कृषिता अधिकारी (निशा)
साँच्चै भन्ने हो भने आज विद्युत प्राधिकरणको विषयलाई लिएर यतिवेला देश तरंगित बनिरहेको छ । विभिन्न सञ्चार माध्यमबाट प्राधिकरण प्रमुखकै बिषयमा चर्चा परिचर्चा भइरहेको छ । आम नागरिकहरु पनि अहिलेको विषम परिस्थितिमा बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङको नियुत्तिको माग सहित सडकमा प्रर्दशनमा समेत उत्रिरहेका छन् । यो दृष्य हेर्दा र चिन्तन गर्दा समाजशास्त्रको विद्यार्थी भएको नाताले पनि र आम नागरिकको हिसाबले पनि यस सम्बन्धमा आफ्ना केही अभिव्यक्ति राख्न मन लाग्यो । समाजशास्त्रको दृष्टिकोणले हेर्नु पर्दा हाम्रो समाजलाई विशेष गरी सामाजिक आर्थिक र राजनीतिले निकै नै प्रभाव पारेको छ । किनकी यहाँ सामान्य विषय देखि लिएर हरेक पक्षमा राजनीतिक चलखेल हँुदै आइरहेको अवस्था छ ।
समाज परिवर्तन गर्नको लागि सामाजिक, साँस्कृतिक,आर्थिक तथा राजनीतिक पक्षहरु नै प्रमुख मानिन्छन् । र तीनै प्रमुख पक्षहरुको सहायताले नै विकास निर्माण हुने हो । यसैगरी समाज निर्माण गर्न विकासको आवश्यकता पर्दछ । यसकै आवश्यकताले नै देश परिवर्तनको दिशा तर्फ उन्मुख हुन्छ । कुनै एक त्यस्तो पनि युग थियो वा भनौ जमाना थियो । जहाँ आगो बाल्नका लागि दाउरा प्रयोग गरिन्थ्यो । चुलो चौको तथा ढिकी जातोको जमाना थियो । घाँस दाउरा गर्दै बनपाखामा रमाउने चलन थियोे । जहाँ बाझो खेत गोरुले जोत्ने चलन थियो । जसमा ढुंगा माटाको घरमा लिपपोत गरिन्थ्यो । तर, समय धेरै फेरिएको आभाष हुन्छ । विस्तारै विस्तारै परिवर्तन हुदै आज दाउराको सट्टा ग्यास सिलिन्डरको प्रयोग गरिन्छ । बाझो खेतमा अब गोरु होइन, मिनी टेलर हलो र ट्याक्टर नचाइन्छ । ढुंगा माटाको घर ओध्रिन्छ, लिपपोत गर्न झञ्झट हुन्छ, त्यसैले पनि सिमेन्टको घर बनाउने चलन अथवा समय आइसकेको छ । साँच्चै नै समयले तिव्र गतिमा फड्को मार्दैछ । आज अधिक नागरिकको घर घरमा बिजुली बत्ती आइसकेको अवस्था छ । विजुजी बत्तीको सन्दर्भमा ती पुराना यादहरुलाई समेट्न मन लाग्यो । यतिखेर कतै सुनेको आधारमा त कतै भोगेको आधारमा आँफुलाई विगतका बालापन तर्फ मोडिन मन लाग्यो । कुनै दिन यस्तो जमाना थियो, समय थियो । जसमा गाउँ–बिजुली बत्ती पुगिसकेको थिएन । जहाँ दियालो बाल्ने गरिन्थ्यो । मानिसहरु केवल टुकीको सहारामा जीवन विताउँथे । त्यो एक समय यस्तो पनि थियो की मट्टितेलको निकै महत्व थियो । मट्टितेलको लागि गाउँबाट बजार सम्म झर्नुपथ्यो । जहाँतही नपाइने पाइहाल्यो भने पनि भिड लाग्थ्यो त कतै लाइन कुर्नुपथ्र्यो । अझै पनि मलाई याद छ, मानिसहरु शिसाको बोतलमा मट्टितेल राखेर लुगाको झुम्रो कोचर बत्ती बाल्ने गर्थे र रातको समय हिँड्ने गर्थे वा भनौ लाल्टिन बाल्थे पनि ।
विस्तारै त्यो समय परिवर्तन भए सँगै स्टोप,मैन बत्ती हुदै आज घरघरमा बिजुली बत्ती बल्दैछ । कयौं समस्या चुनौतीहरु पार गर्दै आज देशमा ठुला–ठुला विकास भइरहेको छ । आज देशमा करिब ६७.२६ प्रतिशत आम मानिसले विजुली बत्ती प्रयोग गर्दछन् ।
बिजुली बत्ती अर्थात विद्युत प्राधिकरणको स्थापना तत्कालिन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले सन् १९११ अर्थात् वि.सं. १९६८ मा काठमाण्डौँ उपत्यकामा निर्मित ५० किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत् परियोजना सँगै गरेका थिए । एसियाकै प्रथम जलविद्युत परियोजनाको रूपमा चिनिने यस केन्द्रबाट उत्पादित ४ सय किलोवाट विद्युत् वितरण सुव्यवस्था गर्न एउटा अड्डाको आवश्यकता महसुस गरिएको थियो । जसमा ’बिजुली अड्डा’ नामक एउटा अड्डा स्थापना गरियो । यसरी एसियाकै सबै भन्दा लामो विद्युत इतिहास बोकेको देश नेपालका नागरिक बिगतमा अठार घण्टा सम्म लोडसेडिङ हुने गरेको नेपालमा हाल भने अधिकांश ठाउँहरुमा विद्युत पुगिसकेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार मट्टितेलमा बत्ती बाल्नेको संख्या १८.२८ प्रतिशत रहेको तथ्यांक थियो । साँच्चै नै विगत ४ वर्ष अघि सम्म १८ घण्टा लोडसेडिङ हुन्थ्यो । गरिब जनताहरु अध्यारोमै बस्न बाध्य थिए । टुकी मैन बत्ती प्रयोग गर्नुपथ्र्यो । लोडसेडिङकै कारणले पनि विद्यार्थीहरु पढ्न पाउने थिएनन् । जसले गर्दा विभिन्न समस्याहरु उत्पन्न हुने गरेको थियो ।
सन् २०१६ सेप्टेम्बरमा कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको प्रबन्धकमा नियुक्त भए संगै वि.सं.२०७३ साल कात्तिक लक्ष्मी पुजाका दिन देखि काठमाण्डौबाट लोडसेडिङ मुक्त गर्ने अभियान प्रारम्भ भयो । तत्पश्चात २०७३ चैत १ गतेदेखि देशव्यापी रुपमा नेपाललाई लोडसेडिङ मुक्त गरियो । उनको कार्यकाल ४ वर्षको थियोे । तीनै ४ वर्षको कार्यकालमा उनले ६० मेगावाटको त्रिशूली थ्रिए, चमेलिया र कुलेखानी ३ जस्ता रुग्ण आयोजना सम्पन्न गराएका थिए ।
र उनले ४ वर्षको अन्तरालमा थुप्रै कार्य गरे । जुन सह्रानीय छ । दैनिक १८ घण्टा लामो लोडसेडिङ खेपिरहेका हामी जनतालाई आज कुलमानले लोडसेडिङ मुक्त गरी सबैको घरघरमा उज्यालो ल्याउने काम गरेका छन् । उनले लोडसेडिङको समस्या मात्र समाधान गरेनन्, उनले नेपालमा हुदै आएका र भइरहेका भष्ट्रचार, कालोबजारी, कमिसनको खेल लगायतका बिरुद्ध इमान्दारिताका साथ साहसिक प्रयत्न गरे । जसबाट असम्भव जस्तो लाग्ने काम सम्भव भयो । गरिब जनता वर्षाैदेखि अध्यारोमा रात विताउन वाध्य भएका नेपालका त्यस्ता ठाउँहरु जसमा बिजुली पुगिसकेको थिएन, त्यस्ता ठाउँहरुमा उज्यालोको पहुँच पु¥याउने काम गरे । एउटा अविस्मरणीय अभुतपुर्व कर्मका कारण अहिले पहिलो कार्यकाल सकिदाँको वर्तमान समयमा ठुलो जमान सामाजिक सञ्जालदेखि सडक सम्म आएर कुलमान घिसिङलाई पुनः नियुक्तिको माग गरिरहेका छन् । कारण उनले गरिब जनताको पिर मर्का समस्या र चुनौतीहरुलाई आत्मसाथ गरे र उनको यो कार्य प्रति नेपाली जनताले कतज्ञता व्यक्त गरे । यसकै प्रतिफल कोभिड १९ को विषम परिस्थितिमा पनि सडकमा जनता आन्दोलन गरिरहेका छन् । हामीलाई लोडसेडिङ चाहिदैन,कुलमान फाल्न पाइदैन भन्ने जस्ता विभिन्न नाराहरु घन्किरहेका छन् । उनकै लागि कैयन जनता घाइते भएका छन् । लाठीचार्ज सहन बाध्य भएका छन् । यतिबेला सञ्चार माध्यमनै विद्युत प्राधिकरण कुलमानको विषय नै प्रमुख भइरहेको छ । हामीले दिन प्रतिदिन सञ्चार माध्यम सामाजिक सञ्जालहरुमा देखिरहेका छौ । नेपाली जनताहरु बारम्बार कुलमान घिसिङको नियुक्तिको पक्षमा उभिदाँ प्रहरी निर्मम कुटाइबाट घाइते भउका छन् । एउटा कर्मचारीका लागि यो अवस्था सिर्जना हुनु निश्चय पनि एउटा देश, सरकार र राज्यका लागि लज्जाकै बिषय हो ।
आज बुद्ध जन्मेको शान्तिको प्रतिक मानिने देशमा दिनानुदिन हिंसात्मक घटनाहरु भइरहेका छन् । देश अशान्त र प्रदुषित भइरहेको छ । बलात्कारका घटना रोकिएका छैनन् । कंयौ नारीहरुले न्याय पाएका छैनन् त आज भयावहको स्थिति सृजना भएको अवस्था छ । कति सजिलो भएको छ, आज फर्सी काटे झै मान्छे काटिन्छ तर, सरकार मुकदर्शक देखिन्छ । राजनीतिक खिचातानीमै मस्त छ, फुर्सद छैन गरिब जनताले पेट भरे कि भरेनन् भनेर जानकारी लिन । यस्तो विषम परिस्थितिमा कसरी जीवन धानिरहेका छन् ? नेपाली जनता भोको बस्नुपर्दैन भनेर भाषण गर्छ सरकार तर बाहिर जनता भोकले भौतारिरहेको अवस्था बिद्यमान छ । यसैगरी आज अमानवीय क्रुर क्रियाकलापहरु भइरहेका छन्, प्रहरी प्रशासनको दमन अत्याचार पनि हामीले देखिरहेका छौ । अपराधीलाई जसरी लछार पछार त कतै लाठीचार्ज बर्साइन्छ, टाउको फुटाइन्छ । आखिर किन ? कस्तो किसिमको आदेश हो यो ? जहाँ एक व्यक्तिले नागरिकका तर्फबाट आवाज उठाउँदा ठुलै अपराधीलाई जस्तै निर्मम प्रहार ? सरकारले ठोस कदम चालेको के कानुन सबैको लागि बराबरको होइन र ? आज साच्चै नै राजनीतिको फोहोरी खेल खेलिदैछ । राम्रा मान्छे भन्दा आफ्ना मान्छे छान्ने प्रवृत्ति आखिर कहिलेसम्म ? शक्तिको आडमा गरिब जनतालाई दुःख दिने विभिन्न भ्रम प्रलोभनमा पार्ने काम भइरहेको छ, हामी आम जनताले देशको लागि राम्रो काम गर्ने गरिब जनताको पिर मर्का बुझ्ने नेता छानेका हौ । देशमा नयाँ–नयाँ नीति निर्माण होला, समाजमा भएका विसंगति विकृति हट्ला । स्वदेशमै शिक्षा, स्वास्थ्य, रोजगार प्राप्त होला । देशले मुहार फेर्ला भनेर चुनेका हौ नि । त्यसैले अब गरिब जनता हिंसामा बाँच्न चाहन्नन् । अब नेपाली जनताहरु सोझो छैनन् किनकी राम्रो नराम्रो या सही गलत छुट्टाउने विवेक र सामथ्र्य राख्छन् । अब देशलाई भ्रष्टाचार मुक्त घोषणा गर । अब हत्या हिंसा मुक्त देश बनाउ । हामी अध्यारो, सकसपूर्ण जीवनबाट मुक्ति पाउन चाहन्छौं । यदि हत्या हिंसा भष्ट्रचार कालोबजारी यी र यस्ता प्रकारका क्रियाकलाप नरोक्ने हो भने कसरी बन्न सम्भव छ सुखी नेपाली समृद्ध नेपाल । त्यसैले राम्रो काम गर्ने इमान्दार व्यक्तिलाइ राज्यको उच्च पदमा सरकारले नियुक्त गर्नुपर्छ ।