एक जिल्लामा विद्युत अवरुद्ध हुँदा चार जिल्ला अन्धकार

आदर्श अनलाइन, बागलुङ

नेपालमा लोडसेडिङ अन्त्य भएको दुईवर्ष बढी भइसक्यो । तर साविक धौलागिरी अञ्चलको चार जिल्लामा अनियमित विद्युत आपूर्ती हुँदा सर्वसाधारण, उद्योगी तथा व्यवसायीहरुले हैरानी खेप्दै आएका छन् । साविक धौलागिरी अञ्चलका चार जिल्ला बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वत मध्ये एक जिल्लामा विद्युत अबरोध हुँदा चार जिल्लानै अन्धकार हुँदै आएको छ ।

राष्ट्रिय प्रशारण गे्रटको एक लाख ३२ हजार भोल्ट क्षमताको मोदी पावरहाउसबाट धौलागिरीका चार जिल्लामा एउटै फिडरबाट विद्युत वितरण भइरहेका कारण समस्या हुँदै आएको छ । दैनिकजसो चार जिल्ला मध्ये कतैन कतै समस्या भएको हुन्छ, तर त्यस जिल्लाको समस्याले मोदी फिडरनै बन्द गर्नुपर्ने कारणले चार जिल्लामै विद्युत आपूर्ती बन्द हुन्छ ।

लोडसेडिङ मुक्त भएपनि विभिन्न जिल्लामा आउने समस्याका कारण विद्युत अनियमित भइरहने विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख ईन्जिनियर शिव नारायण गोशलीले जानकारी दिनुभयो । “लोडसेडिङ हैन, विद्युत आपूर्ती अनियमित भएको हो” केन्द्र प्रमुख गोशलीले भन्नुभयो “मोदी पावरहाउसबाट एउटै फिडरबाट क्रमश पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ वितरण हुन्छ, कुनै जिल्लामा सानो समस्या आउदासाथ मोदीबाटै विद्युत काट्नुपर्ने समस्या छ ।” चार जिल्ला मध्ये कुनै एक जिल्लामा विद्युत पोल, तार तथा सवस्टेशनको ब्रेकरमा समस्या आउदासाथ अन्य जिल्लामा समेत विद्युत आपूर्ती नहुँनुनै मुख्य समस्या रहेको गोशलीको भनाई रहेको छ ।

यसको दिर्घकालिन समाधानका लागि चार जिल्लाका छुट्टा छुट्टै फेडर निर्माण गर्नुको विकल्प नरहेको गोशलीको भनाई रहेको छ । “विद्युत वितरणको पुरानो संरचनाले गर्दा अहिले आएर समस्या भएको हो” उहाँले भन्नुभयो “प्रत्येक जिल्लामा मोदीबाटै छुट्टा छुट्टै प्रशारण लाईन जिल्लामा ल्याउन सकेमा मात्रै यसको समस्या समाधान हुँनेछ ।” उहाँका अनुसार पुरानो विद्युत वितरणको संरचना हटाएर चार जिल्लामा नयाँ प्रशारण लाईन विस्तार गर्न अरबौं बजेट लाग्ने छ । अहिले बागलुङको रामरेखा सव–स्टेशन भन्दा अगाडी प्रशारण लाईनका अवरोध, रुख तथा अन्य संरचना हटाउनुपरेमा मोदीबाटै विद्युत बन्द गर्दा अन्य जिल्लामा समेत विद्युत जान्छ ।

अहिले प्रत्येक जिल्लामा बाढी पहिरोका कारण विद्युत पोलमा क्षति हुँदा बढी अनियमित भइरहेको, विद्युत प्रशारणको अवरोधका रुपमा रहेको रुख हटाउने कार्य भइरहेका कारण चार जिल्लामा पटक÷पटक विद्युत आपूर्ती अनियमित भइरहेको छ । पछिल्लो समय प्रत्येक शनिबारको दिन भने चारै जिल्लाका विद्युत कार्यालयले सूचना निकालेर मर्मतका लागि विद्युत बन्दनै गर्दै आइरहेका छन् । यसरी चार जिल्लाका सव–स्टेशन, ब्रेकर लगायतका उपकरणमा समस्या आउँदा विद्युत नियमित हुँन सकेको छैन । चार जिल्लामा वितरण भइरहेको ३३ केभिय प्रशारण लाईनमा मात्रै समस्या आएमा मोदीबाटै विद्युत कटौंती गर्नुपर्ने बाध्यताले एक जिल्लामा समस्या आउँदा चार जिल्ला अन्धकार हुँदै आएका छन् ।

विद्युत उत्पादन र क्षमताका हिसावले एक मिनेटपनि विद्युत सेवा अबरुद्ध हुँन नपर्ने अवस्थामा दिनमै पटक÷पटक विद्युत आउँने जाने समस्याले व्यवसायमा समेत नराम्रो असर पर्ने बागलुङ होटल व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो । “लोडसेडिङको समयमा तालिका हेरेर काम गर्न सकिन्थ्यो, तर अहिले कतिवेला विद्युत जान्छ पत्तै हुँदैन कहिले एकै छिनमा आउछ, कहिले दिनभर आउदैन” राजभण्डारीले भन्नुभयो “झ्याप झ्याप्प विद्युत जादा विद्युतीय उपकरण समेत विग्रदै आएका छन् ।” बिहानदेखि रातिसम्म पनि विद्युत नियमित नहुँदा नागरिकहरुले चर्को गुनासो गर्न थालेका छन् । पर्वतको सव–स्टेशन मर्मत गर्नुपरेपनि चारै जिल्लामा विद्युत जान्छ, मुस्ताङ जिल्लाको सव–स्टेशनमा समस्या आएपनि अन्य जिल्लामा विद्युत जादै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *