म्याग्दीको कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा

सन्तोष गौतम, म्याग्दी

हरियाली ग्रुपले सञ्चालन गरेको म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित कालिज फार्मभित्र पसेको चितुवालाई शुक्रबार राति नियन्त्रणमा लिइएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको प्राविधिक टोलीले राति ११ बजे चितुवालाई जीवितै नियन्त्रणमा लिएको हो।

डार्टगनको सहायताले लठ्याउने सुइ लगाएर चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए।

‘रातको समयमा नियन्त्रणमा लिएर टोलीले धेरै टाढा लिएर गएको छ,’ उनले भने ‘सुरक्षित रुपमा चितुवालाई नियन्त्रण गर्न सफल भइयो।’ ठूलो क्षेत्रफलमा फैलिएको फार्म भित्र खुल्ला ठाउँ भएकाले नियन्त्रणमा लिन प्राविधिक टोली बोलाइएको थियो।

चितुवा नियन्त्रणका लागि जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौला, भेटेनरी प्राविधिक किरणराज रिजाल, वन्यजन्तु प्राविधिक दिप्रसाद चौधरी र जुनियर वन्यजन्तु प्राविधिक सुरेन्द्र चौधरीको टोली चितवनबाट आएको थियो।

डिभिजन वन कार्यालयका प्रमुख खनालसहितका प्राविधिक, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुशुम, सिंगा तातोपानी प्रहरी चौकीको टोली, फार्मका कर्मचारी र स्थानीयवासीले चितुवा नियन्त्रणमा लिन सघाएका थिए।

दुई देखि तीन वर्षको उक्त पोथी चितुवा १८४ सेन्टिमिटर लम्बाई, ५२ सेन्टिमिटर उचाई र ३५ केजी तौल भएको उद्धार टोलीले जनाएको छ। पशु चिकित्सक सडौलाले नेपालका सबै ठाउँमा भेटिने वन्यजन्तु नियन्त्रण र उद्धारका लागि केन्द्रको टोली खटिने गरेको बताए।

चितुवा पसेको फार्मभित्र ६५ दिनका ४५० वटा कालिजका चल्ला थिए। चितुवाले पु¥याएको क्षतिको विवरण शनिबार बिहान संकलन गरिने हरियाली ग्रुप प्रालिका महाप्रबन्धक शेरबहादुर केसीले बताए।

धेरै कालिज मारेको अनुमान छ। मसिनो तारजालीले घेराबार गरिएको कालिज फार्ममाथि पलास्टिकको नेट राखिएको छ। चितुवा खेतबाट नेटमा हामफाल्दा नेट च्यातिएर फार्मभित्र पसेको चितुवा बाहिर निस्कन सकेको थिएन।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *