‘दुर्घटना पर्खदै देउराली चोक’


आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम दिनानुदिन बढ्दै गएको छ । एक हप्ता अघिमात्रै भासिएको सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भएपनि मानविय क्षति भने भएको थिएन । तर सडक दिन प्रतिदिन भासिदै जादा कुनै न कुनैदिन ठूलो दुर्घटना निम्ताउने निश्चित छ ।

गाउँ गाउँमा सडकले पहिरोको जोखिम निम्ताएका कारण बागलुङका विभिन्न गाउँमा पहिरोले घर बगाएको छ भने ठूलो धन जनको क्षति समेत भएको छ । गाउँमा पहिरोको कारक तत्व सडकनै भएको छ । बागलुङ नगरपालिकाले साँघुरो सडक रहेको देउराली चोकदेखि सन्डाँडा जाने सडक ढालन गरिएको छ । ढलान गरेको दुई वर्षमानै सडक भासिएको छ ।

उक्त स्थानमा वर्षैनी सडक भासिदै गएपछि दिर्घकालिन समाधानका लागि सडक ढलान गरेपनि तलबाट सडक भासिएका कारण ढलान समेत झिया–छिया बनेको छ । सडक भासिदा देउरालीचोकका दुई घर विस्थापित भएका छन् भने ८ घर उच्च जोखिममा रहेको छ । सडकको बीचभागबाट बागलुङ नगरपालिकामा वितरेण गरिने मुख्य खानेपानीको पाईप समेत रहेको छ ।
उक्त पाईप वेलावेलामा फुट्दा झनै दुर्घटनाको जोखिम निम्ताएको छ ।

सडक भासिएर निकै भिरालो भएको छ भने सवारी साधनहरु मुस्किलका साथ आउँजाउँ गरिरहेका छन् । मध्यपहाडी पुष्पलाल लोकमार्गको वैकल्पिक सडकका रुपमा रहेको उक्त सडक बागलुङ बजार देखि बोक्से, सिगाना हुँदै बरेङ शान्तिपुर जाने सडक हो ।

देउरालीचोकदेखि सुन्डाँडा सम्म झण्डै एक सय मिटर सडक भासिएको सिद्धिविनायक टोल विकास समितिका अध्यक्ष प्रधुन्न श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार महिना दिनदेखि सडकमा सवारी गुड्नै नमल्निेगरी सडक भासिएपनि बैकल्पिक सडक नहुँदा जबरजस्ती सवारी गुड्न बाध्य भएका छन् । ‘हामीले पटक पटक वडा कार्यालय र बागलुङ नगरपालिकामा सडक मर्मतका लागि ध्यानआर्कषण गर्दा समेत सुनुवाई भएको छैन ।’ श्रेष्ठ भन्नुभयो ‘सडक भन्दा धेरैतलबाट पहिरो समेत गएको छ, सामान्य खर्चले उक्त सडक बन्ने अवस्था छैन, तत्कालै सवारी आगमन रोकेर सडक निर्माण थाल्नपर्ने आवश्यकता छ ।’

सडक भासिन थालेपछि गत असोजमा रु. सात लाख मर्मत गरेपनि पुन सडक भासिएर समस्या भएको बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले जानकारी दिनुभयो । ‘हामी प्रयन्तशिल छौं तर निकै जटिल भूगोल भएका कारण लगातार समस्या सृजना भइरहेको छ ।’ वडाअध्यक्ष बाँस्कोटाले भन्नुभयो ‘नगरपालिकाले तत्कालै पाँच÷सातलाख बजेट छुट्टाएर सडक मर्मत गर्नेछौं ।’ बाँस्कोटाको अनुसार सबै सडक पुरानै अवस्थामा फर्काउनका लागि रु. ५० लाखको लागत अनुमान सहित प्रदेश र संघीय सरकारमा बजेट माग गर्न लागिएको छ । उक्त चोकमा झण्डै एक सय ग्याविनजाली हालिएको छ । उक्त ग्याविनजाली केही नभएपनि बीचभाग भासिएका कारण समस्या भएको छ ।

उक्त सडकमा रहेका खानेपानीको च्याम्बर र पाईप खानेपानीले सार्ने र नगरपालिकाले तत्कालै सडक मर्मत गर्नेगरी अगाडी बढेको वडा कार्यालयको भनाई रहेको छ । सडक भासिदा राजकपुर श्रेष्ठ र शशिकपुर श्रेष्ठको घर बस्नै नमिल्नेगरी चर्किएको छ भने आठ परिवारहरु रातको समयमा सुत्नै नसकिएको स्थानीयले गुनासो गरेका छन् । दिर्धकालिन समस्याको रुपमा रहेको देउराली चोकलाई समस्या समधानका लागि आवश्यक योजना बनाएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *