आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमण जोखिमका कारण जिल्लामा सञ्चालनमा रोक लगाइएको सार्वजनिक जीप आजदेखी सञ्चालन गर्न थालिएको छ ।
जिल्ला प्रशासन कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले शनिवार जारी गरेको ८ बुँदे आदेश अनुसार आइतवारदेखि निजी सवारी साधन सँगै सार्वजनिक जीप पनि जोर बिजोर प्रणालीमा सञ्चालन हुन थालेको हो । जीप सञ्चालन गर्न दिइए पनि सार्वजनिक बस, माइक्रो बस भने अझै रोक लगाइएको छ ।
अब जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन हुनेछ । जीप, ट्याक्सीमा सिट संख्याको आधा मात्रै क्षमतामा यात्रु राख्न पाइने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
संक्रामक रोग ऐन २०२० अनुसार जारी आदेशमा अनावश्यक रुपमा घर बाहिर हिँड्डुल गर्न नपाइने उल्लेख छ । घर बाहिर जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, दुई मिटर भौतिक दुरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने तथा स्यानिटाइजरको प्रयोग जस्ता स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ ।
मानिसहरु भेला हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा, महोत्सव गर्ने तथा सबै धर्म संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने र सहभागी हुने पाइने छैन ।
क्याम्पस विद्यालय लगायतका सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, स्पा, व्युटिपार्लर, शैलुन, फुटपाथ पसल, घरदैलो गरी विक्री गर्ने व्यवसाय, कवाडी संकलन लगायतका स्थलहरु खोल्न पाइने छैन ।
निषेधित बाहेक खाद्यान्न तरकारी दूध मासु पसल, फेन्सी, कस्मेटिक, इलेक्ट्रोनिक्स, पुस्तक पसल, हार्डवेयर लगायतका पसलहरु विहान ७ बजे देखि साँझ ७ बजेसम्म मात्र खोल्ने रेकी वा डोरी टाँगी विक्रेता र खरिदकर्ता बीचको दुरी कम्तीमा दुइ मिटर कायम गर्नुपर्नेछ । नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड तथा पूर्व सावधानहिरुको पूर्ण पालना गरी गराई सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरु, बैंक सहकारी, बीमा संस्थाहरु, लघुवित्त वित्तीय संस्थाहरु न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्नेछ ।
कामदार तथा सेवा प्रवाहलाई सुरक्षित बनाई सबै प्रकारका निर्माण कार्य तथा उद्योगहरु सञ्चालन गर्न सकिनेछ । जिल्ला बाहिरबाट मजदुर नल्याउने र ल्याउनैपर्ने भए ल्याउँदा पिसिआर परिक्षण रिपोर्ट आएको ७२ घण्टा भित्र प्रवेश गराउने गरी निर्माण व्यवासायीले अनुमति लिन पाउनेछन् ।
क्वारेन्टी सञ्चालन गरेका बाहेक होटल तथा रेष्टुरेन्ट र खाजा पसलहरुले टेक अवे सेवा मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाउनेछन् । पितृपूजा गर्ने, पर्वमा नाता, इष्टमित्र अतिथिहरुलाई निमन्त्रणा नगरी आफ्नो घर भित्र मात्रै सिमित राख्नुपर्नेछ । यो प्रतिवन्ध असोज ३ गते राती १२ बजेसम्म कायम रहनेछ ।