म्याग्दी सिंगाको कालिज फार्ममा चितुवा पसेपछि…

सन्तोष गौतम,म्याग्दी

जिल्लाको बेनी नगरपालिका–४ सिंगा स्थित हरियाली ग्रुपको कालिज फार्म भित्र शुक्रबार बिहान चितुवा पसेको छ ।

फार्मभित्र पसेको चितुवाले कालिजका चल्ला मारेको छ । बिहान साढे ६ बजे कर्मचारी दाना दिन फार्म भित्र जाँदा चितुवा भेटिएको थियो ।

कालिजका चल्लालाई चारो दिन गएकी कर्मचारीलाई लखेटेपछि भागेर बाहिर निस्किइन, हरियाली ग्रुपका महाप्रबन्धक शेरबहादुर केसीले भने, ४०० चल्ला छन् । कति मारेको छ भनेर एकिन भएको छैन् । चितुवा पसेको फार्मभित्र चार महिनाका चल्ला छन् ।

नजिकै अर्को फार्ममा १०० हजार बयस्क कालिज छन् । मसिनो तारजालीले घेराबार गरिएको कालिज फार्मको माथि पलास्टिकको नेट राखिएको छ । खेतबाट नेटमा फरालेर च्यातीएपछि फार्मभित्र पसेको चितुवा बाहिर निस्कन सकेको छैन् ।

जिल्ला प्रशासन, प्रहरी, सेना, बन डिभिजन कार्यालयलाई चितुवा नियन्त्रणमा लिनका लागि अनुरोध गरिएको महाप्रबन्धक केसीले बताए । वन डिभिजनका प्राबिधिक, प्रहरी र सेनाको टोली घटनास्थल पुगेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट उपकरण ल्याएर चितुवालाई बेहोस बनाइ नियन्त्रणमा लिएर बाहिर निकाल्न पहल गरिएको घटनास्थल पुगेका वन डिभिजन कार्यालयका प्राबिधिकले बताएका छन् । फार्मको ढोका खोलेर दिउँसो बाहिर निकाल्न खोज्दा मानिसलाई आक्रमण गर्ने खतरा हुने उनिहरुको भनाइ छ ।

हरियाली ग्रुपले गत चैतमा काठमाडौको एभरेष्ट वाइल्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले उत्पादन गरेको चल्ला ल्याएर धौलागिरि क्षेत्रमै पहिलो पटक वनकुखुरा भनिने कालिज पालन सुरु गरेका थिए ।

चल्ला हुर्किएपछि मासुका लागि बिक्री गर्न थालेको छ । समूहले पालेको ुराउननेकु जातको कालिज पाल्नलाई सरकारले अनुमति दिएको छ । ५ महिनाका कालिज दुई किलोका भएका छन् ।

पछिल्लो पटक संशोधित वन ऐनले कालिज पाल्न पाउने व्यवस्था गरेको छ । कालिज सुत्केरी महिला र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ । कालिज सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन । दैनिक तीन पटक दाना र दुई पटक पानी खुवाउने गरिन्छ ।

सात हजार कालिज पालनका लागि फार्मले पाँच रोपनी जमिनमा खोर बनाएको छ । चल्लालाई खोरमा राखिएको छ । हुर्कीएका कालिज राख्न नेट राखिएको खुल्ला ठाउँमा प्राकृतिक हिसाबले बस्न मिल्ने खोर छ ।

कालिजको साथै स्थानीय जातका कुखुरा पनि पाल्न सुरु गरेको छ । पहिलो चरणमा ६०० वटा लोकल कुखुराका चल्ला ल्याएर पालेका छन् । यसअघि काठमाडौं र पोखरालगायत विभिन्न सहरमा कालिजपालन भएको थियो । कालिज नेपालमा पाइने जंगली पक्षी हो । स्वादीलो र स्वास्थ्यका लागि उपयुक्त मानिने कालिजको ब्यवसायिक पालन भएपछि मासुका लागि जंगलको कालिज चोरी शिकारी न्युनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *