कविता

सुप्रिया शर्मा
आँखामा छल्बलाउने, मनलाई खल्बलाउने,
ओहो, कति बैमानी यी लुकेका सपना ।।

रातलाई पनि रंगिन बनाइदिने,
सुक्न लाग्या बिरुवामा पानी खनाइदिने,
अनि छिनभरमै बिस्तारै हराइदिने,
उफ्, कति बैमानी यी लुकेका सपना ।।

बिस्तारै ओठमा मुस्कान केर्दिने,
सफलताको सप्कोले सर्लक्क बेर्दिने,
अनि छिनभरमै आफ्नो रुप फेर्दिने,
उप्m, कति बैमानी यी लुकेका सपना ।।

बिस्तारै आशाका कदमहरु अगाडि सार्दिने,
पूरा हुन्छन् कि कतै भन्ने भ्रम पार्दिने,
अनि छिनभरमै आशाको दियोलाई मार्दिने,
उफ्, कति बैमानी यी लुकेका सपना,
उफ्, कति बैमानी तिमी लुकेका सपना ।।

यो पनि पढ्नुहोस्