वार्षिक पुण्यतिथिमा फाउण्डेशन र मजदुरलाई सहयोग

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–३ गुठी निवासी स्वर्गिय खिमबहादुर खड्काको वार्षिक पुण्यतिथिको अवसर पारेर खड्का परिवारले गोविन्द अधिकारी मेमोरियल फाउण्डेशन र मजदुरलाई बुधवार सहयोग प्रदान गरेका छन् ।

बागलुङ जिल्ला क्षेत्र नम्बर १ का पूर्व सांसद स्वर्गिय गोविन्द अधिकारीको नाममा स्थापना गरिएको गोविन्द अधिकारी मेमोरियल फाउण्डेशनलाई दुई लाख २० हजार रुपैयाँ प्रदान गरिएको छ भने बन्दाबन्दीका कारण रोजगारी गुमाएका १५ जना मजदुरलाई चामल, दाल, तेल र नुन लगायतको खाद्य सामग्री वितरण गरिएको थियो ।

२०७६ पुस १३ गते स्थापना भएको फाउण्डेशन मार्फत सामाजिक परोपकारी कार्य गर्न र समस्यामा परेकालाई राहत प्रदान गर्न टेवा पु¥याउने सोचले आफ्ना दिवंगत श्रीमानको वार्षिक पुण्यतिथि पारेर सहयोग गरिएको सहयोगदाता गोमा खड्काले बताउनुभयो ।

पुण्यतिथिका अवसरमा सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संघीय सांसद मनकुमारी केसीले पूर्व सांसद गोविन्द अधिकारी जनताको अधिकार र सेवामा समर्पित व्यक्तित्व भएको र उहाँको स्मृति तथा सम्मानमा स्थापित फाउण्डेशन र मजदुरलाई प्राप्त सहयोगको कार्य प्रशंसनीय भएको बताउनुभयो । स्वर्गिय अधिकारी जीवन र राजनीतिका कठिन दिन पार गरेर पनि अविचलित त्याग र समर्पण गरेर राजनीतिमा स्थापित र जनताको मन मनमा बस्न सफल भएको बताउनुभयो ।

बागलुङ नगरपालिका–३ गुठीमा जन्मनुभएका अधिकारी बागलुङ क्षेत्र नम्बर १ को दोस्रो संसदिय निर्वाचनमा निर्वाचित हुनुभएको थियो । २०५५ फागुन ११ मा पैदल मार्ग मार्फत जनभेटघाटमा गलकोट जाने क्रममा बिहुँको सीर्पाली भन्ने स्थानमा हृदयघात भई निधन भएको थियो ।

लोकप्रिय नेताका रुपमा परिचित अधिकारीको २०७६ मा फाउण्डेशन दर्ता भएर उहाँका सपना पुरा गर्ने खालका कार्य थालनी गरिएको फाउण्डेशनका अध्यक्ष श्रीमती भिमा अधिकारीले बताउनुभयो । आगामी दिनमा बिभिन्न सामाजिक र परोपकारी कार्यमा फाउण्डेशनले कार्य गर्ने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *