गरिवी हटाउन सहकारीसंग साझेदारी गरौ : सांसद गिरी

आदर्श अनलाइन/पर्वत
प्रतिनिधिसभाका सदस्य पदम गिरीले राज्यले लिएको समृद्धिको अभियानलाई सफल पार्नका लागि सहकारी र स्थानीय सरकारबीचको समन्वय र सहकार्यमा जोड दिनु भएको छ ।

पर्वतको जलजला गाउँपालिका वडा नं. ८ मा क्रियाशिल नाग्लीबाङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभाको बिहीवार उद्घाटन पछि बोल्दै सांसद गिरीले यस्तो बताउनु भएको हो ।

राजनीतिक परिवर्तन सकियो, अव सबैको ध्यान आर्थिक परिवर्तन र सामाजिक रुपान्तरणमा जान आवश्यक छ, सांसद गिरीले भन्नुभयो यसको लागि सबै भन्दा उपयुक्त माध्यम सहकारी भएकाले सरकार र सहकारीबीच सहकार्य आवश्यक छ ।

स्थानीय स्रोतको अधिकतम उपयोगका लागि सहकारीको विकल्प नभएको भन्दै उहाँले सहकारीले आर्थिक सामाजिक रुपान्तरणमा खेल्न सक्ने भूमिका बारेमा सबै भन्दा सचेत र समन्वयकारी भूमिका स्थानीय सरकारले खेल्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सबै जनतालाई आर्थिक रुपमा सम्पन्न र सामाजिक रुपमा सचेत तथा सक्षम बनाउनका लागि सहकारीले सञ्चालन गरेको विधि र पद्धती उपयुक्त हुने धारणा राख्नु भयो । समृद्धिका लागि जनतालाई काम चाहिएको छ, अल्प रोजगार होइन, स्वरोजगारको अवधारणा ल्याएर जनतालाई उत्पादनमा केन्द्रीत गराउने, सहकारी संस्थाहरुलाई संकलनको जिम्मेवारी दिने र राज्य र सहकारीका जिल्ला तथा केन्द्रीय संघहरुले बजारीकरणको व्यवस्थापन गर्नु पर्ने उहाँको सुझाव थियो । अनुदान दिने प्रणाली पूर्ण रुपमा खारेज गरी उत्पादनका आधारमा सहयोग गर्ने प्रक्रिया तत्काल शुरु गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडि, संस्थाका सल्लाहकारहरु रुद्रबहादुर महत, गगन बहादुर महत, तुलबहादुर केसी, पूर्व अध्यक्ष खिमबहादुर बाँनिया, लेखा समिति सदस्य सरस्वती जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष महेन्द्र रेग्मीको अध्यक्षता, सल्लाहकार सोमबहादुर जिसीको स्वागत र लेखा समितिका संयोजक अनिता कुमारी पौडेल रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

साधारणसभामा शेयर सदस्यहरुका छोरा छोरी मध्ये नाग्लीबाङमा जन्मिएर हाल त्रिवी शिक्षण अस्तपाल काठमाडौंमा स्त्री तथा प्रसुती रोग सम्बन्धी कार्यरत डाक्टर सन्दिपकुमार शर्मा, जेष्ठ नागरिकहरु जयश्वरी महत, मोतिप्रसाद जिसी र जैसरा पौडेल, जेष्ठ शेयर सदस्य टोपबहादुर सापकोटा, उत्कृष्ट कर्मचारी, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । यस्तै गत आर्थिक वर्षमा सुत्केरी भएका शेयर सदस्यहरु संगिता महत रोकाहा र लक्ष्मी केसी जिसीलाई पोषण भत्ता उपलब्ध गराइएको थियो ।

साधारणसभाले संस्थाका सचिव तारादेवी महतद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष दुर्गाकुमारी शर्मा महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको सल्लाहकार सोमबहादुर जिसीले जानकारी दिनुभयो ।

२ सय १८ जना शेयर सदस्य रहेको संस्थामा ९७ लाख शेयर रकम, ९५ लाख वचत, २ करोड २० लाख कर्जा लगानी रहेको प्रवन्धक सन्दिप केसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *