अस्पताल बसाई कष्टप्रद,अहिल्यै सतर्क बनाैँ : जिसस प्रमुख

खेमराज गौतम, बागलुङ
जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले पाँच साता लामो संर्घष पछि कोरोना जितेर घर फर्किनुभएको छ ।

गत साउनको ३१ गते कोरोना संक्रमण पुष्टी भएर धौलागिरी अस्पतालको आइसोलेसनमा बसेको ३७ दिनमा ढुंगाना आइतवार कोरोना मुक्त हुनुभएको हो ।

ढुंगानाको छैठौँ पटक सम्मको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालमा आइसोलेसनमा उपचाररत संक्रमित मध्ये सबै भन्दा लामो समय अवधिमा ढुंगानाले कोरोना जित्नुभयो ।

आइतबार सातौँ पटक गरिएको परीक्षणमा कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि उहाँ डिस्चार्ज हुनुभएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताउनुभयो ।

अस्पतालबाट डिर्चाज हुने क्रममा जिसस प्रमुख ढुंगानाले आँफु निकै सचेत हुँदा हुँदै पनि कोरोना संक्रमणबाट जोगिन नसकेको बताउनुभयो । यात्राका क्रममा खाना खाने क्रममा कोरोना भाइरस संक्रमण सरेको हुन सक्ने उहाँको भनाई थियो । कोरोना जितेर अस्पतालबाट बाहिरिने क्रममा पत्रकार समक्ष आफ्नो अनुभव सुनाउँदै ढुंगानाले कतिपय समयमा आँफु बिचलित जस्तो अवस्थामा पुगे पनि उच्च मनोबल र धेर्यताले कोरोना जितेको बताउनुभयो ।

गत साउन महिनाको ३१ गते अस्पतालमा भर्ना हुनुभएका ढुंगाना असोज ४ गते मात्रै अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अस्पतालको लामो बसाई पछि डिस्चार्ज हुनुभएको ढुंगानाले अस्पताल बसाई निकै पीडादायी हुने भन्दै कोरोना संक्रमण हुनै नदिने गरि सतर्कता अपनाउनु नै राम्रो विकल्प भएको उहाँको भनाई छ । ‘अस्पतालमा यति लामो बसाई हुँदा मन निकै आत्तिदो रहेछ, खाना खाने बेलामा संक्रमण भएको हुन सक्छ, अघि पछि म निकै सचेत थिए,’ ढुङ्गानाले भन्नुभयो ‘कोरोनाको पुरै सक्रिय लक्षण देखिएका कारण पाँच दिन निकै समस्या भयो, मानसिक रुपमै बिचलित हुन्छु कि भन्ने समेत चिन्ता लाग्यो ।’ अस्पताल बसाईको ५ देखि १० दिन सम्म ज्वरो आउने, टाउँको दुख्ने, घुमाउने लगायतका लक्षण देखिएको बताउनुभयो ।

‘कुनै बेला त मैले अस्पताल छु की अन्तै छु भन्ने सम्म थाहा पाइन’ जिसस प्रमुख ढुंगानाले भन्नुभयो ‘मलाई भाइरस प्रवेश गरेको ४५ दिनमा संक्रमण मुक्त भएको छु, माक्स लगाएको अवस्थामा मलाई कोरोना सर्ने थिएन भन्ने लाग्दछ ।’ उहाँले अस्पतालको बसाईमा स्वास्थ्यकर्मीको खटाई प्रति प्रशंसा गर्नुभयो । आइसोलेसनमा नियमित व्यायाम तथा अधिक तातोपानी पिउने गरेको उहाँ बताउँनुहुन्छ । नागरिक स्तरबाटै सचेत नभए संक्रमणको जोखिमबाट बच्न नसकिने, माक्स र नियमित हात धुनेमा ध्यान दिनुपर्ने बताउनुभयो ।

अस्पताल बसाईमा समय कटाउनै गाह्रो भएको अनुभव उहाँको थियो । आँफु समयमै सचेत भएका कारण आँफुबाट अरुलाई कोरोना सर्न नपाएको ढुंगानाले बताउनुभयो । अस्पतालको व्यवस्थापन राम्रो भएको भन्दै ढुंगानाले रोग प्रतिरोधी क्षमता बढाउने तत्व भएको खाना खानुपर्नेमा जोड दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *