बागलुङमा ७ हजार ८ सयको कोरोना बिमा, जम्मा तीन जनाले मात्र बुझे बिमा रकम

सिर्जना पन्त, बागलुङ

कोरोना संक्रमण र जोखिमको भयावह बढे पश्चात जिल्लाका ७ हजार ८ सय ८६ जना नागरिक कोरोना बिमामा आवद्ध भएका छन् ।

सोमवार सम्म कोरोना बिमा गरेका मध्ये जम्मा ३ जनाले मात्रै बिमा रकम दाबी गरेका छन् ।

बागलुङ जिल्लामा ३ सय ४८ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये कोरोना बिमा गरेका दुई जनाले बिमा कम्पनीबाट भुक्तानी लिइसकेका छन् भने एक जनाको प्रक्रियामा छ ।

जैमिनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द आचार्यले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट १ लाख रुपैयाँ कोरोना बीमा दाबी भुक्तानी लिनुभएको छ । साउन १५ गते कोरोना संक्रमण पुष्टी भएका आचार्य ४ दिनमा संक्रणम मुक्त भएर घर फर्कनुभएको थियो ।

जैमिनी नगरपालिकाले असार पहिलो साता जनप्रतिनिधी, नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र नगरपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको बिमा गरेको थियो ।

नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक महिला स्वास्थ्यकर्मीले पनि कोरोना संक्रमण भएर मुक्त भए पछि हालै आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट बिमा दाबी रकम भुक्तानी लिनुभएको छ । बागलुङ काठेखोलाको क्वारेन्टिन व्यवस्थापन र सुरक्षामा खटिएका सुरक्षाकर्मीले पनि बिमा दाबी रकम भुक्तानीको लागि प्रक्रिया अगाडी बढाउनुभएको छ ।

बिमा समितिले निर्जीबन बिमा कम्पनी र नेपाल पुर्नबिमा कम्पनी सँग समन्वय गर्दै २० वटा निर्जीवन बिमा कम्पनीलाई कोरोना बिमा गर्ने अनुमती प्रदान गरेको थियो । जसमध्ये बागलुङमा १३ वटा बिमा कम्पनीले कोरोना बिमा गराइरहेका छन् ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले अहिले सम्म बागलुङमा सबै भन्दा धेरै ४ हजार जनाको कोरोना बीमा गरेको छ । बिमा दाबी गर्ने तीनै जना बिमित पनि यही बिमा कम्पनीका हुन् ।

एभरेष्ट इन्स्योरेन्स लिमिटेडले २ हजार ८ सय जनाको कोरोना बिमा गरेको छ । यसैगरी प्राइम इन्स्योरेन्सले ४ सय ५ जना, अजोध इन्स्योरेन्स बुर्तिवाङले २ सय जना, निको इन्स्योरेन्सले १ सय ५६, प्रभु इन्स्योरेन्सले १ सय १८ जना, शिखर इन्स्योरेन्सले ७० जना, सगरमाथा इन्स्योरेन्सले ५६ जना, नेपाल इन्स्योरेन्सले ८८ जना, लुम्बिनी जनरल इन्स्योरेन्सले १२ जना, प्रुडेन्सियल इन्स्योरेन्सले ७७ जना र जनरल इन्स्योरेन्सले ४ जनाको कोरोना बिमा गराएका छन् ।

बिमा समितिले कोरोना बिमा गर्ने अनुमति प्रदान गरे पछि सुरुवाती दिनमा फोन गरेर बिमाको फाइदाबारे बताएको भए पनि पछिल्लो समय बिमाको कार्यालय खोज्दै आउनेको संख्या बढेको आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका बागलुङ शाखा प्रमुख माधव सापकोटाले बताउनुभयो ।

‘सुरुवाती दिनमा स्थानीय तह, सहकारी संघ संस्था, बैंक र स्वास्थ्य संस्थाहरुमा फोन गरी बिमा गर्नुस् भन्नुपर्ने अवस्था थियो,’ सापकोटाले भन्नुभयो ‘आजभोली संघ संस्था मात्र होइन, व्यक्तिगत रुपमा बिमा गर्नेहरु पनि कार्यालय खोज्दै आउन थाल्नुभएको छ ।’

कोरोना संक्रमण पुष्टी भएपछि होम आइसोलेसनमा बसेका बिमितलाई २५ हजार र सरकारी आइसोलेसनमा बसेर सरकारी सेवा सुविधा लिएकाहरुले भने बिमा दाबी भुक्तानी नपाउने सापकोटाले बताउनुभयो ।

बिमा समितिले ‘कोरोना बिमा मापदण्ड २०७७’ जारी गर्दा नेपाल सरकारद्वारा अनुमती प्राप्त प्रयोगशालामा गरिएको परीक्षणलाई मात्र मान्यता दिने भनिएको थियो । तर, निजी प्रयोगशालाले कोरोनाको परीक्षण गर्ने अनुमती प्राप्त गरेकाले निजी प्रयोगशालामा परीक्षण गरिएकाहरुले पनि दाबी भुक्तानी पाउने विषयमा भदौ २१ गते कोरोना बिमा मापदण्ड संशोधन उपसमिति गठन भएको छ ।

बिमा लेख अन्तर्गत १ लाख र ५० हजार गरी दुई प्रकारको बीमाङ्क कायम गरिएको छ । १ लाख बिमाङ्क कायम भएको बिमा लेखका लागि प्रति व्यक्ति एक हजार र ५० हजारको बिमाङ्कका लागि प्रति व्यक्ति ५ सय बिमा शुल्क कायम गरिएको छ । परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बिमा गर्दा १ लाखको बिमाङ्कका लागि प्रति व्यक्ति ६ सय र ५० हजारको बिमाङ्कका लागि प्रति व्यक्ति ३ सय बिमा शुल्क लाग्छ ।

बिमा गरेको १५ दिन पछि गरिएको पीसीआर परीक्षण पोजेटिभ देखिएमा बिमितले बिमा दाबी भुक्तानीको लागि निवेदन दिन पाउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *