संकटमा सहकारी बहसः अबको बाटो र विकल्प ?

कोरोना भाइरस (कोभिड १९) का कारण मानिसको जनजीवन लयमा छैन । विश्व अर्थतन्त्र प्रभावित छ । नेपालमा पनि पछिल्लो ६ महिना यता कोरोना संक्रमण र जोखिमका कारण जीवन र दैनिकी सकसपूर्ण बनिरहेको छ । कोरोनाका कारण धौलागिरीमा स्थापित सयौ सहकारी आफ्ना शेयर सदस्यलाई मुनाफा बाँड्ने बेला सम्म अब के गर्ने भन्ने अन्यौल र द्विविधामा देखिन्छन् । अहिलेको कोरोना संकटमा सहकारीको साधारणसभा कसरी गर्ने ? लामो समय अर्थतन्त्र प्रभावित भइरहेको संकटको समयबाट सहकारीलाई कसरी पुरानै लयमा फर्काउने ? आफ्ना शेयर सदस्यलाई यो कठिन क्षणमा कसरी सहयोग गर्ने र सहकारीको पृथक योगदानको अपनत्व र अनुभूति दिलाउने ? यी र यस्ता प्रश्नको सेरोफेरोमा आदर्शकर्मी साधना पन्तले धौलागिरीका विभिन्न सहकारीकर्मीहरुसँग सहकारीको अबको बाटो र विकल्पमा केन्द्रीत रहेर कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

सज्जन शाक्य
प्रबन्धक
बेनी बचत तथा ऋण सहकारी संस्था म्याग्दी

कोरोनाका कारण मुलुक लकडाउनको स्थितिबाट गुज्रिए पछि संस्थाको दैनिक कार्य सञ्चालन गर्न निकै कठिनाई भयो । कर्मचारीहरु नियमित संस्थामा आउने वातावरण नबन्दा सदस्यहरु सँग प्रत्यक्ष भेटघाट, कुराकानी, समस्या सुनुवाई र सम्वोधन नजिकबाट गर्न सकिएन । यथेष्ट छलफल हुन नसक्दा संस्था सञ्चालनमा कठिनाई उत्पन्न भयो । तर, यस्तो बिषम परिस्थितिमा पनि मुलुकको कानून, विश्व स्वास्थ संगठनले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड,सहकारी विभाग,सहकारी संघको मार्ग निर्देशन र सञ्चालक समितिले पारित गरेको जोखिम न्यूनिकरण सँग सम्वन्धित सम्पूर्ण विधि पालना गरी सदस्यहरुलाई सेवा प्रदान गरियो । सदस्यहरुलाई फोन सम्पर्क गरी विना दबाब केही आर्थिक क्रियाकलाप समेत सञ्चालन गरेका थियौ । कर्मचारी र सदस्यको मनोबल उच्च बनाउदै सामाजिक सञ्जालहरुको अधिकतम प्रयोग गरी आफ्ना सेवालाई निरन्तरता दियौ । अब बिस्तारै संस्थाका गतिविधि चलायमान भइरहेको अवस्था छ । हामी अझै पनि सम्पूर्ण सदस्यहरु सँग नियमित सम्पर्कमै छौ । संस्थाको आर्थिक क्रियाकलापले समेत विस्तारै गति लिइरहेको अवस्था छ । लकडाउनको स्थितिले लगानीको बातावरण नबन्दा लगानी योग्य रकम अर्थात् तरलता बढेको छ । यसका लागि हामीले सहुलियत ऋण कोषको स्थापना गरी कोरोनाका कारण प्रभावित बनेको व्यावसाय र सदस्यहरुको आर्थिक उन्नयनका लागि सहुलियत व्याजदरमा लगानी गर्ने योजना र कार्यावन्यनको दिशामा अघि बढिसकेका छौ । साघरण सभाको हकमा आर्थिक बर्ष सकिएको ६ महिना भित्र साधरण सभा गर्ने स्पस्ट व्यवस्था सहकारी ऐन र संस्थाको विनियममा उल्लेख भएको हँदा लेखा परीक्षण सम्पन्न गरिसकेका कारण हामी यो अवस्था अलि मत्थर भए पछि अर्थात् पौष महिना सम्म सम्पन्न गर्ने पक्षमा छौ । अवस्था जटिल बनिरहेमा संस्थाका सम्पूर्ण गतिबिधि र वित्तिय विवरण सहितको प्रतिवेदन तयार गरी सदस्यहरुमा पठाई राय,सल्लाह,सुझावहरु लिखितै माग गरेर भर्चुअल पद्दतिमा साधारणसभा गर्ने योजना बनाएका छौ । कोेरोना कहरका कारण सहकारीको बर्तमान अवस्था चिन्ताजनक नै छ । तर, यसलाई अवसरको रुपमा सदुपयोग गर्नुपर्दछ भन्ने मान्यता राख्दै हामीले संस्थाका धेरै क्रियाकलाप, प्रविधिमैत्री बनाउने प्रयत्न गर्दैछौ । यो अवस्था सम्म आइपुग्दा हामीले सामाजिक सञ्जालको अधिकतम प्रयोग गरी सदस्य सँग जोड्ने बिषयमा साधारण सभामा छलफल चलाउँछौ । गत बर्षको तुलनामा कारोवार र मुनाफामा बृद्घि भएको छ । यसलाई निरन्तरता दिन अब हामी प्रविधिको उच्चतम प्रयोग गर्दै सदस्यलाई समेत प्रविधिमैत्री बनाउन प्रयास गरीरहेका छौ । कोरोनाका कारण उठ्न नसकेका सावा, ब्याज उठाउन बिभिन्न रणनिती तयार गरी सदस्यहरु माझ जाने योजना गराएका छौ । बास्तवमा देशको अर्थतन्त्र ठप्प प्रायः भैरहेको अबस्थामा समेत अर्थतन्त्र थोरै भए पनि चलायमान बनाउने भनेको सहकारी नै रहेछ भन्ने प्रमाणित भएको छ । यस्तो बिषम परिस्थितिमा सदस्यहरुको आर्थिक क्रियाकलाप र जनजिबिका चलाउने बिषयमा समेत हामीले सदस्यहरुको घर–घरमा पुगेर दिएको सेवा मननयोग्य छ । बैंक तथा वित्तिय संस्थाहरु बन्द रहँदा समेत हामीले हाम्रा सदस्यहरुलाई प्रवाह गरेको सेवा सदस्यहरुले अवश्य पनि सम्झिरहने छन् जस्तो लाग्छ । सदस्यहरुले बैंक र सहकारीको फरक महशुस गरेका छन् । हामीले महामारीको बेलामा ब्याज र हजना छुट गरी सेवा दिएको बिषय होस् वा सदस्यहरुको कोरोना बीमा, महामारी र बिपद्को बेलामा राज्य कोषमा सहयोग गर्ने बिषय होस् । यसमा हामी सदस्यहरुको सारथी बनेर सदस्यको आर्थिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छौ । हामी अझ धेरै गर्न सक्छौ । यसका लागि सम्वन्धित निकायको पहल, सहयोग, सहकार्य र मार्ग निर्देशनको खाँचो छ । भनिन्छ–“निराशावादी चिन्तनबाट पार पाउन सकारात्मक सोचको आवश्यक्ता हुन्छ ।” हामी यति सकारात्मक सोच लिएर सदस्यहरुको माझ पुग्ने प्रयत्न गरिरहेका छौ ।

पार्वती बस्याल
प्रबन्धक
विकास राष्ट्रिय एकिकृत पशुपालन एग्रो सहकारी, पर्वत

कोरोना संकटमा सुरक्षित साथ हामीहरुले काम गरेका थियौ । अहिले पनि कोरोनालाई मध्यनजर गर्दै हामीहरुले सदस्यलाई माक्स र सेनिटाइजरको प्रयोग गरी भौतिक दूरी कायम गरी सेवा दिएका छौ । सहकारी नाफा मुलक भन्दा पनि आफ्ना शेयर सदस्यलाई सुलभ तरिकाबाट सेवा दिने भनेर खोलिएकाले हामीले हाम्रा सदस्यलाई सहज रुपमा कसरी सेवा दिने भनेरै निरन्तर काम छलफल गरिराखेका छौ । हामीहरुले लकडाउनमा प्रशासनले बनाएको निर्णयलाई मध्यनजर गरी सदस्यलाई आवश्यक परेको समयमा उहाँहरुलाई बचत फिर्ता गर्ने काम गरेका थियौ ।

अहिलेको कोरोना संकटमा सहकारीको साधरणसभा गर्न कठिन हुने भएकाले हामीहरु छलफलमै छौ । गत वर्षमा साधारणसभा सबै सदस्यहरुलाई भेला भई गर्ने गरिन्थ्यो भने अहिले सामाजिक संजालको माध्मबाट सम्पूर्ण शेयर सदस्यहरुलाई जानकारी गराई सञ्चालक समितिहरुको निर्णय अनुसार अहिलेको साधारणसभा र अरु गतिविधि अगाडी बढाउने सोच छ । सहकारीको साधारणसभा सम्बन्धि भूमि सुधार मन्त्रालयले दिएको निर्देशनलाई साथ लिँदै अगाडी बढ्ने पनि सञ्चालक समितिको कुरा छ ।

सहकारीको वर्तमान अभ्यास प्रगति र भावी योजना कोरोना संक्रमणका कारण कर्जा लगानी गर्दा व्यावसायमा भन्दा कृषिमा लगानी गर्ने कोरोना संक्रमणका कारण धरै मानिसहरु गाउँमा बसोबास गर्नेको संख्या बढिरहने गरेको पाइएको छ । र धरै मानिसहरु कृषि क्षेत्रमा लाग्नु पनि भएको छ । त्यसकारण व्यवसायमा भन्दा कृषिमा लगानी गर्ने सहकारीको वर्तमान अभ्यास प्रगति र भावी योजना सहकारीको रहेको छ ।

अर्थतन्त्र ठप्प भएको र ठूलो धक्का लागेका मानिसहरुको जीवन स्तर उठाउनका लागि सहज र सस्तो तरिकाले ऋण व्यवस्था मिलाउनु पर्दछ । कृषि गर्ने मानिसहरुलाई प्रोत्साहन गरी सहुलियतमा बिउँ, मल, बिरुवा दिने हो भने सदस्यहरुलाई राम्रो हुने मैले महशुस गरेको छु । ग्रामिण क्षेत्रमा भएका स–साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्ने, सहरमा भएका व्यावसाय वा उद्योग गर्नेलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *