रुपा गौतम हत्या काण्डको अनुसन्धानमै त्रुटी छ : प्रहरी

आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बागलुङको रुपा गौतम हत्या काण्डमा अहिलेसम्म गरिएको अनुसन्धानमै त्रुटी देखिएको बताउनुभएको छ ।

२०७१ साल भदौ १२ गते तीजको दिन माइती घरबाट घर फर्कदै गर्दा बागलुङ नगरपालिका–३ बोक्से खाल्डोमा गौतमको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो ।

तत्कालिन समयमा बागलुङ जिल्लाको प्रहरी प्रमुखको रुपमा रहेका प्रहरी नायव उपरिक्षक प्रेमबहादुर बस्नेतले आफ्नै कार्यकालमा गौतमका हत्यारा पत्ता लाग्ने बताउनुभएको थियो ।

बस्नेत २०७२ साल साउन महिना सम्म जिल्लामा रहेको भए पनि गौतमका हत्यारा पत्ता लाग्न सकेन । त्यस यता बागलुङमा प्रहरी नायव उपरिक्षक चक्रबहादुर सिंह, प्रहरी उपरिक्षक राजेन्द्र ढकाल, चन्द्रकुवेर खापुङ, हिमालय कुमार श्रेष्ठ, दिपक रेग्मी, कृष्णहरी शर्मा, नवराज भट्ट र शारदाप्रसाद चौधरी गरी ८ जनाले बागलुङ जिल्लाको शान्ति सुरक्षा प्रमुखको जिम्मेवारी सम्हालेर सरुवा भइसकेका छन् । बागलुङ जिल्लाको प्रहरी प्रमुखको रुपमा जिम्मेवारी लिएर आउँदा रुपा गौतमका हत्यारा पत्ता लगाई छाड्ने सबै प्रहरी प्रमुखको पहिलो प्रतिवद्धता हुने गरेको थियो ।

२०७४ सालमा प्रहरी प्रमुखको रुपमा आउनु भएका प्रहरी उपरिक्षक दिपक रेग्मीले त रुपा गौतम हत्या काण्डको ९९ प्रतिशत अनुसन्धान समेत सकिएको बताउनुभएको थियो । उहाँ हत्यारा सार्वजनिक गर्ने प्रतिवद्धता गरेको केही हप्तामै बागलुङबाट सरुवा हुनुभएको थियो ।

गौतम हत्या काण्ड पछि हत्यारा पत्ता लगाउने प्रतिवद्धता मात्र होइन, यसअघिका अनुसन्धानमै त्रुटी रहेकाले नयाँ तरिकाबाट अनुसन्धान सुरु गरिएको नवआगन्तुक प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठले बताउनुभयो । मंगलबार जिल्ला प्रहरी कार्यालय बागलुङमा जिल्ला महिला अधिकारकर्मी सँगको भेटमा एसपी श्रेष्ठले गौतमको हत्या भएको स्थान, उहाँका परिवार र यस भन्दा अगाडी गरिएको अनुसन्धानको सबै प्रक्रियाबारे आफु अध्ययन गरेको बताउनुभयो । आफु बागलुङमा रहुञ्जेल गौतमका हत्यारा पत्ता लगाउन प्रयासरत रहने उहाँको भनाई थियो ।

श्रेष्ठले आफु बागलुङको प्रहरी प्रमुखको रुपमा सरुवा भएको भन्ने जानकारी प्रहरी प्रधान कार्यालयबाट भन्दा पहिले सामाजिक सञ्जालमा बागलुङबासीले दिएको शुभकामनाबाट प्राप्त गरेको समेत बताउनुभयो । बागलुङ नआउँदै ३ सय ५० जना भन्दा बढी व्यक्तिले जिल्लामा स्वागत गर्दै आफुलाई यसबारे ध्यानाकर्षण गराएको बताउनुभयो । बागलुङको शान्ति सुरक्षा आफ्नो पहिलो जिम्मेवारी भएको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बागलुङलाई पीडितमैत्री बनाउनको लागि आफुलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *