पर्यटन दिवसमा बागलुङमा गुञ्जियो ५० देशका राष्ट्र गान

बागलुङमा एकै मञ्चमा ५० देशका राष्ट्रिय गान गाउँदै गायक रामजी नेपाली ।

आदर्श अनलाइन,बागलुङ

राष्ट्रिय गान सहित विश्वयात्राको अभियानमा रहेका बागलुङका गायक रामजी नेपालीले एकै मञ्चमा ५० देशका राष्ट्रिय गान प्रस्तुत गरेका छन् ।

कोरोना कहरका कारण स्वास्थ्य सुरक्षा सहित सिमित अतिथी, पत्रकारको उपस्थिति तथा भर्चुअल (जुम, युट्युव र फेसबुक) मार्फत प्रत्यक्ष लाइभ गरिएको कार्यक्रममा गायक नेपालीले करिब दुई घण्टा ५० देशका राष्ट्रिय गान गाएका हुन् ।

कोरोनाले टुटेको विश्वलाई जोड्न विश्वबन्धुत्व, साँस्कृतिक पर्यटन र सद्भावनाको सन्देश प्रवाहका लागि विश्व पर्यटन दिवसको अवसर पारेर बिभिन्न देशका राष्ट्रिय गान प्रस्तुत गरेको गायक नेपालीले आदर्श अनलाइनलाई बताए । कार्यक्रममा नेपाल सहित भारत, चीन, अमेरिका, अष्टे«लिया, पाकिस्तान, रसिया, बेल्जियम, रसिया, स्वीजरल्याण्ड, फ्रान्स, इटाली, जापान, कोरिया, नेदरल्याण्ड, स्पेन, ब्राजिल, पोर्चुगल, कतार बहराइन, सिंगापूर, श्रीलंका, बंगलादेश, माल्दिब्स, जर्मनी, थाइल्याण्ड, डेनमार्क, मलेसिया लगायतको देशका राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । विश्वका २ सय ३२ देशमा पुग्ने नेपालीको महत्वकांक्षी लक्ष्य छ । १ सय ९४ देशको राष्ट्रिय गान गाएर विश्वका ७ अरब ७६ करोड मानिसलाई नेपालबारे जानकारी दिने अभियान र यात्रामा रहेका उनी कोरोना संकटका कारण अहिले गृह जिल्लामा छन् ।

कोरोना संकट अघि गायक नेपालीले विश्वयात्राको अभियानका क्रममा बिभिन्न देशको राष्ट्रिय गान गाउँदै फ्रान्स, बेल्जियम, स्पेन, नेदरल्याण्ड र भारतको भ्रमण गरिसकेका थिए । बंगलादेश जाने क्रममा कोरोना भाइरसको भयावह पछि यात्रा रोकिएको छ । ‘नेपालको राष्ट्रिय झण्डा बोकेर राष्ट्रगान गाउँदै विश्वका माझमा नेपाललाई चिनाउने बृहत अभियानको यात्रामा छु,’ नेपालीले भने, ‘यो महत्वकांक्षी योजना जस्तो लागे पनि मलाई देश प्रतिको दायित्वबोधले सम्भव बनाउन सक्छु भन्ने आत्मविश्वास छ ।’ यसलाई विश्वको राष्ट्रगानको भावनाले जोड्ने भएकाले सबैबाट सहयोग र सद्भाव प्राप्त हुने विश्वास समेत व्यक्त गरे । अब कोरोना सहजता पछि अरु देशको यात्रामा जाने उनले बताए । सन् २०१५ सालदेखी देशका पहिचानका लागि पृथक भुमिका र योगदान दिने सोचले विभिन्न देशको राष्ट्रिय गान सहितको विश्वयात्राको अभियानमा लागेको उनको भनाई छ ।

कोरोना कहरले समस्या र सकसमा परेका विश्व समुदायलाई भर्चुअल माध्यमबाट सकरात्मक सन्देश सञ्चारका लागि कार्यक्रम आयोजना गरिएको पत्रकार महासंघ बागलुङका सचिव राम थापा ‘अविरल’ले बताए । जिल्लाका प्रतिभाशाली गायकले देश प्रतिको अगाध प्रेम प्रकट गर्ने गरी थालेको अभियानलाई कोरोना कहर पछि फेरी सुरु गर्ने संकेत र सन्देश पनि कार्यक्रम मार्फत दिएको सचिव थापाले बताए ।

राष्ट्रिय गान र विश्वयात्रामा सक्रिय नेपाली व्यवसायिक रुपमै गायनमा सक्रिय कलाकार हुन् । ०५२ सालमा ‘घुम्न जाउँला कान्छी बागलुङ बजार’ बोलको गीत गाएर सांगीतिक यात्रा सुरु गरेका नेपालीको ०५९ सालमा युवाहरुलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘सपनीमा तानेको गाँजा, अहिले मलाई लाइराछ नमजा’ गीतले सर्वाधिक चर्चा बटुलेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *