व्यास नगरपालिकामा फोहोर व्यवस्थापन गर्न कठिन

आदर्श अनलाइन, तनहुँ
दैनिक ११ टन फोहोर सङ्कलन गरी व्यवस्थापन गर्दै आएको तनहुँको व्यास नगरपालिकाले चार दिनदेखि फोहोर उठाउन सकेको छैन ।

नगरपालिका कार्यालयले वैकल्पिकरूपमा फोहोर व्यवस्थापन गर्दै आएको दुई स्थान नदीले कटान गरी बगाएपछि फोहोर व्यवस्थापनमा समस्या आएको हो । नगरपालिकाले वडा नं ३ स्थित तल्लो मादी नदी किनारमा विगत वर्षदेखि फोहोर व्यवस्थापन गर्दै आएको थियो तर उक्त स्थान नदीले कटान गरेपछि समस्या उत्पन्न भएको हो । गत असार अन्तिम र साउन पहिलो साता परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले उक्त स्थान नदीले कटान गरेपछि वैकल्पिकरूपमा माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन शुरु गरिएको थियो ।

फोहोर फ्याँक्न थालेको १५ दिन पनि नबित्दै असोज पहिलो साता परेको अविरल वर्षासँगै आएको बाढीले पुनः माथिल्लो भतेरी कटान गरी बगाएपछि फोहोर व्यवस्थापनमा झनै समस्या आएको हो । नगरपालिकाको वडा नं २, ३ र ४ मा गरी दैनिक ११ टन फोहोर सङ्कलन गर्दै आए पनि असोज ८ गतेदेखि फोहोर उठाउन नसकिएको नगरपालिका सरसफाई उपशाखाका प्रमुख भाग्यशाली ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाले फोहोर उठाउन नसक्ने अवस्था आएपछि बुधबारसम्म घरको फोहोर बाहिर ननिकाल्न स्थानीयवासीलाई आग्रह गरेको छ । नगरपालिकाले यसअघि वडा नं १० र ४ मा पर्ने माथिल्लो भतेरीमा फोहोर विर्सजन गरी कम्तीमा मङ्सिर महिनासम्मका लागि बजार क्षेत्रको फोहोर सङ्कलन गरी अस्थायीरूपमा विर्सजन गर्ने योजना बनाएको थियो ।

वडा नं १ स्थित कुन्छाली टोलमा अस्थायीरूपमा फोहोर व्यवस्थापन गर्ने तयारीका साथ स्थानीयवासीसँग सम्झौता भइसकेको ढुङ्गानाले बताउनुभयो । बस्तीदेखि टाढा रहेको उक्त स्थानमा करिब पाँच रोपनी जग्गामा फोहोर व्यवस्थापन गर्न लागिएको हो । त्यहाँ फोहोर व्यवस्थापन गर्न पाएसँगै कम्तीमा तीन वर्षका लागि तनाव हट्ने अनुमान गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

वडा नं १० स्थित रानीपानी सामुदायिक वन क्षेत्रमा नगरपालिकाले दीर्घकालीनरूपमा फोहोर विर्सजनस्थल निर्माण कार्य अघि बढाएको छ । वातावरणीय प्रभाव अनुसन्धान रिपोर्६ आउन बाँकी रहेकाले तत्कालका लागि माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन गर्न लागिए पनि नदी कटानले समस्या भएको वातावरणीय अध्ययन सहयोग तथा परामर्श समितिका संयोजक एवं व्यास-४ का वडाध्यक्ष विश्व न्यौपानेले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा करिब सात रोपनी जग्गा पर्याप्त मात्रामा रहेकोले फोहोर विर्सजनको संम्भावना बढी रहेकोले प्रक्रिया अघि बढिरहेको न्यौपानेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *