ढोरपाटनका बाढी पीडितलाई गण्डकी प्रदेश सरकारको राहत

तस्बीरः बाढी प्रभावित क्षेत्र ढोरपाटनमा राहत सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री लगायत ।

अस्थायी आवासका लागि तत्काल प्रति परिवार १ लाख दिइने

आदर्श अनलाइन,बागलुङ

जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राति आएको बाढीबाट प्रभावित र ज्यान गुमाएका परिवारलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ ।

हेलिकप्टर मार्फत बाढी प्रभावित स्थल ढोरपाटन पुगेका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला मन्त्री हरिबहादुर चुमान, प्रदेश सांसद खिमबिक्रम शाही, इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा लगायतको टोलीले बाढी प्रभावित परिवारलाई राहत बितरण गरेको हो ।

प्रदेश सरकारका तर्फबाट बाढीमा बाँचेका तर घर गुमाएर विस्थापितहरुका लागि टेन्ट, मेट्रेस, भाँडाकुँडा, प्राथमिक उपचारका सामग्री लगायत राहत सामग्री प्रदान गरेको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिए ।

बाढीमा ज्यान गुमाएका परिवारलाई प्र्रति व्यक्ति ५० हजारका दरले राहत उपलब्ध गराइएको प्रदेश सांसद इन्द्रलाल सापकोटाले जानकारी दिए । ‘अहिले पनि खोज उद्धारको काम चलिरहेको छ, ठुलो संख्यामा बेपत्ता छन्, त्यसैले केही मात्रामा राहत बितरण गरियो,’ सांसद सापकोटाले भने, ‘अरु थप रिपोर्ट आए पछि जिल्ला प्रशासन कार्यालय मार्फत पीडित परिवारलाई राहत पु¥याइनेछ ।’
राहत सामग्री हस्तान्तरण पछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढी प्रभावितहरुको अस्थायी बसोबासका लागि तत्काल १ लाख रुपैयाँ सहयोग गर्ने उद्घोष समेत गरे । यसमा पालिका र संघको पनि सहयोग रहने उनले बताए । स्थायी आवास निर्माणका लागि संघ सरकारले उपलब्ध गराउने प्रति परिवार ३ लाख रुपैयाँमा गण्डकी प्रदेशले समेत थपेर सहयोग गर्ने मुख्यमन्त्री गुरुङको भनाई छ । बाढी प्रभावितहरुको पक्की र भूकम्प प्रतिरोधी आवास बन्नुपर्नेमा जोड दिदै अब सुरक्षित स्थानमा एकिकृत वस्ती बनाउने प्रदेश सरकारको योजना रहेको उनले बताए ।

‘अहिले तत्कालको राहत स्वरुप केही सहयोग गरेका छौ । अरु धेरै काम प्रदेश सरकारले गर्नेछ’, उनले भने–‘भुजीखोलाको किनार आफैंमा जोखिमपूर्ण ठाउँ थियो र यो विपत्ति हामीमाथि आइप¥यो । अब विस्थापितलाई सुरक्षित स्थानमा एकीकृत बस्ती बनाएर राख्नुपर्छ, यो कामका लागि प्रदेश सरकारले काम सुरु गर्न बिलम्व गर्ने छैन ।’ बाढी गएकै दिन घटनास्थल पुग्ने चाहना भए पनि मौसमी प्रतिकूलता बाधक बनेको भन्दै मुख्यमन्त्री गुरुङले स्थानीय सँग क्षमा समेत मागेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *