अब न अस्पताल आइसोलेसन, न कन्ट्याक्ट ट्रेसिङ

आदर्श अनलाइन, बागलुङ

जिल्लाको ढोरपाटन नगरपालिकाले कोरोना संक्रमणको समस्यालाई गम्भीर समस्याको रुपमा नलिने नीति अख्तियार गर्न थालेको छ ।

बाढी पहिरोले क्षत बिक्षत तुल्याएको ढोरपाटनमा समुदाय स्तरको परीक्षणमा सोमवार मात्र १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि संक्रमित भएका सबैलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखे पनि अब घर या अस्पताल बस्ने विकल्प स्वेच्छिक बनाइएको छ । संक्रमित भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ समेत नगरिने नगरपालिकाले जनाएको छ ।

जस अनुसार संक्रमित मध्ये ७ जना मात्र कोभिड १९ अस्थायी अस्पतालको आइसोलेसनमा छन् । अन्य ७ जना घरमै बसेका छन् । संक्रमित सँगै रहेका बाहेक अरुको कन्ट्याक्ट ट्रेसिङ नगरिने ढोरपाटन नगर स्वास्थ्य शाखाका प्रमुख घनाश्याम शर्माले जानकारी दिए ।

‘कोरोना संक्रमितको सम्पर्कमा भएकाहरु खोजी गर्दै घर–घर पुग्न अब सम्भव र साध्य छैन भन्ने कुरा भएको छ, दुई क्लिनिकवाला, होटल व्यवसायी संक्रमित भएका छन्, यसबीचमा उनीहरुकोमा कति आए र गए ? त्यसको लेखाजोखा गर्नै कठिन छ’ स्वास्थ्य शाखा प्रमुख शर्माले भने, ‘स्वास्थ्यका हिसावले हामीले यो कुरा भन्न मिल्दैन, तर जनप्रतिनिधिबाट यही खालको निर्देशन प्राप्त भएको छ । यसरी नै हामी अघि बढ्ने सोचमा छौ ।’ आगामी बुधवार कोरोना संक्रमितहरुको स्वाब लिएको एक साता पुग्ने भएकाले पुनः स्वाब लिएर पीसीआर परीक्षण गरे पछि थप रणनीति तय गरिने उनले बताए ।

जिल्लाको पश्चिम क्षेत्रका संक्रमितको उपचारका लागि लामो समयदेखि ढोरपाटन नगरपालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन तयार गरेर उपचार गरिरहेकोमा यसै साता मात्रै कोभिड १९ अस्थायी अस्पताल बनाएर उद्घाटन गरिएको थियो ।

‘विश्वले आत्समाथ गरिरहेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार कोरोनालाई अहिले नै पुरै बेवास्ता गर्न मिल्दैन, लक्षण देखिएका संक्रमितलाई आइसोलेसनमा राख्ने र संक्रमितको सम्पर्कमा भएकाहरुको पनि खोजी गरी स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्नुपर्छ,’ बुतिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.मिलन मल्लले भने, ‘तर यहाँको नगरपालिकाले नगर्ने भने पछि केही समस्या र अन्यौल पैदा भएको छ, हामी त सुझाव परामर्श दिने हो, अस्पताल आए उपचारमा कुनै कमी हुन दिन्नौ ।’

ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले कोरोनालाई अब धेरै ठुलो भयावह र आतंकको बिषय बनाउन नहुने बताए । ‘कोरोना रोकथाम र नियन्त्रणका लागि करिब ६ महिना हामी सबै जनशक्ति, स्रोत साधन प्रयोग गरेर अहोरात्र लाग्यौ, ३ करोड बढी खर्च भइसक्यो,’ मेयर नेपालीले भने, ‘अब खर्चले थेग्न पनि कठिन भयो, बजार सील गरेर ठप्प पारेर मात्र हुँदैन, रोगले भन्दा भोकले मर्ने अवस्था पनि बढ्दो छ, अब नयाँ ढंगले कोरोनाको सामना गर्नुपर्छ ।’ लक्षण देखिएका बिरामीको चेकजाँच र आइसोलेसनमा उपचार गर्ने बिषयमा भने बिशेष ध्यान दिइने नेपालले बताए ।

गत भाद्र १७ गते राति पहिरो सँगै आएको बाढीले २२ जनाको मृत्यु र १५ जना अझै बेपत्ता भएको घटना पछि ढोरपाटन क्षेत्रमा राहत संकलन, बितरण गर्नेको दैनिक बाक्लो उपस्थिति हुँदै आएको छ । बुर्तिबाङ बजार समेत पछिल्लो समय निर्वाध खुल्ला र मानिसहरु न्युनतम स्वास्थ्य सुरक्षा मापदण्डको समेत पालना नगरी हिँड्ने, डुल्ने क्रम जारी छ ।

समुदाय स्तरको नमुना परीक्षणका क्रममा ६९ जनाको स्वाब संकलन गरिएकोमा सोमवार कोरोना संक्रमण पुष्टि हुनेमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत तीन जना, प्राइभेट क्लिनिकका २ जना स्वास्थ्यकर्मी छन् । अन्य ७ जना भने होटल व्यवसायी, इलेक्टिसियन, मासु पसल र बैंकमा स्टाफ छन् ।

अहिले जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ४८ जना पुगेको छ । जसमा २ सय ९५ जना निको भइसकेका छन् भने ३८ जना बिभिन्न स्थानका आइसोलेसनमा छन् । एक जना युवकको भने मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *