कृषि पेशा र लकडाउनको प्रभाव

कृषिता अधिकारी (निशा)
हाम्रो देश नेपाल कृषि प्रधान देश हो । करिब ७४.५ प्रतिशत जनताको मुख्य पेशा कृषि रहेको छ । तर, भौगोलिक विकटताको कारण केवल १८.५ प्रतिशत भु–भाग मात्र कृषि योग्य रहेको छ भने करिब २०५ मात्र सिंचाइ योग्य रहेको छ । जसले गर्दा खेतिबालिका लागि किसानहरु मनसुनको भर पर्नु पर्छ । किनकि मानिस तथा अन्य पशुपन्छिलाई दैनिक आवश्यक पर्ने खाद्यान्न कृषि कार्यबाट नै प्राप्त हुन्छ । अर्को अर्थमा भनौ भने मानिस बाँच्नका लागि आवश्यक खाना चाहिन्छ । परापुर्वकालमा जब घुमन्ते युग थियोे जसमा स्थानतरण थिएन, त्यसै क्रममा विस्तारै विस्तारै वनजंगलमा जनावर कन्दमुल, भ्याकुर तथा फलफूलहरु खाने फ्याक्ने क्रममा तिनै फलफूलहरु उम्रिन थालेसँगै मानिसहरु त्यहि ठाउँमा स्थान्तरण गर्न थाले । उनिहरुमा विस्तारै चेतनाको विकास भयो । त्यसरिनै सामाजिकरण संगै कृषि क्षेत्रको विकास भयो । मानिस बाँच्को लागि अन्न उब्जाउन थाले संगै आम्दानिको स्रोत बन्न पुग्यो ।

जसमा नेपालको भू–धरातलमा प्रशस्त नदिनालाहरुको उपस्थिती जमिन मुनिको पानी प्रयोग गर्न सकिनु, माटो उर्वरा र विविध प्रकारको हुनु, हावापानीमा विविधता तथा कृषि क्षेत्रका पूर्वाधार र सकारात्मक पक्षको रुपमा लिइएको छ । जसले गर्दा कृषि क्षेत्रमा सिँचाइ, नयाँ प्रविधि लगायत अन्य सामग्रीको उपलब्धता बढाइ कृषि विकास क्षेत्रमा नेपाली जनताको जीवनस्तर उकास्न र गरिबी घटाउन महत्त्वपूर्ण भुमिका प्रवाह गर्दछ र गरेको पनि छ । त्यसैगरी कुनै पनि देशको आर्थिक विकास गर्नको निमित्त त्यस देशको कृषि क्षेत्र विकास हुनु जरुरी छ । किनकि कृषि क्षेत्रले गरिबी न्यूनीकरण, भोकमरीको अन्त्य तथा आर्थिक क्षेत्रमा वृद्धि गराउन मद्दत गर्दछ । त्यसैगरी कृषि क्षेत्रलाई विकासको पूर्वाधारको रुपमा पनि लिने गरिन्छ जस्तो कि जीविकोपार्जनको प्रमुख आधार, राष्ट्रिय आम्दानिको प्रमुख आधार तथा कच्चा पदार्थको स्रोत, खाद्यान्न प्रमुख स्रोत, विदेशी व्यापारको प्रमुख आधार तथा अन्य सरकारी आम्दानिको स्रोत आदि इत्यादि महत्वपूर्ण रहेको छ ।

त्यसैगरी विस्तारै विस्तारै विकासको गति तिव्ररुपले बढ्न थाले संगै कृषि क्षेत्र विकासमा पनि विभिन्न समस्याहरु देखिन थालेका छन् । बढ्दो बसाइँसराई, बढ्दो सहरिकरण तथा आधुनिक जीवनशैली जस्ता हरेक तत्वले निकै प्रभाव पारेको छ । किनकी भौतिक सेवा सुविधाका कारणले गर्दा मानिस बसाइँसराई तर्फ आकर्षण भएका छन् । जसले गर्दा गाउँमा बसेर खेतिपाती गर्ने चलन विस्तारै हट्दै गएको पनि छ । अर्कोतिर नेपाली युवावर्गहरु विदेशीन थाले सँगै कैयौं नागरिकहरु रेमिटेन्समा भर पर्न थाले जस्ले गर्दा बढ्दोे सहरिकरण तिव्र रुपमा अगाडि बढ्न थालिसकेको अवस्था छ ।

त्यसैगरी बढ्दो आधुनिक जीवनशैलि रहन सहन खानपान व्यवहारमा समेत परिवर्तन आइसकेको छ । अब गाउँमा बस्ने खेति गर्ने मकै आटो पिठो आदि खानाहरु भन्दा प्याकेटमा पाइने खाना खान थालिसकेका छन् । एक हिसाबले हिजोको सन्दर्भमा भन्नुपर्दा अहिलेको जस्तो समय थिएन् । सम्पूर्ण जीवन कृषिमा निर्भर हुनुपथ्र्याे । हाम्रा हजुरबुबा हजुरआमा तथा बाबा आमाको पालामा खानलाउन साह्रै दुःख थियोे । अहिलेको जस्तो सेवा सुविधा भौतिक साधन स्रोत थिएन् तर विस्तारै समाज परिवर्तन भए संगै कृषि क्षेत्रमा पनि आधुनिकिकरण हुन थाल्यो । आधुनिक मेसिनहरु प्रयोग हुन थाले संगै वस्तुभाउहरु विस्तारै हराउन थाले आजभोलि त अधिकांश किसानहरुले हलो जुवाको प्रयोग गर्न छाडिसके भने कतिपय अवस्थामा मानिसहरु सुखि पेशा अपनाउन थालिसके र शहरी क्षेत्रतर्फ आकर्षित भइरहेका छन् । जसले गर्दा जीवन शैलीमा परिवर्तन आएको छ तर अहिलेको परिवेशलाई हेर्ने हो भने अधिकांश आम नागरिकहरु गाउँ फर्क अभियानमा लागिसकेका छन् । कारण विश्वव्यापी रुपमा कोभिड १९ को महामारिले सताइरहेको अवस्था छ । जसले गर्दा यतिबेला हामी जनमानस मानसिक तथा शारीरिक सिकार हुन थालेका छौ । त्यस्तै, सरकारले यो माहामारिबाट सचेत हुनका लागि लकडाउन गरेको अवस्था छ । यो अवस्था ठूलाठूला कलकारखाना उद्योग व्यवसाय देखि लिएर हरेक क्षेत्र अहिले ठप्प भएको छ र यसका साथै बढ्दो वेरोजगार, आत्महत्या, कालोबजार लुटपाट हत्या हिंसात्मक घटनाहरु पनि व्याप्त रहेका छन ।

जसले गर्दा बाँच्नै गाह्रो अवस्था सृजना भइरहेको अवस्था छ पैसा हुनेलाई भन्दा पनि गरिब बेरोजगार मजदुर वर्ग निकै चरम मारमा परिरहेका छन् । सान–सानो लगानीले खोलिएका संघ संस्था गैरसरकारीहरु तथा निजि क्षेत्रमा रोजगार गर्ने वर्गलाई जीवनयापन गर्न धौ–धौ परेको अवस्था छ । त्यसैगरी यो परिस्थितिमा व्यस्त हुनको लागि पनि र आम्दानी घरायासी खर्च धान्नको लागि आजभोलि कृषि पेशा अपनाउन थालेका छन् । सरकारले पनि यस्तो विषम परिस्थितिलाई मध्यनजर गर्दै कृषि क्षेत्रलाई प्रथामिकता दिएको छ । जसले गर्दा मानिसहरु कृषि क्षेत्रतर्फ आकर्षण भएका छन् । अर्कोतर्फ बजारमा पाइने सामानहरु पनि निकै महङ्गो र यस्तो परिस्थिति जहाँ कोभिड १९ अर्थात् कोरोना भाइरस जसमा मानिसबाटै संत्रमण हुने र मृत्युु समेत हुने भाइरस फैलिए संगै मानिसहरु बजारमा पाइने सामान किन्न डराउने अवस्था सृजना हुन थालेको छ । त्यसैले पनि घरमा बनेको आफ्नै खेतबारीमा उब्जाएका अन्न बालि प्रयोग गर्न थालिसकेका छन् भने कृषि पेशा तर्फ आकर्षण समेत भएका छन् ।

तसर्थ, कृषि क्षेत्रलाई केवल बाध्यतात्मक पेशा नठान्ने हो भने यश क्षेत्रमा अवसरहरु प्रशस्तै पाइन्छ जस्तो कि भौगोलिक तथा जैविक विविधताले उपलब्ध गराएका विभिन्न सम्भाव्यताहरु हुनु, कृषि विकासको स्पष्ट मार्गदर्शनका रुपमा रहेको विकास रणनीति, स्वदेशमै लगानी कृषि आधुनिकिकरण परियोजनाको सुरुवात हुनु, विदेशबाट फर्किएका सीप, ज्ञान, पूँजि र उन्नत प्रविधी सहित कृषि क्षेत्रमा आकर्षित हुँदै जानु, जैविक कृषि र कृषि वन प्रती किसानहरुको आकर्षण तथा विश्व व्यापारको पहुँच एवम् ठूलाठूला संस्थागत र अन्य निजि क्षेत्रहरु समेतको यस क्षेत्रमा आकर्षण बढ्ने र कृषि ऋण वा अनुधान, कृषि विमा नयाँ प्रविधिहरुको उपयोग र सिंचाइ सुविधामा समेत अवसरहरु रहेका छन् । त्यस्तै कृषि उत्पादन र उत्पादकत्व वृद्धि कृषि उपजमा आत्मर्निभर, कृषिमा आधारित उद्योगको विकास गरि रोजगार र आम्दानिमा वृद्धि तथा राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पु¥याउने काम गर्दछ । यी र यस्ता अवसरहरु हुँदाहँुदै पनि युवावर्गहरु रोजगारका लागि विदेशिने गर्दछन् । जसले गर्दा बाहिरी प्रभाव पश्चिमी आवरणले छपक्कै छोपेको छ । सरकारले जसरी कृषि क्षेत्रलाई प्रथामिकता दिएको छ त्यसैगरी विभिन्न रणनीतिहरु पनि ल्याउनु जरुरी छ ।
सम्पादकीय

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *