोक्ता मारमा परेका कारण लिफ्ट योजना ल्याएका हौं ।’

पानी धमिलो भएको विषयमा बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीसँग धेरै पटक गुनासो गरे पनि सुनुवाई र सम्बोधन नभएको उपभोक्ताको आरोप छ । खानेपानीलाई नियमित रुपमा शुद्ध पानी वितरण गर्न उच्च अदालत पोखरा बागलुङ इजलासले समेत नगर खानेपानी उपभोक्ता संस्थाको नाममा परमादेश जारी गरेको थियो । अदालतका मुख्य भई काम गर्ने तत्कालिन न्यायधिश शेषराज सिवाकोटी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले २०७५ भाद्र १८ गते परमादेश जारी गरेको हो । अदालतको परमादेशको समेत खानेपानी संस्थाले अवज्ञा गरेको छ । ‘खानेपानी संस्थाका नाममा उच्च अदालतले नियमित रुपमा स्वच्छ, सफा पिउन योग्य पानीको व्यवस्था गर्न र पानी नआउदाको दिनको महुशुल कटाएर तिर्ने व्यवस्था गर्न परमादेश जारी भएको थियो,’ उच्च अदालत बागलुङ बारका उपाध्यक्ष बद्रिप्रसाद शर्माले भन्नुभयो,‘अहिले बजारमा खानेपानीको समस्या फेरी चरम देखिएको छ, मैले पनि फोन गरेर ध्यानाकर्षण गराएको छु, नत्र अदालतमा अवज्ञाको मानहानी मुद्वा लिएर जान्छु ।’ अदालतले नगर खानेपानी संस्था सहित डिभिजन खानेपानी कार्यालय र बागलुङ नगरपालिकालाई समेत यथोचित समन्वय र भुमिकाका लागि निर्देश गरेको छ ।

पानी नआउने र धमिलो पानी आउँदा अस्पताल सञ्चालनमा समेत समस्या भइरहेको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले बताउनुभयो । ट्यांकरको पानी खरिद गरी अस्पताल चलाउनु परेको पोखरेलको भनाई छ । पोखरेलका अनुसार फोहोर पानीका कारण अस्पतालमा झाडापखाला, आउँ तथा टाइफाइडका बिरामीको संख्यामा वृद्धि भएको छ । धमिलो पानी प्रयोग नगर्न, सके सम्म उमालेर मात्र पानीको प्रयोग गर्न उहाँको सुझाव छ । बागलुङ सदरमुकाममा दैनिक करिब ३२ लाख लिटर खानेपानी आवश्यक पर्ने भए पनि आवश्यकताको आधा मात्र पानीको आपुर्ति हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *