निसीका कृषक उर्फ ‘गोपी सर’

डम्मर बुढा मगर, बागलुङ
बारीभरी लटरम्म फलेका गोलभेडा, कलकलाउँदा सागसब्जी र टिपेर खाउँखाउँ लाग्ने फलफूलहरु । यहाँ पुगेर देख्दा सबैलाई लाग्न सक्छ,यो त अनुभवी कृषकको करेसाबारी हो । तर, उनी आफुलाई कृषिबारे धेरै ज्ञान नभएको बताउँछन् । यद्यपी उनको पौरख देख्दा अनुभवी कृषकको भन्दा कम देखिदैन ।

कृषक ‘गोपी सर’ अर्थात गोपीकृष्ण क्षेत्री निसीखोला गाउँपालिका वडा नम्बर ४ झिम्पाका हुनुहुन्छ । २०६८ सालदेखि शिक्षण पेशामा आवद्ध हुनुभएका उहाँले व्यावसायिक कृषि पेशालाई पनि आत्मसाथ गरिरहनुभएको छ ।

दिनभर विद्यालयमा शिक्षण गर्ने क्षेत्री विहान–बेलुका आफ्नो कृषि फर्ममा खटेर काम गर्नुहुन्छ । उहाँको त्यो खटाइ र कृषि उत्पादन देख्दा छरछिमेकी पनि दंग पर्छन् । कृषि कर्ममा क्षेत्रीलाई परिवारको पनि राम्रो साथ सहयोग छ । यसले गर्दा अझ बढी उहाँ हौसिनुभएको छ ।

क्षेत्रीले हाइटेक टनेलमा फलाएको गोलभेडा


क्षेत्रीले शिक्षणसँगै कृषिलाई बढावा दिने हिसाबले २०७४ सालदेखि ‘झिम्पा फलफूल तथा तरकारी कृषि फर्म’ दर्ता गर्नुभएको छ । ८ वर्षदेखि शिक्षण पेसालाई अँगाल्दै आए पनि एक वर्ष अगाडी मात्रै प्रावि तहको स्थायी शिक्षक बन्नुभएको थियो । हाल उहाँ जनजागृती प्राथमिक विद्यालय निसीखोला गाउँपालिका वडा नम्बर ७ को प्रधानाध्यापक समेत हुनुहुन्छ ।

बिहान बेलुकाको समयलाई सदुपयोग गर्नका लागि ५० हजार लगानीबाट सुरु भएको कृषि फर्म हाल सम्म आउँदा ७ लाख भन्दा बढी लगानी गरेको उहाँको भनाई छ । ‘सुरुमा सानो लगानीबाट सुरु गरेको हुँ, अहिलेसम्म आउँदा ७ लाख बढी लगानी गरेको छु,’ क्षत्रीले भन्नुभयो, ‘अहिले बिस्तारै राम्रो हुँदै गएको छ, लगानी बढाउँदै छु ।’

विशेषगरी फलफूल र तरकारी उत्पादनलाई जोड दिनुभएका क्षत्रीले आम्दानी पनि राम्रो हुँदै गएको बताउनुहुन्छ । ‘त्यसरी धेरै आम्दानी त गर्न सकिएको छैन, सुरु गरेको पनि धेरै भएको छैन, जे होस् लगानी अनुसारको आम्दानी हुन थालेको छ,’ उहाँले भन्नुभयो ‘लगानी बढाउँदै छु, आम्दानी पनि बिस्तारै बढ्ने अपेक्षा छ ।’

क्षेत्रीले लकडाउनको अवधीमा मात्रै करिब २ लाख बराबरको फलफूल तथा तरकारी बिक्री गरेको बताउँनुहुन्छ । यो अवधीमा बाहिरबाट तरकारी फलफूल नआउँदा आफ्नो उत्पादनले राम्रो बजार पाएको उहाँको भनाई छ । ‘लकडाउनको समयमा मैले उत्पादन गरेको तरकारी र फलफूलले राम्रो बजार पायो, यो फलफूलको सिजन थिएन, त्यसले गर्दा पनि तरकारी बढी गयो,’ उहाँले भन्नुभयो ‘स्थानीय स्तरमा अरु समयको भन्दा यो समय राम्रो खपत भयो ।’

तरकारी बारीमा काम गर्दै क्षेत्री

क्षेत्रीको बारीमा अहिले रहर लाग्दा तरकारी र फलफूलहरु देख्न सकिन्छ । उहाँले हाइटेक टनेल निर्माण गरेर तरकारी र फलफूलाई फलाउन र उब्जाउन सुरु गर्नुभएको छ । तरकारी र फलफूल बेचेर वार्षिक करिब ५ पाँच लाख आम्दानी गरेको उहाँको भनाई छ ।

उत्पादित तरकारी र फलफूलहरु झिम्पा गाउँ लगायत कानाबजार, झिवाखोला बजार, निसी, भल्कोट, बुर्तिबाङ लगायतका स्थानमा खपत हुने गरेको छ । अहिले बजारको खास्सै समस्या नभएको उहाँको भनाई छ । ‘अहिले बजारको खास्सै समस्या छैन, बुटवल तिरबाट तरकारी फलफूल आउँदा उत्पादनले बजार नपाउने, कम भाउमा विक्री गर्नुपर्ने समस्या थियो,’ उहाँले भन्नुभयो ‘लकडाउनका कारण तल तिरबाट खास्सै सामानहरु आउन पाएको छैन, त्यसले गर्दा हाम्रो उत्पादनले सहज रुपमा बजार पाएको छ ।’

कृषि प्रतिको लगाव र जाँगरलाई देखेर गत वर्ष कृषि ज्ञान केन्द्रले २ लाख ५५ हजार अनुदान दिएको थियो भने वडा कार्यालयले पनि विभिन्न फलफूलको बिरुवा दिदै आएको छ । यस क्षेत्रमा कृषि प्राविधिक नहुँदा केही समस्या समेत आउने गरेको उहाँको गुनासो छ । कुनै कृषि प्राबिधिक भएको भए यस क्षेत्रमा काम गर्नका लागि थप सहज हुने क्षत्रीको भनाई छ । कृषकलाई स्थानीय तहले समय–समयमा कृषि परामर्श, मल, बिल लगायतको व्यवस्था गरिदिने भए आफु र आफु जस्ता कृषकलाई थप राहत पुग्ने उहाँको भनाई छ ।

२८ वर्षीय क्षेत्रीले आफू जस्ता युवालाई स्वदेशमै व्यावसायिक बन्न सुझाव दिनुहुन्छ । उहाँले विदेशमा गर्ने दुःख र लगानीले आफ्नै भुमीमा राम्रो आम्दानी गर्न सकिने उहाँको भनाई छ । ‘विदेश जाने खर्च र त्यहाँको जति समय हाम्रै गाउँ ठाउँमै कुनै पेसा अँगालेर दिने हो भने यही पनि राम्रो कमाई गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘सबै युवा साथीहरुले विदेश जाने सपनालाई त्याग्नुस्, स्वदेशमै केही गर्छ भन्ने उद्देश्य लिनुस्, सफल भइन्छ, परिवारसँगै बसेर काम गरे पनि हामी स्वाभिमानी र खुसी बन्न सक्छौँ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *