अब सबै तहमा कोभिड १९ अस्पताल

आदर्श अनलाइन, बागलुङ
जिल्लाका १० वटै स्थानीय तहमा कोभिड–१९ संक्रमितको उपचारका लागि पाँच शैयाको कोरोना अस्थायी अस्पताल निर्माण हुने भएको छ ।

कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सबै स्थानीय तहलाई पाँच शैयाको अस्थायी अस्पताल बनाउन पत्राचार गरेपछि जिल्लाका सबै स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माणमा जुटेका छन् ।

अस्पताल निर्माणका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङमा प्रत्येक स्थानीय तहका लागि १० लाख रूपैयाँका दरले बजेट आएको छ । केन्द्र सरकारको नीति अनुसार जिल्लामा बजेट पठाइ सकेको जानकारी आएकाले कोभिड १९ को अस्थायी अस्पताल निर्माण थालिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउँनुभयो । बरेङ गाउँपालिकाले हाल सम्म कोरोना पुष्टि भएका संक्रमितलाई धौलागिरी अस्पतालको आइसोलेसनमा पठाउने गरेको थियो ।

अब गाउँपालिकामै राख्ने गरि काम अघि बढाइएको उहाँको भनाई छ । अस्पताल निर्माण तथा स्वाथ्यकर्मीको तलब सहित १० लाख रुपैयाँ केन्द्र सरकारले दिने र अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्ने अध्यक्ष शर्माले बताउनुभयो ।

प्रत्येक अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीको व्यवस्था हुनेछ । यसका लागि खुल्ला प्रतिस्पर्धाबाट स्थानीय तहले जनशक्ति पदपूर्ति गर्न सक्नेछन् ।

जिल्लाको बागलुङ नगरपालिकामा धौलागिरी अस्पतालले कोरोना अस्पतालको रुपमा सेवा प्रवाह गरिरहेको छ भने ढोरपाटन नगरपालिकाले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पनि कोभिड १९ अस्थायी अस्पताल निर्माण गरिसकेको छ । अन्य ७ पालिकामा भने अहिले निर्माणको तयारी छ ।

काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा कोभिड १९ को अस्थायी अस्पताल निर्माण गर्न बाँकी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *