कोरोना कहरसँगै सम्भावना र चुनौतीमा रुमलिएको पर्यटन व्यवसाय

शुभेक्षा पन्त
नेपाल पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको एक सुन्दर राष्ट्र हो । जहाँ हिमाली भेगमा सेताम्मे परेका हीरा जस्तै चम्कने हिमाल, पहाडमा हरियालीले ढाकेका डाँडाकाँडा, तराईमा सुन जस्तै धन फल्ने सम्म परेका जमिन छन् । प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो देशमा सुन्दर वातावरण र रमणीय ठाँउको खानी छ । एउटै देशमा विभिन्न प्रदशनीका क्षेत्रहरु छन् । माघको जाडोमा तराईको न्यानो लुम्विनी र जनकपुर, गर्मीमा माछापुच्छ«े र सगरमाथाको शीतलतासँगै अरु मौसममा महाभारत र चुरेका वस्तीहरू नेपालमा अविश्मरणीय पर्यटकीय गन्तव्यहरु हुन् ।

व्यापार, मनोरञ्जन, घुमघाम, खोज, अनुसन्धान, पत्रकारिता वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । विश्व पर्यटन सङगठ्नको परिभाषा अनुसार पर्यटकले “आफ्नो सामान्य प्रवृति बाहिर, चौविस घण्टामन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम, समय, मनोरन्जन, व्यापार र त्यस ठाँउमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरु उद्देश्यका लागि यात्रा गरी बस्ने” मानिसलाई जनाँउछ । अर्को अर्थमा भन्नुपर्दा पर्यटन भनेको विभिन्न प्रयोजनमा लागि एक ठाँउबाट अर्को ठाँउमा पदयात्रा, नौकाविहार, साइक्लिङ, प्याराग्लाइडिङ र अन्य विभिन्न माध्यमबाट भ्रमण गर्नुलाई बुझिन्छ । विश्व समाजमा पर्यटन फुर्सदको समयमा मनोरन्जनात्मक गतिविधिसंग आत्मीयता गास्ने एक लोकप्रिय क्रियाकलाप भएको छ । पर्यटन नेपालको सबैभन्दा ठूलो उधोग, विदेशी मुद्रा र राजस्वको ठूलो स्रोत हो । नेपालमा पर्यटनका लागि विभिन्न मनोरम क्षेत्र छन्,जस्तैः विश्वको सर्वोच्च हिम श्रृङखला, नदिनाला, तालतलैया, भगवान गौतम बुद्ध जन्मेको पवित्र स्थल लुम्बिनी, पशुपतिनाथ मन्दिर, जानकी मन्दिर, मनकामना, मुक्तिनाथ ढोरपाटन, गुम्बाहरू, तातोपानी हलेशी महादेव, स्वर्गद्वारी मन्दिर, रारा ताल, फेवाताल, तिलिचो ताल आदि छन् तर यी विभिन्न क्षेत्रको उचित प्रवध्दन गर्न सकिएको छैन । पर्यटकीय क्षेत्रको प्रवद्धर्न हुनसकेमा यसबाट फाइदा लिने पक्ष प्रशस्त छन् । पर्यटन एउटा यस्तो व्यवसाय हो, जसले मुलुकको सम्रग अर्थतन्त्रलाई गति दिने सामथ्र्य राख्छ । कुनै पनि देशको पर्यटन क्षेत्रको विकासका लागि त्यहाँ रहेका सांस्कृतिक एंव प्राकृतिक सम्पदाहरुको भूमिका महत्वपूर्ण हुन्छ । सांस्कृतिक विविधता, सामाजिक चालचलन, प्राकृतिक सौन्दर्य मनोरम वातावरण, पर्यटकहरुका मन जित्ने ठाँउ हुन् । गण्डकी प्रदेश पर्यटनका लागि अति उर्वर विभिन्न सम्भावना बोकेको प्रदेश हो । यहाँ टलक्क टल्कने हिमाल, कलकल बग्ने झरना, मनोरम तालहरू, खोच गल्छी आदि रहेका छन् । सात तालको सहर पोखरा विश्वको गहिरो अन्धगल्छी दाना, पञ्चासे आदिले आर्थिक सांस्कृतिक, धार्मिकसँगै विभिन्न अवसरहरु सृजना गरेका छन् । मुक्तिनाथको धार्मिक पर्यटनदेखि मनकामना, बागलुङ कालिका, पन्चकोट, पर्वत सेतीवेनी शिला, गुप्तेश्वर, म्यादीको गलेश्वर, गुल्मीको रिडी आदि पर्यटकीय आकर्षणका क्षेत्र हुन् । नेपालको एकमात्र शिखर आरक्षण ढोरपाटन नेपालको हालसम्मको ठुलो जलविद्युत आयोजना कालीगण्डकी ‘ए’ यिनीहरुले पर्यटकलाई दिनहुँ डाकी रहेका छन् । नेपालमा रहेका प्राकृतिक सम्पदा, जलजङ्गल जमिन जडीबुटी, जनावर, जलचर आदिलाई जनशक्ति व्यवस्थापनसँगै समुचित प्रयोग गर्नु आजको आवश्यकता बनेको छ ।

नेपालको सन्दर्भमा पर्यटन क्षेत्रको सुरुवात सन् १९५० मा भएता पनि सन् १९६० को दशक सम्म केवल हिमाल आरोहण एंव हिमाली पदयात्रामात्र भयो । नेपालमा राम्रो व्यवस्थाका साथ पर्यटनको सुरुवात भने सन् १९७० बाट भएको हो । विश्वमा पर्यटक शब्दको सुरुवात सन् १७७२ र पर्यटनको सन् १८११ बाट भएको हो । पर्यटकलाई सुविधा उपलब्ध गराउन सन्चालित व्यवसायलाई पर्यटन व्यवसाय भनिन्छ । नेपालमा पर्यटकीय क्षेत्रहरूको खानी छ तर पनि हामीले आफ्नो देशका भ्रमण योग्य क्षेत्रको राम्रोसँग प्रचारप्रसार गर्न सकेका छैनौँं । आर्युवेदाको सबैभन्दा पहिलो सम्मेलन हाम्रै भूमिमा भएको तथ्य लिखित छ । तरपनि प्रचारप्रसारको अभावले गर्दा विश्वले केरलामा भएको भनिरहेको छ । हाम्रो देशमा कुनाकुनामा समेत भ्रमण गर्न योग्य मनोरम भूमि छन् । जसले पर्यटनहरुको मन लोभयाई रहेको छ तरपनि तिनलाई नगदमा रूपान्तरण गर्नका लागि स्वच्छ वातावरणका होटल, यातायात, ट्राभल एजेन्सी र ट्रेकिड व्यवसायी जस्ता विभिन्न पूर्वाधारका अभावले गर्दा पर्यटकहरुलाई असजिलो भएको छ । नेपालमा सन् १९९८, २०११ मा भ्रमण वर्ष मनाई सकेका छौँ भने अहिले २०२० मा तेस्रो पटक भ्रमण वर्ष मनाउने क्रम भएपनि विश्वव्यापी कोरोनाका कारणले सार्थक हुन सकेको छैन् । नेपालमा अहिले २० लाख पर्यटक भित्राउने लक्ष्य थियो । भ्रमण वर्ष अभियानबाट सङ्ख्यात्मक र गुणात्मक पर्यटक भित्राई पर्यटकको वसाई लम्बाउने लक्ष्य सरकारको थियो । कोरोना महामारी भन्दा केहि दिन अघिसम्म पर्यटक खर्च ५४ डलर रहेको थियो भने पर्यटक वसाई १२.६ दिन रहेको थियो । आन्तरिक तथा बाह्य पर्यटनका माध्यमबाट देशको आर्थिक उन्नतिमा टेवा पुग्याउने काम हुन सके पर्यटन वर्ष सार्थक हुन्छ भनिएको थियो तरपनि कोरोना महामारीले गर्दा यसमा ठूलो असर पु¥याएको छ । जनवरीदेखि डिसेम्बर २०२० सम्मको अवधिलाई पर्यटक फैलाउने, आम्दानी बढाउने, गन्तण्य संख्या थप गर्ने तर्फ अनुसन्धान र छलफलको लागि सदुपयोग गर्ने भनिएको थियो । नेपाल सरकारले गएको साउन २९, २०७४मा नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो । यस भ्रमण वर्षका लागि ‘लाइफटाइम एक्सपेरियन्स’ (जीवनकाल अनुभव) को नारापनि तय गरिएको थियो । नेपालमा पर्यटन विकास दर २० प्रतिशतभन्दा बढी छ । भ्रमण वर्ष उत्सवामात्र नभई नेपालको पर्यटनलाई अझ वृहत, विकास र विस्तार गर्ने एक महत्वपूर्ण माध्यम हो । नेपालमा प्राकृतिक सम्पदा जस्तैः नदीनाला, हिमश्रृङखला, झरना, पहाडी टाकुरासँगै सांस्कतिक धरोहर जस्तैः लोक बाजा, लोक नृत्य, रोदी घर, लोक धुन यहाँका लागि प्लस प्वाइन्ट हुन् । हामीले पर्यटनको सहजताका लागि भौतिक पूर्वधारदेखि पर्यटनमैत्री वातावरण र असल संस्कारको विकास गर्नुपर्छ । जहाँ अवसर छ, त्यहाँ समस्या र चुनौति हुन्छ । त्यसैले नेपालमा पर्यटकीय क्षेत्रमा प्रशस्त सम्भावनाका साथै चुनौति र अवसर छन् । खास गरेर नेपालमा पदयात्रा होस् वा आरोहणका लागि, पर्यटक आउन, उनीहरुको सुरक्षा र सुविधा नै हाम्रो पहिलो प्राथमिकतामा हो । यसका लागि सबै मिलेर समस्याका समाधान गर्नुपर्ने हुन्छ । व्यवसायीहरु राज्यप्रति जिम्मेबार र राज्यले पनि उनीहरुलाई त्यहीँ अनुसार प्रोत्साहित गर्नुपर्छ । त्यसले मात्र आउने पर्यटकको पनि गुणस्तर बढाउन सकिन्छ र बसाई समयलाई लम्ब्याउन सकिन्छ । तराई, पहाड, हिमालमा पर्यटनका नयाँ गन्तव्य विस्तार गर्दै, पुराना गन्तव्यलाई पनि साथमा लिएर नयाँ बाटा प्रस्तुत गर्ने कार्यक्रम बनाउन जरुरी छ ।

सम्भावना र अवसरहरु
नेपालमा पर्यटन विकासको अगाध सम्भावना छ । यहाँ हिमालमा माउन्टेनियरिाङ, पदयात्रा र तराई र पहाडमा नौकाविहार पर्यटनका रुचिका विषय हुन् । कला, संस्कृतिको प्रवध्दन, उचित व्यवस्थापन गर्न र देशको चौतर्फी विकास गर्न पर्यटनको महत्वपूर्ण भुमिका हुन्छ । हिमाली क्षेत्रमा पशुपालन स्याउ खेती र पर्यापर्यटनको विकास गर्न सकिन्छ । पहाडमा उब्जनी कम होला तर लटरम्म फलफूल पशुपालन घरेलु तथा साना उद्योग सञ्चालन गर्न सकिन्छ । तराईमा सुनखानी नभेटिएला तर अवश्य पनि सुन फलाउन सकिन्छ । देशमा रोजगार सृजना हुन्छ । देशको कला, संस्कार, भाषा र साहित्यको प्रचारप्रसार हुन्छ । स्थानीय उत्पादनमा बृद्धि भई ग्रामीण पर्यटनमा टेवा पुग्छ । विदेशी मुद्रा आर्जनमा टेवा पुग्छ । अन्तराष्ट्रिय लगानीका अवसरहरु सृजना हुन्छन् । पर्यापर्यटनमा वृद्धिसँगै पूर्वाधारको विकासमा जोड हुन्छ जसबाट देशमा समृद्धिको बाटो खुल्दछ । बेरोजगारी समस्या क्रमशः हट्दै गई स्वावलम्बी बन्न प्रेरित गर्दछ । देशमा पर्यटन विकाससंगै उद्योगधन्दा कृषि उत्पादनमा वृद्धि भई देश विकासको सच्चा मार्ग सृजना हुन्छ । राजस्व संकलनमा वृद्धि हुन्छ । पर्यटनसँग सम्बन्धित माउन्टेनियरिङ, पदयात्रा, नौकाविहार, साइक्लिङ आदिमा बृद्धि हुन्छ जसबाट देश समृद्ध बन्न जान्छ । पर्यटन विकासले गर्दा बौद्धिक पलायन रोकिन गई देशका लागि आवश्यक जनशक्ति प्रयोग गर्ने अवसर बढ्दै जान्छ । शान्ति सुरक्षाको अवस्था सुधार हुँदै जान्छ । पर्यटनीय प्रवृत्ति आम जनतामा बढ्दै जान्छ । नेपाली नागरिकमा गैर आवसीय सक्रियता बढ्दै जान्छ । अन्य मुलुकसंग हवाई सेवामा वृद्धि हुन्छ । भुकम्पपछिको पुननिर्माण तथा नव निर्माणमा पहुँच पुग्छ । नेपालीहरुमा अन्तराष्ट्रिय सभ्यता, शिष्टता जस्ता सीपको सहकार्य हुन गई सिक्ने सिकाउने वातावरण सृजना हुन्छ । पर्यटन क्षेत्रको विकास र विस्तारको लागि विभिन्न देशसंग समझदारी पत्रमा हस्ताक्षर हुन्छ । विदेशी पर्यटकहरूले नेपालप्रतिको माया सम्मान बढाँउछन । अन्तरराष्ट्रिय संस्थाहरूद्वारा विश्वमा भ्रमण गर्नुपर्ने स्थानहरूको सूचीमा नेपालका शहर बजारका साथै गाँउका पर्यटकीय गन्तण्य समावेश हुन्छन् ।

चुनौतिहरू
हाम्रो देशमा भ्रमण गर्नका लागि विभिन्न मनोरम दृश्यले भरपूर ठाँउहरु छ । तर प्रचारप्रसारका कमिले गर्दा आफ्नो देशमा रहेका अथाह सौन्दर्य लोप हुदैँ गएका छन् । पर्यटन उद्योगको सम्रग उन्नतीका लागि गर्नुपर्ने कामहरूको बुदां टिपोट गर्दा चुनौतीको चाङ खडा हुन्छ । हामीले अतिथि देवो भवः भन्ने कुरालाई आत्मसाथ गर्र्दै पर्यटकहरुलाई व्यवस्थित ढङ्गले स्वागत एंव सत्कार गर्नुपर्छ । नेपालमा पर्यटन व्यवसायलाई व्यवस्थित गर्नका विभिन्न चुनौतिहरू रहेका छन् :– जसमा पूर्वाधारको अभाव, पर्यटनमैत्री संस्कृति, भाषा, कला, साहित्यको अभाव, मनोरन्जनात्मक वातावरणको कमी, राम्रो बस्ने, खाने ठाँउको व्यवस्था नहुनु, गाँउगाँउमा, होटेल, होमस्टेय खुले तापनि राम्रो व्यवस्थाका साथ पर्यटकको मन जित्न नसक्नु, सांस्कतिक सम्पदा छन् तर प्रचारप्रसारको अभाव हुनु, पर्यटकीय स्थलहरु छन तर पूर्वाधारको अभाव हुनु, रामो प्रचारप्रसारको कमी, सुविधा, सुरक्षा र उद्धारको अभाव, उपयुक्त पर्यटन सूचना केन्द्रको अभाव, आन्तरिक व्यवस्थापनको अभाव, पर्यटनको लागि आवश्यक वस्तु तथा सेवाको अभाव, प्रदुषणको समस्या बढ्दै जानु, आदर सत्कार अतिथ्यको लागि योग्य जनशक्तिको अभाव हुनु, पर्यटनको लागि जनशक्ति व्यवस्थापन जटिल हुनु, भूकम्प लगायत विभिन्न प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त सम्पदाको समयमै पुनः निर्माण नहुनु, अन्तरराष्ट्रिय जगतमा परेको नकारात्मक प्रभावको निराकरण गर्नुपर्ने, पर्यटकीय शिक्षा र चेतनाको अभिबृद्धि गर्नुपर्ने, सम्भावना र अवसरलाई आय आर्जनमा रुपान्तरण गनपर्ने, स्वच्छ, सफा र रमणीय वातावरणको अभाव हुनु, गाँउगाँउमा यातायात, विजुली आदिको जटिल समस्या हुनु आदि हुन् ।

पर्यटक भनेका हाम्रा पाहुना हुन् । उनीहरुलाई उचित सम्मान र सुविधा दिन सकेमा मात्र पर्यटकीय क्षेत्र पूर्ण रुपमा सफल हुन सक्छन् । यसबाट हामीले सोचको र राखेको लक्ष्य पूरा हुन गई पर्यटकको सङ्खख्यामा बृद्धि, र विदेशी लगानी भित्राउन सफल हुनेछौ । नेपालमा अथाह प्राकृतिक सम्पदा (हिमाल, झरना, खोलानाला खोच, गल्छी, आदि) र सांस्कृतिक सम्पदा (मठ मन्दिर, बहुँजातीय, संस्कृति, संस्कार, लोकनृत्य, लोकधुन, लोकबाजा, आदि छन् । ती सम्पदाहरूलाई पूर्ण रुपमा प्रयोग गर्न र देशलाई समृद्ध बनाउनका लागि हामी सबै एक जुट बनेर हिड्नु पर्ने आजको अपरिहार्य आवश्यकता हो । हामी सबै नागरिक देश निर्माणका लागि अथाह स्रोत, साधनसँगै हातमा हात, काँधमा काँध र इच्छा शक्तिसंगै कर्मशील बनेर अगाडी बढ्न सके यहाँ रहेका अनेकौँ पर्यटकीय सम्भावनालाई चुम्न कठिन हुने छैन् । देश विकासको मुख्य खम्बा सार्वजनिक निजी साझेदारीबाट देशलाई समृद्ध बनाउन कुनै समस्या हुने छैन् ।

यातायात, सञ्चार र सूचना प्रविधिको विकास विस्तारले ढपक्कै ढाक्दै गएको वर्तमान समयमा हामी युवावर्ग प्राविधिक शिक्षा, रोजगारीका सिलसिलामा विश्वका विभिन्न मुलुकमा छरिएर अनुभव संगाली रहेका छौँ । तिनै अनुभवलाई हाम्रो देशको मौजुदा सामथ्र्यमा ढाल्नका लागि सबै तह र वर्गका सरोकार वालाहरुको सहकार्य गर्नु पर्दछ । नेपाल भ्रमण वर्ष २०२० पूर्ण रुपमा सफल हुन नसकेपनि विभिन्न चुनौतिहरुको सामना गर्न सक्यौँ भने यो भूमिमा हरेक वर्ष पर्यटन भित्रिने गति थप हुदै जान्छ । १४ आँै पञ्चवर्षीय योजना अनुसार पर्यटनको विकास हुने हो भने नेपालले विश्वमा नै आफ्नो परिचय बनाएर सबै स्वदेशी तथा विदेशी पर्यटकको मनमा बसि संसारभर सबैभन्दा राम्रो पर्यटकीय क्षेत्रको सूचिमा हाम्रो देशको नाम पार्न सकिन्छ । अतः पहाडी देश स्वजरल्याण्ड, मरूभूमिको देश इजरायल, प्राकृतिक स्रोत साधनले कम रहेको देश जापानबाट पाठ सिकेर नेपाललाई समुन्नत बनाउनका लागि पाखुरीमा बल खिचेर र आत्मविश्वास आपसी एकतासँगै स्रोत साधनको पूर्ण प्रयोग गर्न बिगतको ज्ञान, आजको ध्यान लिएर, सिपको प्रयोग गरी सामुहिक चिन्तनबाट अगाडी बढ्न सके नेपालमा पर्यटकीय क्षेत्रबाट राम्रो उपलब्धी हासिल गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *