जैमिनीका पहिरो पीडितलाई जिल्ला सहकारी संघ र बागलुङ समाज पोर्चुगलको सहयोग

आदर्श अनलाइन, बागलुङ
बागलुङको जैमिनी नगरपालिकामा बाढीबाट पीडित बनेका ७ परिवारलाई जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र बागलुङ समाज पोर्चुगलका तर्फबाट २ लाख रुपैया राहत रकम प्रदान गरिएको छ । जिल्ला सहकारी संघका पदाधिकारीहरुको टोली मंगलवार जैनिमी नगरपालिका वडा नं. १ र ५ स्थित पीडितको घरमा पुगेर पीडितहरुलाई राहत रकम हस्तान्तरण गरेको हो ।

जिल्ला सहकारी संघले पहिरोमा परी मृत्यु भएका परिवारका सदस्यलाई जनही १५ हजारका दरले र घर क्षतिग्रस्त बनेका परिवारलाई ९ हजारका दरले आर्थिक सहयोग गरेको हो ।

यस्तै बागलुङ समाज पोर्चगलका तर्फबाट मृतकका परिवारका सदस्यलाई जनही १५ हजार ५५ र घर क्षतिग्रस्त बनेका परिवारलाई जनही ९ हजार १ सय ४० रुपैयाका दरले आर्थिक सहयोग गरेको हो ।

भदौ २८ र २९ गते आएको पहिरोमा परी जैमिनी नगरपालिका वडा नं. १ टुनीबोटका लक्ष्मीदेवी पाध्या र हरिकृष्ण शर्मा तथा वडा नं. ५ बिनामारेमा जाल्पा पाध्याको मृत्यु भएको थियो । पहिरोले वडा नं. १ टुनीबोटका पवित्रादेवी शर्मा, इन्द्र बहादुर क्षेत्री, नन्दलाल पौडेल, रिवनाथ पौडेल,, तारा बोहोरा क्षेत्री र शान्ति आचार्य क्षेत्रीको घर क्षतिग्रस्त बनेको थियो । पहिरो पीडितहरु यतिबेला छिमेकीको घरमा बसीरहेका छन् ।

बागलुङ लगायत छिमेकी जिल्लाका सहकारी संघ संस्थाहरुबाट रकम संकलन गरी पहिरो पीडितहरुका लागि सहयोग गरिएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो ।

बागलुङबाट पोर्चुगलमा गई विभिन्न पेशा व्यवसायमा रहेकाहरुले गठन गरेको बागलुङ समाज पोर्चुगलका तर्फबाट जैमिनीमा पहिरोबाट पीडितहरुको सहयोगार्थ १ लाख रुपैया रकम सहयोग भएको राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले बताउनुभयो ।

जैमिनी नगरपालिका वडा नं. १ टुनीबोटमा भएको राहत हस्तान्तरण कार्यक्रममा जैमिनी नगरपालिका उपप्रमुख लिला रानाले जैमिनीमा भएको पीडामा सहकारी अभियान र पोर्चुगलवासी नेपालीहरुले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्नुभयो । नेपाली समाजमा एकलाई पर्दा अर्कोले सहयोग गर्ने प्रचलनलाई यो अभियान थप बल पु¥याएको भन्दै उहाँले समस्यामा परेकाहरुलाई सबै मिलेर उद्धार र पुनस्थापना गर्नु पर्नेमा जोड दिनुभयो ।

यस्तै जैमिनी नगरपालिका वडा नं. ५ स्थित मृतक जाल्पा पाध्याको घरमा भएको राहत हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष गोपाल पौडेलले सहकारीको सिद्धान्त अनुसार समुदायमा परेको समस्यामा सहयोग गरेर जिल्ला सहकारी संघ र विदेशमा बसेर पनि जिल्लावासीलाई परेको समस्यामा सहयोग गर्ने बागलुङ समाज पोर्चुगललाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु), संघका सञ्चालक तथा नेपाल केन्द्रीय सूचना तथा सञ्चार सहकारी संघका लेखा सदस्य खीमबहादुर कार्की, आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्का पहिरोमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । राहत हस्तान्तरण कार्यक्रमको सञ्चालन जिल्ला सहकारी संघ बागलुङका सचिव तेजेन्द्र बहादुर थापाले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *