विपदमा स्वास्थ्यको कसरी ख्याल गर्ने ?

वर्षाको सकस अझै कायमै छ । बाढी पहिरोको बिपद्ले यसवर्ष बागलुङले ठुलो जनधनको क्षति बेहोर्नु प¥यो । अहिले सम्म ३० भन्दा बढी मानिसको ज्यान गएको छ भने करोडौंको भौतिक संरचना ध्वस्त भएका छन् । ५ सय बढी परिवार घर बगाएर र पहिरोको थप जोखिममा परे पछि बिस्थापित छन् । विपद्को बेलामा अरु धेरै तनाव त हुन्छ नै । यसबेला स्वास्थ्यमा कस्ता असर पर्न सक्छन् ? कस्ता रोगहरु लाग्न सक्छन् ? यसबाट बच्न के गर्नु पर्दछ ? बाढी पहिरोको विपद् भोगिरहेका स्थानका स्वास्थ्यकर्मी सँग अग्रसरकर्मी साधना पन्तले टेलिफोन मार्फत गरेको कुराकानीको सम्पादित अशंः

गोविन्द आचार्य
स्वास्थ्य शाखा प्रमुख
जैमिनी नगरपालिका
अहिले बर्खाको समय भएकाले धेरै ठाउँमा बाढी पहिरो आइरहेको छ । जैमिनी नगरपालिका पनि यसबाट अछुतो छैन । अरु धेरै ठाउँमा विपद्का घटनाहरु भइरहेका छन् । धेरै पानी पर्ने भएकाले भिरालो स्थानमा बस्ने मानिसहरुलाई पहिरोको जोखिम पनि बढी हुन्छ । बाढी पहिरोले गर्दा पिउने पानीको मुहानमा बाढी र फोहोर पसेर मुहान, धारा प्रदुषित बनाएको हुन्छ । सबै भन्दा यो बर्खाको समयमा अनिवार्य रुपमा पानी उमालेर मात्र पिउनु पर्दछ । यो समय सिजन परिवर्तन हुने समय पनि हुने भएकाले मानिसहरुलाई मौसमी रुघाखोकी, ज्वरो आउने हुन सक्दछ । त्यस कारणले यस्ता खालको रोगबाट बच्ने उपाय भनेको उमालेको पानी पिउने, स्वस्थ खानेकुरा खानु नै हो ।

जैमिनी नगरपालिकाले पहिरो गएको स्थानमा सुरुमा मानिसहरुलाई सुरक्षित स्थानमा सारेर उनीहरुको मनोबल उच्च गराउनका लागि हामीहरुले सम्झाउने गरेका छौ । बाढी, पहिरोले गर्दा मानिसहरुको स्वास्थ्यमा असर परेको हुन्छ । उनीहरुको मनोबल कम हुने, मानसिक तनाब हुने, स्वस्थ, सफा खानेकुरा खान नपाउँदा स्वाथ्यमा असर पर्ने भएकाले मानिसहरु विशेष ध्यान दिन आवश्यक हुन्छ । नगरपालिकाले पहिरोको जोखिममा भएका मानिसहरुलाई सुरक्षित साथ बस्नका लागि अनुरोध गरेको छ । प्राथमिक उपचार, राहतको व्यवस्था सबै नगरपालिकाले नै अहिले सम्म गरेको छ ।

पहिरोले गर्दा गाइबस्तुहरु मरेका हुन्छन् । दुर्गन्ध फैलिएर झिङ्गा भन्कने प्रदुषणको अवस्था बढ्न सक्छ । त्यसकारण सरसफाईमा ध्यान दिने, पोषणयुक्त खानेकुराहरु खानु पर्दछ । बर्खाको समयमा सरसफाईमा ध्यान दिने स्वस्थ खाने कुरा खानु पर्दछ ।

रविन्द्र केसी
अहेव, बोबाङ स्वास्थ्य चौकी

अहिले बर्खाको समय भएकाले नियमित पानी परेको छ । त्यसले गर्दा बाढी आउने, पहिरो जाने गएको छ । ढोरपाटनको कुरा गर्दा गत भदौ १७ गते राति पहिरो सँगै आएको बाढीले गर्दा मानिसहरुको जनजीवन प्रभावित भएको छ । म स्वास्थ्यकर्मी भएकाले शुरुमा हामीहरु त्यहाँ पुगेर मानिसहरुको प्राथमिक उपचार गरेका थियौ । घाइते मानिसहरुको शरिरमा देखिने चोट भन्दा पनि उनीहरुलाई मानसिक चोट बढी लागेको हामीले महशुस गरेका थियौ । कसैले बुवा आमा गुमाएका छन् । कसैले छोरोछोरी गुमाएका छन् । बस्नलाई बास छैन, खानालाई गास छैन, दुःख सुखका कुरा गर्नलाई परिवार छैनन्, शरिरमा चोटै चोट छन् । शरिरको चोट भन्दा परिवारका सदस्य गुमाएका पिरले आँखा रसाएको देख्दा हामीहरुले उनीहरुको मनोबल उच्च राख्नका लागी सम्झाउने, हौसला दिने काम शुरु गरेका थियौ ।

ढोरपाटनका बाढी पिडीतलाई अहिले सबै भन्दा धेरै स्वास्थ्यको समस्या आएको छ । उनीहरुको बस्ने बास नभएकाले सबै जना एकै ठाउँमा बस्नु पर्ने भएकाले अहिले कोरोना महामारीले गर्दा उनीहरुलाई धेरै खतरा हुन सक्दछ । मानिसहरु राहत वितरण भन्दै धेरै भन्दा धेरै मानिसहरु दिन प्रतिदिन त्यहाँ गएको पाइन्छ । त्यसले गर्दा कोरोनाको जोखिम उच्च छ त्यस स्थानमा । त्यसकारणले यस्ता खालका समस्याबाट जोगाउन सरोकारवाला निकाय र सम्बन्धित व्यक्तिले पनि बिशेष ध्यान दिनु पर्दछ । बाढीले खाने पानीको मुहान बगाएको छ । स्वस्थ खाना, सफा पानी पिउनु पर्ने समयमा उनीहरुले छाक टार्न जस्तो पनि खानाहरु खान बाध्य छन् ।

बाढीबाट प्रभावित मानिसहरुलाई जनचेतनामुलक कार्यक्रमहरु अति आवश्यक रहेको मैले महशुस गरेको छु । उनीहरुले पानी उमालेर खाने, पोषणयुक्त खानेकुरा खाने, सरसफाईमा ध्यान दिन जरुरी छ । यो समय मौसम परिवर्तन हुने समय पनि हो । त्यसकारण मौसम परिवर्तन हुने समयमा मौसमी रुघाखोकी, ज्वरो लाग्न सक्दछ । त्यसैले बाढी प्रभावित ठाउँका मानिसहरुलाई यस्ता खालका रोगबाट बचाउनका लागि सफा पानी, स्वस्थ खानाको व्यवस्था मिलाउन आवश्यक हुन्छ ।
अहिले हामीहरुले स्वास्थ्य चौकीमा सेवा दिने क्रममा पनि मानिसहरु धेरै झाडापखाला, बान्ता, हैजा लागेर रुघाखोकी लागेर आउनु हुन्छ । यो समयनै यस्तो खालका रोग लाग्ने समय हो । यस्तो किन भएको छ भने सफा पानी नपिउँदा भएको हो । यसबाट बच्न पानी उमालेर पिउनु पर्दछ ।

अहिले लकडाउन पनि छैन । चाडबाड नजिकिदै छ । सहर बजारबाट मानिसहरु गाउँ पस्ने क्रम बढ्न थाल्दछ । गाउँमा भिडभाड लाग्ने भएकाले कोरोनाको जाखिम बढ्न सक्दछ । नेपालीहरुले चाडबाडमा बिभिन्न खानाका परिकार बनाउने, खाने भएकाले यो चाडबाडको समयमा खानपानमा पनि ध्यान दिनु आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *