महिला हित सहकारीले सदस्यलाई दियो अचार बनाउने तालिम

साधना पन्त, बागलुङ

महिला हित वचत तथा ऋण सहकारी संस्था बागलुङले आयोजना गरेको एक हप्ते अचार बनाउने तालिम सकिएको छ ।

असोज ४ गतेदेखि सुरु भएको तालिममा संस्थाका १८ जना सेयर सदस्यको सहभागिता रहेको तालिममा कागती, लसुन, खुर्सानी, खुर्सानीको लेदो अचार, अदुवा, करेला, मासु र प्याज गरी सात प्रकारका अचार बनाउन सिकाइएको छ । तालिमको सहजीकरण प्रशिक्षक जोत्सना शाक्यले गर्नुभएको थियो ।

महिलालाई आत्मनिर्भर र व्यवसायी बनाउनका लागि तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष लिलादेबी खड्काले बताउनुभयो । सीप सिकौ,आत्मनिर्भर बनौ भन्ने उद्देश्य सहित महिलालाई स्वरोजगार बनाएर वचतको महत्व सिकाउनका लागि आयोजना गरिएको उहाँको भनाई छ । तालिम पश्चात तयार अचारको बिक्रीका लागि बजार व्यवस्थापन संस्थाले गर्ने उहाँले बताउनुभयो ।

संस्थाका जेष्ठ सेयर सदस्य कुमारी रानाले घर परिवारका लागि दैनिक खाना बनाउने महिलाहरुले खाना र अचारका परिकार बनाएर बेच्ने र आम्दानी गर्दै आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । तालिमको समापन कार्यक्रममा संस्थाका सल्लाहकार खड्ककुमारी खड्का, प्रशिक्षक जोत्सना शाक्य, तालिमका सहभागी गोमा छन्त्याल लगायतले बोल्नुभएको थियो ।

समापन कार्यक्रम संस्थाका अध्यक्ष लिलादेबी खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी केसीको स्वागत तथा सचिव सावित्री केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

२०५२ सालमा महिला हित संरक्षण समुहबाट सुरु भएको संस्था २०५८ सालमा महिला हित वचत तथा ऋण सहकारी संस्थाको रुपमा दर्ता भएको थियो । २५ जना महिलाहरुको २५ सय रुपैयाँ सेयर पुँजीबाट सुरु भएको संस्थामा हाल ११ सय सेयर सदस्यको २ करोड ४५ लाख ७४ हजार रुपैयाँ सेयर पुँजी छ ।

यसैगरी, संस्थामा ७ करोज २४ लाख ९० हजार ९ सय रुपैयाँ कर्जा लगानी र ७ करोड ९१ लाख ७ हजार ५ सय ७४ रुपैयाँ बचत रहेको संस्थाका प्रबन्धक चन्द्रा कार्कीले जानकारी दिनुभयो । सहकारीले संस्थाका सदस्यको क्षमता अभिवृद्धीका लागि हाल सम्म प्रौढ कक्षा, व्यूटी पार्लर, बाल शिक्षा देखी लैङ्गिक हिंसा न्यूनिकरण सम्म बिभिन्न प्रकारका ४६ वटा तालिम सञ्चालन गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *