पल र दुर्गेशले दिए बाढीपीडितलाई राहत

आदर्श अनलाइन, बागलुङ

अभिनेता पल शाह, गायक दुर्गेश थापालगायतको टोलीले ढोरपाटनका बाढी प्रभावित परिवारका लागि आज राहत प्रदान गरेको छ ।

पल शाह फाउण्डेशन र ‘हाम्रो टिम नेपाल’को तर्फबाट नगद रु. ५० हजारसहित खाद्यन्न, लत्ताकपडा र स्टेशनरी सामग्री प्रदान गरिएको हो ।

राहत सामग्रीमा ३० बोरा चामल, ३० जोर सिरक÷डसना, नुन, तेल, कापी, कलमलगायत छ । अभिनेता शाह र गायक थापाले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई राहत हस्तान्तरण गरेका थिए ।

“बाढी प्रभावितलाई मानवीय सहायता पु¥याउने उद्देश्यले काठमाडौँदेखि यहाँ आयौँ”, अभिनेता शाहले भने, “अरुको दुःखमा साथ दिनु हामी कलाकारको पनि दायित्व हो ।”

आफ्नै गृहजिल्लामा बाढीले ठूलो जनधनको क्षति पु¥याएको थाहा पाउनसाथ राहत लिएर जाने योजना बनेको गायक थापाले बताए । काठमाडौँबाट तीन दिन लगाएर ढोरपाटन पुगिएको उनको भनाइ छ ।

नगरप्रमुख नेपालीले राहत सामग्री यथाशिघ्र बाढी प्रभावित परिवारसम्म पुग्ने गरी प्रबन्ध मिलाइने बताए । नगरपालिकामा सङ्कलित राहतलाई एकद्वार प्रणालीबाट वितरण गरिने भएको छ । बाढीग्रस्त क्षेत्रमा पुग्ने सडक भत्केका कारण पनि तत्काल राहत पु¥याउन कठिनाइ भइरहेको छ ।

अभिनेता शाहले यसअघि कालिकोटलगायतका ठाउँमा पुगी पहिरो प्रभावित परिवारलाई राहत वितरण गरेका थिए । ‘हाम्रो टिम नेपाल’सँग मिलेर उनले काठमाडौँमा गरिब, मजदुर र असहायलाई भोजन पनि गराउँदै आएका छन् ।

सामाजिक सेवाको उद्देश्यले पल शाह फाउण्डेशन खोलेको उनको भनाइ छ । अभिनेता शाहले कोरोनाका कारण आम्दानी गुमाएका चलचित्र प्राविधिकहरुका लागि हालै रु. पाँच लाख सहयोग गरेका थिए ।

अभिनेता शाह र गायक थापाले बाढीमा परी ज्यान गुमाएका गलकोट नगरपालिका–४ का नवीन भण्डारीको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् । बाढीमा बेपत्ता भण्डारीको शव एकसातापछि बुधबार बडिगाड खोलामा भेटिएको थियो । उनको आजै अन्त्येष्टी गरिएको छ ।

यही भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले ढोरपाटन नगरपालिका–९, ८ र ७ मा ठूलो क्षति पु¥याएको छ । बाढीमा परी ज्यान गुमाउनेको संख्या २२ पुगेको छ भने १६ अझै बेपत्ता छन् । बेपत्ताको खोजी जारी छ ।

बाढी प्रभावित परिवारको राहत एवं पुनःस्थापनाका लागि देश–विदेशमा सहायता अभियान थालिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *