बेमौसमी सुन्तलाको परीक्षण उत्पादन

आदर्श अनलाइन, बागलुङ

सामान्यतः सुन्तलाको सिजन कात्तिक, मंसिरमा हुन्छ । बर्खायाम सकि नसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ । बागलुङ नगरपालिका वडा नं.८ सिगानामा खड्काले परीक्षण स्वरुप लगाएको बेमौसमी सुन्तलाले अघिल्लो वर्षदेखि राम्रै फल दिन शुरु गरे पछि उत्साहित हुनुहुन्छ ।

खड्काले पाँच वर्ष अघि मात्रै झण्डै एक सय बेमौसमी जातका सुन्तलाका बिरुवा लगाउनुभएको थियो । गतवर्ष पाँच सात वटा रुखमा सुन्ताल फलेपनि अहिले झण्डै १५ वटा सुन्तलाको रुखमा सुन्तला पाकेका छन् । अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि एसोधा र पोङ्कान भने एक महिना पछि पाक्नेछन् ।

“पोहोर परार यही समयममा उन्सु मात्रै १५÷२० केजी सुन्तला बिक्री गरेको थिए, अहिले यसको उत्पादन बढेको छ” खड्काले भन्नुभयो “अब एक–एक महिनाको फरकमा यसोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती बिस्तार गरिनेछ ।” खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने गर्दछ । प्रति किलो १५० रुपैयाँमा बिक्री हुने खड्काको भनाई छ ।
सुन्तलाका सानो बोटमा लटरम्म सुन्तला पाक्न थाले पछि कृषक खड्काले बिक्री गर्न थाल्नुभएको छ । चार दशकदेखि व्यावसायिक सुन्तला खेती गर्दै आउनुभएका खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउँनुहुन्छ । पाँच वर्ष अघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब एक सय बढी सुन्तलाका बोटमा लटरम्म फल लागे पछि उहाँ उत्साहित हुनुहुन्छ ।
“मैले परीक्षणका लागि मात्रै सय बोट सुन्तला लगाएको थिए, परीक्षण सफल भयो, अब यसको व्यावसायीक उत्पादनका लागि बगैचा विस्तार गर्ने योजनामा छु” खड्काले भन्नुभयो । एउटा मौसमी सुन्तलाले दिने फल ३० बेमौसमी सुन्तलाले दिने भन्दै बिरुवा बढाउदै जानुपर्ने उहाँको तर्क छ ।

कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राखेर उत्तिकै मेहनत गर्नु हुने खड्काले किर्तिपुर स्थित कृषि अनुसन्धान केन्द्रबाट बिभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर परीक्षणका लागि लगाउनुभएको थियो । नेपालमा अधिकांश कात्तिक मंसिरमा पाक्ने सुन्तलाका जातको खेती गरिदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानिज जातका सुन्तला लगाउनुभएको हो ।

व्यावसायिक उत्पादन गर्न सके वेमौसमी सुन्तलाको मुल्य अन्य सुन्तलाको तुलनामा तेब्बर पर्ने खड्काले बताउनुभयो । चालिस वर्ष देखि स्थानीय तथा कात्तिक मंसिरमा पाक्ने सुन्तलाको खेती गर्दै आउनुभएका खड्काले हाल सम्म १४ प्रजातीका सुन्तलाका बिरुवा लगाउनुभएको छ । उहाँसंग झण्डै १० रोपनी जग्गामा मौसमी सुन्तला खेती छ ।

मौसमी र बैमौसमी सुन्तला उत्पादन सँगै किबी, अलैची, तरकारीको समेत खेती गर्दै आउनुभएका खड्का बागलुङकैै अगुवा कृषकका रुपमा चिनिदै आउनुभएको छ । बाह्रै महिना सुन्तला उत्पादन गर्ने गरी बेमौसमी सुन्तलाका बिरुवा विस्तार गरिरहेको खड्काको भनाई छ । सबै जातका सुन्तला मिलाएर लगाउदा प्रत्येक दुई÷दुई महिनामा सुन्तला उत्पादन गर्न सकिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *