बन्दाबन्दीको सदुपयोग : विद्यार्थीले बनाए चल्ला कोरल्ने ह्याचरी मेसिन

आदर्श अनलाइन, बागलुङ

बन्दाबन्दीका कारण धेरैले समय विताउन सकस भएको गुनासो गर्दै लामो समय व्यतित गरे । यस अवधिमा धेरैको रोजगारी गुम्यो पनि । अध्ययन, पेशा, व्यवसाय सबैजसो क्षेत्र ठप्प प्रायः बन्यो ।

तर, बागलुङका एक युवाले बन्दाबन्दीको समय सदुपयोग गरि अण्डा पार्ने र चल्ला कोरल्ने ह्याचरी मेसिन बनाएका छन् । जुन मेसिनले अहिले अण्डाबाट चल्ला उत्पादन भइरहेको छ । बन्दाबन्दीको समयमा परीक्षण स्वरुप गरिएकोमा अहिले सफलता मिलिरहेको छ ।

बागलुङ नगरपालिका–३ सिम्लेका २३ वर्षिय समाधान शर्माले तीन महिनाको अथक प्रयास पछि अण्डा कोरल्ने औजार निर्माण गरेका छन् । विद्युतबाट चल्ने उक्त औजारबाट ह्याचिङ गरेका कुखुराका चल्ला उत्पादन भइरहेका छन् ।

पूर्वाञ्चल इञ्जिनियर क्याप्सको आठौं सेमेस्टरमा कम्प्युटर इञ्जिनियर अध्ययन गरिरहनुभएका शर्माले कोरोनाका कारण चल्ला आयात हुने अवस्था नरहे पछि घरमै पुराना उपकरण जडान गरि ह्याचरी मेसिन बनाउनुभएको छ । उहाँले बनाएको औजारले चार पटक सम्म सफलतापूर्वक अण्डाबाट चल्ला उत्पादन भइसकेको छ ।

समाधान बुवा बद्रिप्रसाद शर्मा र ठूलो बुबा नारायण शर्माको गौडाकोट स्थित कृषि गाउँ छेउमा ठूलो कृषि फर्म सञ्चालनमा छ । नारायण कृषि फर्ममा माछा र कुखुरा पालन गर्ने गरिएको छ । बन्दाबन्दीका कारण पढाई रोकिएर घरमा आउनुभएका शर्माले फर्ममा चल्लाको अभावमा कुखुरा पालनमा समस्या भए पछि अध्ययन तथा अनुसन्धान गरि पुराना उपकरण जडान गरेर अण्डा पार्ने र चल्ला कोरल्ने ह्याचरी मेसिन निर्माण गरेको बताउनुभयो ।

‘बन्दाबन्दीका कारण घरमा आएको समयमा बाबाको फर्ममा सहयोग गर्दै आएको थिए, फर्ममा कोरोनाका कारण चल्ला आयात नहुँदा कुखुरा पाल्न समस्या भएको थियो’ समाधानले भन्नभयो ‘सम्बन्धित विषयको अध्ययन समेत भएकाले मलाई फर्ममै चल्ला उत्पादन गर्न सकिन्छ कि भन्ने विषयमा सोचे, अध्ययन तथा अनुसन्धान पश्चात पुराना उपकरण जोडजाम गरि काठको फ्रेम ह्याचरी औजार बनाएको हु ।’

पहिलो औजारले अण्डाबाट चल्ला उत्पादन गर्न थालेपछि आधुनिक उपकरण जडान गरी थप औजारहरु बनाएको शर्माको भनाई छ ।

शर्माले हाल सम्म चार वटा ह्याचरी मेसिन बनाई सकेका छन् । उहाँको फर्ममा दुई वटा औजारले चल्ला उत्पादन दिइराखेको छ भने २ औजार बिक्रीका लागि तयार गरिएको हो । उहाँहरुको आफ्नै फर्निचर समेत रहेकाले व्यावसायिक रुपमै ह्याचरी औजार उत्पादन गर्न थालिने शर्माका बुबा बद्रिप्रसाद शर्माले जानकारी दिनुभयो ।

चल्ला आयात नभए पछि कुखुरा पाल्न बन्द भएपछि शर्माको परिकल्पनामा उक्त औजार आविश्कार गरिएको हो । शर्माले निर्माण गरिएको ह्याचरी औजारमा काठको फ्रेम, विद्युत कन्टोलर, हिटर, इन्सुलेसन, आल्मुनियम, लबडको ट्युबर र अण्डा घुमाउने टर्नर जडान गरिएको छ ।
शर्माले आविश्कार गरेको औजारमा एक पटकमा ९ सय चल्ला उत्पादन गर्न सकिनेछ । अण्डाबाट चल्ला उत्पादन हुनका लागि चराका प्रजाती अनुसार फरक फरक समय लाग्ने नारयण कृषि फर्मका सञ्चालक नारायण शर्माले जानकारी दिनुभयो । शर्माले १५ वर्षदेखि व्यवसायिक कृषि पेशा अगाल्दै आउनुभएको छ ।

अब फर्ममा बाहिरबाट चल्ला आयत गर्नुपर्ने बाध्यता हटेर गएको छ भने अन्य किसानले समेत सस्तो मुल्यमा उक्त औजार खरिद गरेर लान सक्नेछन् । उक्त औजारलाई ८० हजारमा बिक्री गर्ने शर्माको योजना छ । शर्माले तीन महिनामा तयार गरेको पहिलो ह्याचरी औजारले असार १ गतेदेखि चल्ला उत्पादन गर्न शुरु गरेको छ ।

विद्युतबाट सञ्चालन हुने ह्याचरीले लोकल कुखुरा, कोइलर, हाँस, गिरिराज कुखुरा, बट्टाई, लौकाट र टर्कीका अण्डाबाट चल्ला उत्पादन गर्दै आएको छ । कुखुराको २१ दिनमा अण्डा कोरलेर चल्ला पार्ने उक्त औजारले चराको प्रजाती हेरेर ढिलोचाडो हुने गर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *