राम सुवेदी
हामीकहाँ पर्ने विपद् भनेको बाढी, पहिरो, डुवान, आगलागी, खडेरी र भूकम्प मुख्य सवाल हुन् । प्रायः हर समय यस्ता विपत्ति र अफ्ठेराहरु हामीबीच गुज्रिरहेका हुन्छन् । यसो हुँदा हुँदै पनि हामी, हाम्रा संयन्त्र, राज्य तह र समुदायले समेत खास तयारी, पूर्व सावधानी, जोखिम न्यूनिकरणमा अपनाउनुपर्ने उपाय, जनता सचेतिकरण, विपद् परिहालेको खण्डमा विपद् जोखिम न्यूनिकरण सम्बन्धि क्रियाकलापलाई सुसूचित ढंगले अघि बढाउन नजान्नु नै मुख्य चुनौती बनेको छ । खोज्दै जाँदा नेपालले सन् १९८० को दशकको सुरुवातका विपद् जोखिम व्यवस्थापनका लागि नीति तथा कानुनी वातावरण निर्माण गर्दै नेपाल दक्षिण एशियामै यस्तो कार्य सम्पन्न गर्ने पहिलो मुलुकको सूचीमा परिसकेको भन्ने भेटिन्छ ।
त्यसपछि सन् २०१३ को राष्ट्रिय विपद् प्रति कार्य ढाँचाले सरकारी तथा गैरसरकारी निकायका भूमिका र जिम्मेवारीलाई प्रष्ट पार्दै विपद् पूर्वतयारी तथा प्रतिकार्यको प्रभावकारी समन्वयलाई प्रर्वद्धन गर्ने कार्य राज्यस्तरमा संस्थागत गरेको भन्ने पनि छ । तर, त्यसपछिको ७ वर्षसम्म विपद व्यवस्थापन गुरुयोजना सरकारी नीति कार्यक्रम र योजनाहरु कम पर्दछन् । अर्थात राज्यको सूचीमा सामान्य दर्ज बाहेक केही गरिएको पाइदैन । हामीले स्थानीय तहको वजेट निर्माण प्रक्रिया र नीति कार्यक्रम पेश गरिएको तीन वर्षे योजना हेरिसकेका छौं । कतिपय स्थानीय तहले धौ—धौ सँग करोड हाराहारीमा सोलोडोलो विनियोजन गर्ने तर खर्च कसरी गर्ने भन्ने विधि तय नगरिएको अवस्थामा वितरण प्रणालीमा समेत त्रुटि देखिने तमाम उदाहरण पाइएका छन् ।
विपद्ले सबैभन्दा ठूला र स्रोत सम्पन्न सरकारलाई समेत अप्ठेरो परिस्थितिमा उभ्याइदिन्छ । १५ वर्षअघि अमेरिका समुन्द्रि आँधी कट्रिनाबाट पीडित बन्यो । अमेरिका आज सम्म पनि त्यसको पुनरुत्थानमा जुटिरहेको देखेका छौं । २०७२ सालको भुकम्पले हामीलाई नै थला पा¥यो । हामी त्यो शैयाबाट अझै उठ्न नसकेकै हो । प्रत्येक वर्ष वर्षात्को समयमा बाढी पहिरोले जनधनको उति क्षति पु¥याएको हुन्छ । तर, त्यसको उचित निदान तर्फ कसैको ध्यान जाँदैन र गएको छैन ।
आदर्शतः विपद् व्यवस्थापन, जोखिम न्यूनिकरण र सचेतनाका लागि राज्य स्तरको ठोस कार्यक्रम बनिबनाउ हुनुपर्ने हुन्छ । तिनको क्षेत्राधिकार पूर्वतयारी देखि पुनरुत्थान सम्मको विपद् व्यवस्थापनको पूर्ण चक्रलाई सम्बोधन गर्ने गरि योजना बन्नु पर्दछ । समस्यामा आशु झार्ने, समस्या छैन कि भनेर विपद् निम्तिने गरि राज्य तहका विकासे योजना बन्नु बनाइनुको औचित्यमा कहिल्यै बहस गरिएको छैन । खासगरि स्थानीय निकायहरु नै अझ बढि चनाखो, चतुर र सवाल प्रति सजग हुनुपर्ने हो । यस्ता निकाय आफ्नो कार्य सञ्चालन प्रति जवाफदेही र पारदर्शी हुनुपर्छ । साथै, तिनीहरूले पूर्वाग्रहरहित र आवश्यकतामा आधारित विधि अपनाउनुपर्छ र राजनीतिक दबाबबाट सक्दो बच्नुपर्छ ।
विपद् जोखिम न्यूनिकरणका लागि हामी बीचको साझेदारी अमेरिका र नेपालको ७० वर्ष पुरानो सम्बन्धको केन्द्रीय हिस्साका रूपमा रहेको देखिन्छ । उसले प्रति कार्य र पुनरुत्थानका प्रयत्नलाई समर्थन गर्नका लागि हामी नेपालको साथमा छौँ । यत्ति भनिदिएको भरमा हाम्रो राज्य मस्त निद्रामा रहनु राज्य प्रणालीलाई कोमामा धकेल्नु होईन र ? यदि त्यसो हुँदैन्थ्यो भने राष्ट्रिय स्तरमा निर्माण भएको विपद प्रति कार्य कार्यविधिले तय गरेका सवाल, जिल्ला विपद् व्यवस्थापन तथा प्रति कार्य टिमले गर्नुपर्ने समुदाय स्तरको भूमिकामा आएका कमिकमजोरी, स्थानीय तहले विकासे योजना बनाउँदा जहाँ पायो, त्यही लगाइएका डोजर आतंकको परिणाम सधै जनता मार्ने धरापमा परिणत कसरी भइरहेको छ ?
होइन भने आजको विपद् समस्या केही प्राकृतिक स्वरुपका होलान् । त्यसको कही कतै जड देखिएका छन् भने त्यो हामी आफ्नै अर्कमण्यताले जन्माएको विकराल रुप हो । सहज स्विकार गरौं । जे जे गल्ती कमजोरी आज आफ्नै आँखाका आशु बनिरहेका छन् । यसको उचित व्यवस्थापन, व्यवस्थापनको जानकारी र न्यूनिकरणमा आजैबाट लागौं ।
कसरी गर्ने त विपद् व्यवस्थापन ? केही विज्ञका राय छन् । केही राज्यले बनाएका मापदण्ड र कानुनी प्रावधानहरु छन् । केही आफैले जाने र वस्तुस्थिति अनुसार बन्नु बनाइनु पर्ने आफ्ना योजना र कार्यक्रम पनि जरुरी छ । जोखिमको कारण, स्तर वा अवस्था र त्यसबाट हुन सक्ने क्षतिको अनुमान गर्न र जोखिम घटाउन गर्नुपर्ने कार्यको पहिचान हुनु आवश्यक हुन्छ । जोखिम बढाउने अवस्थालाई मात्र हटाउन सके पनि विपद् व्यवस्थापनको मुख्य उदेश्य पूरा हुन सक्छ । प्रकोपलाई रोक्न सकिएमा वा प्रकोपलाई विपद्मा परिणत हुनबाट रोक्न सकियो भने पनि विपद् जोखिम स्वतः न्यून भएर जान्छ ।
यसका लागि समुदायबाट दैनिक उत्पादन हुने फोहोर मैलाको समुचित व्यवस्थापन, प्रदूषण नियन्त्रण गरेर सुरक्षित वातावरण निर्माण गरि सुरक्षित आवासको व्यवस्था गर्न सके महामारीजन्य विपद्बाट बच्न सकिन्छ । सम्भावित विपद्बाट बच्नका लागि घर परिवार तथा समुदायमा प्रयाप्त खाद्यान्न, औषधी आदिको सञ्चय गर्न सकेमा विपद्को प्रभाव न्यून गर्नमा मद्दत मिल्छ । भौगोलिक क्षेत्र र सम्भावित विपद्को अवस्थाअनुसार उपयोग हुन सक्ने लाइफ ज्याकेट, टर्च लाइट, सियो धागो, बेल्चा, कुटो कोदालो, खुकुरी, डुङ्गा, ट्युव, टायर डोरी र अन्य आवश्यक औजार तथा सामाग्रीको सञ्चय समुदाय तथा परिवार स्तरमै गर्न सके विपद्को नकारात्मक प्रभावबाट बच्न सकिन्छ । यसको विषयमा नागरिक तहसम्म सतेतना जगाउन आवश्यक हुन्छ ।
यदि विपद् आइलाग्यो भने, सर्वप्रथम गर्नुपर्ने कार्य भनेका उद्धार तथा राहत नै हुन् । जति छोटो समयमा उद्धार तथा राहत कार्य सञ्चालन गर्न सकियो त्यति नै जनधनको क्षति कम गर्न सकिन्छ । विपद्को पहिलो घण्टा भित्र गरिने उद्धारबाट धेरै मानिसको ज्यान जोगिने सम्भावना बढ्छ । विपद्को पहिलो उद्धारकर्ता भनेको समुदायका सदस्य नै हुन् । सरकारीस्तरबाट आउने उद्धार तथा राहतको टोली त त्यस पछि मात्र आउने हो । तसर्थ समुदायका सदस्यमा उद्धार तथा राहत कार्यको जानकारी तथा सीप हुन जरुरी छ । त्यसका लागि स्थानीय तहले समयमै विपद व्यवस्थापनर उद्धारका विषयमा समुदाय स्तरमा सिकाउन जरुरी छ ।
यसैगरि, समुदायको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक पक्षमा सकारात्मक परिवर्तन ल्याउन विपद् पछि पुर्नस्थापनाका कार्य गर्नुपर्ने हुन्छ । विपद् पूर्वको अवस्थामै समुदायलाई ल्याउने कार्य नै पुर्नस्थापना हो । साथै भविष्यमा आइपर्ने थप विपद्का घटनाबाट बचाउने गरी पूर्व अवस्थाको सिर्जना गर्नुपर्छ । विपद्का कारण अत्तालिएको समुदायका सदस्यको मानसिक अवस्था समेत कमजोर भएको हुन्छ । यस्तो अवस्थामा भविष्यमा सुरक्षित जीवनयापन गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सामाजिक मनोपरामर्श कार्य गरी मानसिक रूपमा समुदायलाई सबल बनाइ राख्नुपर्छ । तब मात्र विपतबाट मान्छेले राहत पाउँछ ।
त्यसपछिको कुरा भनेको विपद्बाट भएको संरचनागत क्षतिलाई पुर्ननिर्माणको प्रक्रियाबाट पूर्ववतः अवस्थामा ल्याउन समुदायको महत्वपूर्ण भूमिका हुन्छ । स्थानीय साधन, स्रोत र सीपको प्रयोगबाट पुनः निर्माणलाई मितव्ययी र प्रभावकारी ढङ्गबाट सम्पन्न गर्न सकिन्छ । विपद्को कारण समुदायमा आर्थिक तथा सामाजिक समस्या उत्पन्न भएको हुन्छ । विपद्बाट गुमेको रोजगार तथा जीविकोपार्जनका क्षेत्रमा भएको क्षतिबाट सिर्जित असामान्य अवस्थालाई सामान्य तुल्याउन वैकल्पिक स्रोत पहिचान गर्नुपर्छ ।
नेपाली समाजमा विपद्मा राजनीति गरिन्छ । विपद्मा सामाजिक राजनीति गर्ने परिपाटी र संस्कार नेपालमा अझै विकास भएको पाइदैन । मान्छेको मृत्यु भएको छ । परिवारका सदस्यहरु शोकमा छन् । ओत भत्केको छ । भोको पेटमा के हाल्ने भन्ने छैन । तर हाम्रो राजनीति अभाव, दवाभ र प्रभावमा बाँचीरहको असामाजिक नकचरो साधना हो भन्ने वर्तमानका राजनीतिकर्मीले देखाउँछन् । सामाजिक न्यायको सिद्धान्त सम्म त राजनीति गर्नेले पढे हुथ्यो होला नी ? नागरिकको अभावका रातो तुल होईन, राहत, उद्धार, सहयोग र सान्त्वना आवश्यक हो भन्ने मानवीय मूल्य मान्यताले त्यो गिदि एकछिन मन्थनीय के फरक पर्छ र ? उनीहरुलाई लाग्छ, राजनीति एकथान रातो तुलमा बाँधेर हावामा उडाइएका रकेट हुन् । जो, तिनै अभावमा बाँचेका मान्छेहरुलाई ताकेर फालिदिए उपग्रह पुगिन्छ । हाम्रो सामाजिक मूल्य, मान्यताले उच्च पदमा आसिनहरु जो, जस प्रति जनताको अहम विश्वास छ । उनीहरुलाई उँचो कदको मान्दै आइएको छ । मानवीय निष्ठा, आदर, सत्कार र सद्भाव सबैको प्रिय चिज पनि हो । मान्छेले जनमनको विश्वास जति लियो । उति सामाजमा प्रतिष्ठित हुने, सहानुभूति प्राप्त हुने, सद्भावना बढ्ने, व्यत्तित्वको शाख बढ्ने र श्रद्धा अनुभूत गराउने शान पनि हो । राजनीतिमा यस्तै शान नभएसम्म सामाजिक मूल्य मान्यता भएको शासन व्यवस्था, त्यसले अंगिकार गरेका नीति, विधि र कार्यसम्पादनका प्रक्रिया अन्ततः सबै फेल हुन्छन् ।