अरुलाई दशैको हतारो, दमेकका महिलालाई बाख्रा बेच्नै चटारो

आदर्श अनलाइन/बागलुङ
नेपालीहरुको महानपर्वका रुपमा परिचित दशैले सबैलाई छपक्क छोपिसकेको छ । शहर बजारमा स्थायी वा अस्थायी बसोबास गर्नेहरु गाउँ फर्कदै छन् । कतिले गाडी नपाएर महंगो मूल्यमा रिजर्भ गरेर परिवारसहित हिड्ने तयारीमा छन् । दशैका लागि मुस्ताङबाट आएका खसी च्याङ्ग्राको जोहो गर्न कति दौडी रहेका छन् । कसैले घर आगनको सरसफाई गर्दैछन् त युवा युवतीहरु चमम्चा, पिङको तयारीमा छन् । दशै कसैका लागि भने दशा सावित हुदैछ । आम्दानी नभएका विपन्न वर्गका जनता दशैको जोहो कसरी गर्ने भनेर साहुँकोमा धाइरहेका छन् । आम्दानी नभएकाहरुका लागि दशैलाई दशा बनि रहेकै छ । घरमा भए पनि र नभए पनि दशै खुशीयालीका साथ मनाउने नेपालीहरुको परम्परा रहेको छ ।

दशैको खुशीयालीसंगै बागलुङको जैमिनी नगरपालिका वडा नं. २ र ३ दमेकका महिलाहरुलाई भने बाख्रा विक्री गर्नको चटारो परेको छ । दशै र तिहारमा मात्रै रुद्रताल सहकारीले ३ सय २३ र भाग्योदय सहकारीले २ सय १९ गरी ५ सय ३२ वटा खसी बोका बिक्री गर्ने लक्ष्य लिएका छन् । सहकारीको लक्ष्य संगै दशै मनाउने तरखरमा महिलाहरु रहेका छन् ।

रुद्रताल सामाजिक उद्यमी सहकारी संस्था लिमिटेड र भाग्योदय सामाजिक उद्यमी सहकारी संस्थामा आवद्ध ७ सय ४० जना महिलाहरु यतिबेला दशैसंगै खसी बोका विक्रीको चटारोमा लागेका हुन् ।

हेफर इन्टरनेशनलमार्फत विवाइसी बागलुङले साविक दमेक गाविसमा विगत ७ वर्षदेखि सञ्चालन गरेको साना किसान सबलीकरण परियोजना अन्र्तगत सहकारीमा आवद्ध महिलाहरुले बाख्रा विक्री गर्न थालेका हुन् । उक्त परियोजनाबाट रुद्रताल सामाजिक उद्यमी सहकारीमार्फत ३ सय ७० जना र भाग्योदय सामाजिक उद्यमी सहकारी मार्फत ३ सय ७० जना गरी ७ सय ४० जना शेयर सदस्यहरु आयआर्जन केन्द्रीत भएका हुन् ।

सहकारीका शेयर सदस्यहरुलाई बाख्रापालन व्यवसायमा केन्द्रीत गराउने र सहकारी संस्थाले खरिद गरेर बजारमा विक्री वितरणको व्यवस्था गरेपछि बाख्रापालन गर्नेहरुको संख्या बढेको हो । दुइ वटा सहकारी आवद्ध महिलाहरुले गत आर्थिक वर्षमा १ हजार १ सय ४० गोटा अर्थात ३१ हजार ९ सय २० केजी खसी बोका विक्री गरेर १ करोड २९ लाख २७ हजार ६ सय रुपैया गाउँ भित्र्याएका छन ।

जैमिनी नगरपालिका वडा नं. ३ स्थित रुद्रताल सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडमा आवद्ध ३ सय ७० जना महिलाहरुले गत आर्थिक वर्ष २०७५/०७६ मा ६ सय ८ गोटा अर्थात १७ हजार २ किलो खसी बोका विक्री गरेर ६८ लाख ९४ हजार ७ सय २० रुपैया गाउँ भित्र्याउन सफल भएका छन् । चालु आर्थिक वर्षमा १ हजार खसी बोका विक्री गर्ने लक्ष्य लिएकोमा दशै तिहारको समयमा मात्रै ३ सय २३ वटा खसी बोका विक्री गर्ने लक्ष्य संस्थाले लिएको छ । हालसम्म १ सय ५५ भन्दा बढी खसी बोका विक्री भइसेको संस्थाका प्रवन्धक तारा पुनले जानकारी दिनुभयो ।

गाउँमा रहेको घास र खेर जाने खाद्यान्न खुवाएर बाख्रा उत्पादन गर्ने र विक्री गरेर नगद आर्जन हुने भएपछि महिलाहरु त्यसतर्फ आकर्षित भएको रुद्रताल सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष चित्राकुमारी छन्त्यालले बताउनुभयो । पाल्न पनि सजिलो, रकम पनि छोटो समयमा राम्रो आउने भएकाले आफुहरु बाख्रा पाल्ने कार्यमा जुटेको सहकारीका सदस्य गुमा पुनको भनाइ छ ।

बाख्रासंगै कुखुरा, खरायो पालन समेत गर्दै आइरहेका महिलाहरु विस्तारै आत्मनिर्र्भर बन्न थालेका छन् । उनीहरुले आम्दानी भएको पैसा आफ्नै सहकारीमा जम्मा गर्ने गरेका छन् । सहकारीका कारण आम्दानी भएको पैसा बचत गरेर थप आयआर्जन गर्न सहज भएको सदस्य टुल्की सापकोटाले आदर्श अनलाइनलाई बताउनुभयो । पहिला घरमा यताउताबाट आएको पैसा त्यसै थन्किथ्यो, त्यसबाट थप आयआर्जन हुदैन्थ्यो, सापकोटाले भनिन्, आजभोली जति पैसा भए पनि सहकारीमा जम्मा ग¥यो, त्यसबाट पनि ब्याज आउने भएकाले हामीलाई फाइदै भएको छ ।

रुद्रताल सामाजिक उद्यमी महिला सहकारीका सदस्यहरुले जस्तै जैमिनी नगरपालिका वडा नं. २ दमेकमा रहेको भाग्योदय सामाजिक उद्यमी महिला सहकारीका शेयर सदस्यहरुले पनि बाख्रापालन व्यवसायलाई आम्दानीको प्रमुख आधार बनाउदै गएका छन ।

उक्त सहकारीमार्फत गत आर्थिक वर्षमा ४ सय ३० गोटा खसी बोका विक्री गरिएको छ । उक्त सहकारीका शेयर सदस्यहरुले गत आर्थिक वर्षमा मात्रै ४८ लाख ७६ हजार २ सय रुपैया बाख्रा बेचेर रकम आम्दानी गरेका छन् । सहकारीले दशै र तिहारको समयमा २ सय १९ वटा खसी बोका विक्री गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा ६ सय ८ खसी बोका विक्री गर्ने गर्ने लक्ष्य लिएको संस्थाका सस्थाका अध्यक्ष भगवती सापकोटाले जानकारी दिनुभयो ।

दुवै सहकारीले आफ्ना सदस्यहरुको खसी बोका प्रतिकेजी ४ सय रुपैयामा संकलन गर्ने र र ४ सय ५ रुपैयामा विक्री गर्ने गरेका छन् । प्रतिकेजी जम्मा ५ रुपैया बढी लिएर सदस्यहरुका उत्पादन विक्री संकलन गरी बजारमा लगेर विक्री वितरणको व्यवस्था गरिएको सहकारीले जनाएका छन् ।
सहकारीमार्फत महिलाहरुले गाउँमा पैसा भित्र्याउने काम गरेका छन् । उनीहरुलाई अझै सीप, पूँजि र प्रविधिमा सहयोग गर्न सके स्थानीय स्रोत र साधनको अधिकतम परिचालन भई समृद्ध समाज निर्माणमा थप सहयोग पुग्ने विवाइसीका सहकारी क्षमता विकास सहजकर्ता रिता शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *