पर्वत अस्पतालमा भाइरलका बिरामी बढे

आदर्श अनलाइन/पर्वत

जिल्लामा मौसम परिवर्तनका कारण हुने सिजनल भाइरलफ्लूबाट सङ्क्रमित हुनेको सङ्ख्या उच्च बनेको छ।

नेपालीका महत्वपुर्ण चाडपर्व नजिकिदै गर्दाको खानपान र गर्मी मौसम सकिएर विस्तारै जाडो मौसम सुरु हुनै लाग्दा पर्वतमा भाइरलका बिरामी बढेका हुन् ।
जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाका अनुसार सामान्य अवस्थामा अस्पतालको ओपिडी कक्षमा दैनिक २० सम्म बिरामी आउने गरेको भए पनि पछिल्ला केही दिनयता एक सयभन्दा बढी बिरामी स्वास्थ्य परीक्षणको लागि आइरहेका छन्।

घाम लागेको बेलामा वर्षा वा वर्षा भइरहेको बेलामा लाग्ने घामका कारण सिजन परिवर्तन हुने बेलामा सिजनलफ्लूको सङ्क्रमण बढ्ने गरेको उहाँको भनाइ छ। भाइरलको सङ्क्रमण हुन लागेका वा भइसकेकाहरूमा उच्च ज्वरो आउने तथा धेरै दिनसम्म पनि ज्वरो कम हुन नसक्ने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने जस्ता लक्षण देखापर्ने डा देवकोटाले बताउनुभयो।

अघिपछि पनि भाइरलको सङ्क्रमण हुने गरेको भए पनि मौसम परिवर्तन हुने बेलामा भने सङ्क्रमण उच्च हुने उहाँको भनाइ छ।

सिजनल भाइरल फ्लूबाट सङ्क्रमण भएको महसुस भएमा आराम गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउनुपर्ने चिकित्सिकको सुझाव छ। कतिपय बिरामीले चिकित्सकको सल्लाहबिना नै एन्टिबायोटिक औषधिको सेवन गरेको समेत पाइएको बताउँदै डा देवकोटाले भाइरलको सङ्क्रमण हुनासाथ एन्टिबायोटिक औषधिको सेवन गर्नु उपयुक्त नहुने बताउनुभयो।

डा देवकोटाका अनुसार भाइरलफ्लूको सङ्क्रमण भएको बेलामा सकेसम्म झोलिलो खानेकुराहरू खाँदै धेरै आराम गर्नु उपयुक्त हुन्छ।

जिल्ला अस्पताल पर्वतमा अघिल्ला वर्षहरूमा भाइरलफ्लूबाट प्रभावित भएकाहरूको भीड लाग्ने गरेको थियो। तर यस वर्ष देखिएको बिरामीको चाप अघिल्ला वर्षको तुलनामा भने झनै बढी रहेको छ। यस वर्ष लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको शङ्का लागेकाहरूले पनि तुरुन्तै स्वास्थ्य परीक्षण गर्न आएका कारण बिरामीको चाप अघिल्लो वर्षको तुलनामा झनै बढेको हो। डेङ्गु र सिजनल भाइरलफ्लूका लक्षण मिल्दाजुल्दा छन्, केहीमा मात्र फरक छु, मेडिकल सुपरिटेन्डेन्ट डा देवकोटाले भन्नुभयो, ुसामान्य ज्वँरो आउँदा पनि डेङ्गु लाग्यो कि भन्ने शङ्का मान्दै स्वास्थ्य परीक्षणका लागि बिरामीहरू आउनुभएको छ।ु

अस्पताल स्रोतका अनुसार भाइरलबाट प्रभावित भएको सुरुकै अवस्थामा आएका बिरामीलाई औषधि सेवनको सिफारिश गरेर घर फर्काइएको भए पनि कतिपय बिरामीलाई भर्ना गरेर इन्जेक्सनको माध्यमबाट औषधि आपूर्ति गर्नुपरेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *